सन्धिखर्क एफएम
बैशाख १४ अर्घाखाँची –
कोरोना भाईरसका कारण नेपाल भारत सिमानाकामा लकडाउनमा परेका अर्घाखाँचीका १ सय २८ जनालाई जिल्लामा ल्याईएको छ । सुक्रबार र सनिबार गरी उनिहरुलाई जिल्लामा ल्याईएको हो । भारतको नौतनवाको एक बिद्यालयको क्वरेण्टीनमा २६ दिन राखेर जिल्लामा ल्याइएका उनीहरुलाई पुनः १४ दिनको लागि स्थानीय सरकारले निर्माण गरेको क्वरेण्टीनमा राखिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वपक्षीय बैठकको निर्णयबाट दुबै देशका सरकारको समन्वयमा सिमानाकाको क्वरेण्टीनमा बसेका उनीहरुलाई गृह जिल्ला ल्याईएको हो ।
भारतको बिभिन्न ठाँउमा रोजगारी गरी फर्किएका मालारानी गाउँपालिकाका ९३ जना, सन्धिखर्क नगरपालिका २० जना, पाणिनि गाउँपालिकाका ९ जना , छत्रदेव गाउँपालिकाका ४ जना र शितगंगा नगरपालिकाका १ जना गरी १ सय २८ जनालाई सम्बन्धित पालिकाको क्वरेण्टीनमा राखिएको प्रजिअ पौडेलले जानकारी दिए । आफ्ना पालिकाका बासिन्दालाई सम्बन्धित पालिकालेनै व्यवस्थापन गर्नेगरी क्वरेण्टीनमा राखिएको मालारानी गाउँपालीका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।