बैशाख २२, २०७७ काठमाडौं : चौथो पटक थपिएको अवधि सकिनै लाग्दा प्रहरीले काठमाडौं उपत्यकामा लकडाउनलाई कडा बनाएको छ। अनावश्यक रुपमा सडकमा निस्किने, प्रहरीको आग्रह नमान्ने तथा तोकिएका बाहेकका पसलहरु सञ्चालन गर्ने व्यक्ति तथा सवारी साधनलाई आज बिहानै विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको छ। लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्रि सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।
कोरोना भाइरसका संक्रमितहरुको संख्या थपिएसँगै लकडाउनलाई थप प्रभावकारी बनाउन लागिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिए। त्यस्तै काठमाडौं उपत्यका भित्रिने नाकामा थप कडाइ गरिएको छ। नाकामा खटिएका सुरक्षाकर्मीलाई अत्यआवश्यक सवारीलाई मात्र छिर्न दिने निर्देशन दिइएको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई सिमा नाकामा कडाइ गर्न निर्देशन दिएपछि थप कडाइ गरिएको हो।
आइतवार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पास लिएर पनि मानिस काठमाडौं छिर्ने गरेका थिए। तर, अहिले अत्यावश्यक सवारीलाई पनि चेक गरेर प्रवेश गराउने गरिएको छ। सिडिओ कार्यालयबाट जारी भएको पास भएका सवारीलाई छिर्न नदिएपछि सिडिओले प्रहरीलाई फोन गरेर गुनासो गर्ने गरेका छन्।