विनाशकारी भूकम्पको पाँच वर्ष पूरा : पुनर्निर्माण र पुनर्स्थापनाका काम अझै लम्बिने

 बैशाख १२, २०७७ शुक्रबार काठमाण्डाै – विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घाइते भएका थिए ।

भूकम्पबाट भौतिक संरचनामा क्षति पुग्यो । भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवनलगायतका पुनर्निर्माणको काम अहिले पनि भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले क्षति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएका छन् । लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेका र एक लाख ९० हजार घर बन्ने क्रममा छन् । बन्न बाँकी घरको पनि यसै आर्थिक वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।

झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै छ । त्यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्षतिग्रस्त सात हजार पाँच सय ५३ विद्यालयमध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ ।

९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ । महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बालगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकी नै छ ।

पुनर्निर्माण र पुनर्स्थापनाका काम भइरहेका बेला देखा परेको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणको असर, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभएको छ । नेपालले पुनर्निर्माण र पुनर्स्थापनामा गरेको कामले विश्वसामु नमुना देखाएको ज्ञवालीले दाबी गर्नुभयो । नेपाली नागरिकमा विपद्को प्रतिरोधी क्षमता छ र कठिन अवस्थाका बीच पनि व्यवस्थापन गर्न सक्छन् भन्ने छवि बनेको उहाँको भनाइ छ ।

कोरोना भाइरसको यो महामारीबाट बाहिर निस्कने बित्तिकै बाँकी कामलाई पनि टुङ्गोमा पुर्‍याउन लागिपर्ने कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । प्राधिकरणको पाँच वर्षे अवधि आउँदो पुसमा सकिनेछ । source:ujyaaloonline

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालियो

बैशाख १२, २०७७ काठमाण्डौ – युरोपमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ । भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।

उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ । परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ । 

अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।काेराेना भाइरसविरुद्धकाे खाेप लिनेमध्ये एक इलिसा ग्रानाटाेले भनिन्, ‘म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुकाे प्रक्रियालाई सहयाेग गर्नुपर्छ ।’याे खाेपप्रति मलाई एकदमै विश्वास छ’, उनले भनिन् ।

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार, अमेरिकामा झण्डै ५० हजारले ज्यान गुमाए

बैशाख १२, २०७७ काडमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ। गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ६ हजार ५ सय ६९ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ४ सय ९६ पुगेको वल्डोमिटरले जनाएको छ।  विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १६ हजार ३ सय २० पुगेको छ। गत २४ घण्टामा मात्रै साढे ८४ हजार नयाँ संक्रमित थपिएका छन्। संक्रमितमध्ये सात लाख ४५ हजार ३ सय ४३ जना उपचारपछि निको भएका छन्।

विगत २४ घन्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार  ३ सय २२  जनाको मृत्यु भएको छ। यो सँगै अमेरिकामा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४९ हजार ८ सय ४२ पुगेको छ। त्यहाँ अहिलेसम्म ८ लाख ८० हजार १ सय ३६ जना संक्रमित भएका छन्। बिहीबार मात्रै अमेरिकामा ३१ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी इटालीमा बिहीबार ४ सय ६४ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ हजार ५ सय ४९ पुगेको छ। त्यसैगरी स्पेनमा बिहीबार ४ सय ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २२ हजार १ सय ५७ पुगेको छ। त्यहाँ संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ। फ्रान्समा बिहीबार ५ सय १६ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या २१ हजार ८ सय ५६ पुगेको छ।

त्यसैगरी बेलायतमा बिहीबार ६ सय ३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सँगै त्यहाँ मृतकको संख्या १८ हजार सात सय ३८ पुगेको छ।  ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्र मितको संख्या झण्डै ५० हजार पुगेको छ। त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।  भारतमा गएको २४ घन्टामा ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्। त्यहाँ बिहीबार एकै दिन १६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्।
source:thahakhabar.com