जेठ ५ सम्म लम्बियो ‘लकडाउन’

बैशाख २४, २०७७ बुधबार काठमाण्डौ – सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५  गतेसम्म लम्बाउने निर्णय गरेको हो  ।

कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त विधि भएको निष्कर्ष निकाल्दै बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउनको अवधि बिहीबार सकिंदै थियो ।

मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा कोरोनाको जोखिमका आधारमा सबै जिल्लालाई रातो, तीन क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव पेश भएको थियो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले स्वरुप परिवर्तन नगरी लकडाउन लम्बाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्रीकै जोडमा लकडाउनको अवधि थपिएको हो ।

Advertisement

नेपालमा २ महिने बच्चासहित थप १७ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमित ९९ पुगे

बैशाख २४, २०७७ बुधबार काठमाण्डौ – नेपालमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा थप १७ जनालाई सङ्क्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबै वीरगञ्जका भएका मन्त्रालयका  प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार सङ्क्रमण हुनेमा २ महिनाको बच्चा पनि छन् । तर उनी बालक हुन् कि बालिका त्यसबारे केही खुलाइएको छैन । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ९९ पुगेको छ ।