आज आमाको मुख हेर्ने दिन

बैशाख ११, २०७७ काठमाडौं :  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ।  छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। 

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ। बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ। दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए।      
source:thahakhabar.com

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकताको घोषणा

बैशाख १०, २०७७ बिहिबार काठमाण्डौ – राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ । राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ । यस्तै राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अहिले एकीकृत पार्टीको नाम, झण्डा र चुनाब चिन्ह घोषणा गरिएको बताउनुभयो । समानताको आधारमा बिस्तारै नेताहरुको मर्यादाक्रम तोकिने र साङ्गठनिक एकता हुने नेता यादवले बताउनुभयो ।  

दुवै पार्टीका चार/चार नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा पनि समानताका आधारमा पार्टी एकता गरिने जनाइएको छ ।    

आज १४औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गरेको दिन

बैशाख ११, २०७७ बिहिबार काठमाण्डाै – १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । लकडाउनका कारण औपचारिक कार्यक्रम हुन नसके पनि लोकतन्त्र दिवसको महत्व छ । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित नागरिकले अधिकार पाएका थिए ।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान बनाइ कार्यान्वयनको क्रममा छ ।