भारतमा कोरोना: १८ सयको ज्यान गयो, ५६ हजार तीन सयमा संक्रमण

बैशाख २६, २०७७ शुक्रबार काठमाण्डौ – भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५६ हजार तीन सय ४२ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार आठ सय ८६ जनाको ज्यान गएको छ भने १६ हजार पाँच सय ४० जना निको भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एकैदिन तीन हजार तीन सय ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको राज्य हो । महाराष्ट्रमा १७ हजार नौ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ सय ९४ जनाको ज्यान गएको छ । गुजरातमा सात हजार १२ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार सय २५ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा पाँच हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएकोमा ६६ जनाको ज्यान गएको छ । 

त्यस्तै तमिलनाडुमा पाँच हजार चार सय नौ जनामा सङ्क्रमण पुष्टि भएकोमा ३७ जनाको ज्यान गएको छ । राजस्थानमा तीन हजार चार सय २७ जनामा सङ्क्रमण पुष्टि भएकोमा ९७ जनाको ज्यान गएको छ । 

अधिकारीहरुका अनुसार गएको २४ घण्टामा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका ५५ गर्षीय सीआईएसएफ जवानको ज्यान गएको छ । यसबाहेक बीएसएफका अन्य दुई जवानको पनि ज्यान गएको छ । 

बीएसएफले आफ्ना अन्य ४१ जना कोरोनाबाट सङ्क्रमित भएको बताएको छ । योसँगै कोरोना सङ्क्रमित बीएसएफ जवानको सङ्ख्या एक सय ९३ भएको छ ।    source:ujyaaloonline  

Advertisement

आजदेखि संसद्को बजेट अधिवेशन

बैशाख २६, २०७७ काठमाडौं : सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ। आव अपराह्न ४ः०० बजे सङ्घीय संसद्को बैठक बस्ने तयारी गरिएको छ। बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। 

आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ। सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ। 

आागामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।  आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६÷७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ। यसैगरी जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन्। 
यस्तो छ सांसदहरुलाई आचारसंहिता 
कोरोनाको सक्रमण हुने त्रासलाई मध्यनजर गरेर सङ्घीय संसद् सचिवालयले सोही अनुसारको व्यवस्था गरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले स्वास्थ्य सुरक्षाका लागि विभिन्न मापदण्ड तयार पारेको छ।  विश्व स्वास्थ्य सङ्गठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।

राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर सांसद एउटै सिटमा बस्ने, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नुपर्ने छ।  संसद् भवनमा प्रवेश गर्दा र फर्कदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, संसद् भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, सञ्चारकर्मीलाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ।

स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले रोग सङ्क्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद् भवनको स्थलगत अनुगमनपश्चात तयार पारेको सुझाव प्रतिवेदनका आधारमा उक्त आचारसंहिता तयार पारेको हो। अनुगमन टोलीमा  स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल सुपरिटेण्डेन्ट डा अमृत पोख्रेल, नर्सिङ अधिकृत यसोदा बराल र वरिष्ठ जनस्वास्थ्य अधिकृत हरिहर शर्मा थिए। 

अनुगमन टोलीले  बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, मेडिकल मास्कको प्रयोग बैठक अवधिभर सबैले अनिवार्य रुपमा गर्नुपर्नेछ, बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, सकेसम्म समूहगत छलफलन नगर्ने, यदि गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपनेलगायतको सुझाव दिएको छ। यस्तै बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियम सांसदहरुले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। 
४४१ को स्वाब सङ्कलन

सङ्घीय संसद्को छैटौँ अधिवेशन शुक्रबारदेखि शुरु हुने भएपछि कोभिड–१९ भए÷नभएको निर्क्योल गर्न दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ।  दुई सय १२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको हो। जसअन्तर्गगत प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ सांसदको स्वाब सङ्कलन गरिएको छ। प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन्।  बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको शुक्रबार बिहान ८ः०० देखि १०ः०० बजेसम्म बानेश्वरस्थित संसद् भवन परिसरमै स्वाब सङ्कलन गरिने बताइएको छ। सङ्कलित स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। source:thahakhabar.com

बेलायतमा ३० हजार भन्दा धेरैको ज्यान गयो, विश्वमा ३९ लाख कोरोना संक्रमित ,पाकिस्तानले लकडाउन खोल्ने

बैशाख २६, २०७७ काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ।  विगत २४ घण्टामा विश्वमा साढे पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै एकै दिन ९६ हजार २ सय ६१ नयाँ विरामी थपिएका छन् ।  त्यस्तै विश्वमा १३ लाख ४१ हजार २२ जना निको भएका छन् भने ३९ लाख १३ हजार ६ सय ४३ जनामा संक्रमण भेटिएको छ। 

अमेरिकामा २४ घण्टामा २ हजार १ सय २९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ। त्यस्तै त्यहाँ थप २९ हजार पाँच सय ३१ जना नयाँ संक्रमित रहेका छन्। अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ छ।  हालसम्म अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने २ लाख १७ हजार निको भएका छन्। त्यहाँ १६ हजार ९ सय ९५ जनाको अवस्था अझै गम्भीर रहेको छ। 

युरोपेली देश बेलायतमा ३० हजार ६ सय १५ जनाको ज्यान गइसकेको छ भने त्यहाँ २ लाख ६ हजार ७ सय १५ कोरोना संक्रमित भेटिएका छन्।  इटालीमा २९ हजार ९ सय ५८ को ज्यान गएको छ भने त्यहाँ २ लाख १५ हजार ८ सय ५८ जनामा संक्रमण छ।  स्पेनमा २  लाख ५६ हजार संक्रममित हुँदा २६ हजार ७० को मृत्यु भइसकेको छ। त्यस्तै फ्रान्समा २५ हजारको ज्यान गएको छ भने ब्राजिलमा ९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।

त्यस्तै बेल्जियममा ८ हजार चार सय १५ को मृत्यु भएको। जर्मनीमा ७ हजार ३ सय ९२ को ज्यान गएको छ।  छिमेकी देश भारतमा संक्रमितको संख्या ५६ हजार पुगेको छ भने त्यहाँ १ हजार ८ सय ८९ जनाको ज्यान गएको छ। तीव्र रुपमा फैलिरहेको यो भाइरसका कारण रुसमा एकै दिन ११ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। त्यहाँ हालसम्म १ हजार ६ सय २५जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ। 

यसैबीच पाकिस्तानमा २४ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ५ सय ८५ जनाको ज्यान गएको छ।  पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने महामारीबीच भालिदेखि लकडाउन खोल्ने घोषणा गरेका छन्। लकडाउनका कारण झन गरिबी बढ्ने भन्दै उनले लकडाउन खोल्ने घोषण गरेका हुन्। source:thahakhabar.com