नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुग्याे, थपिएका १४ मध्ये १२ उदयपुर र चितवनका २ जना

बैशाख ५, २०७७ काठमाडाैं : नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ३० पुगेकाे छ। शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन्।  उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ। त्यसैगरी चितवन पनि दुई जनामा काेराेना संक्रमण देखिएकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हाे। 

विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियाे। उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकाे थियाे। यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ती नगरपालिकाकामा पनि थपिएका छन्। 

‘विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ’, स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ नै देखाएको छ।’ नेपालमा लकडाउन हुनुअघि नै आएर बसेका भनिएका उनीहरुको कोशी अञ्‍चल अस्पतालको ल्याबमा कोरोना परीक्षण गर्दा आठजनामा ‘पोजेटिभ’ देखिएको हो। 

र्‍यापिड टेस्ट गरिएका १६ जनाकै शंका लागेर बिहीबार परीक्षण गर्दा १२ मा कोरोना पोजेटिभ देखाएको हो। बिराटनगरमा गरिएको परीक्षणपछि उनीहरुको स्वाब काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा पनि पोजेटिभ नै आएको हो। उनीहरुको स्वाब बिहीबार राति नै सामाजिक विकास मन्त्रालयले गाडीमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो। टेकुमा पुनः परीक्षणपछि स्वास्थ्य मन्त्रालयले उक्त कुराको पुष्टि गरेको हो। 

विराटनगरबाट यी १२ सहित अन्य शंकास्पद १० जनाको पनि स्वाब टेकुमा ल्याइएको थियो। वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमा समेत अनुगमन गरेर स्वाब संकलन गरिएको थियो।  उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीसहितले अनुगमन गरेपछि उनीहरुको स्वाब लिइएको थियो।

चितवनमा २ जना

चितवनका दुईजनामा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुईजनाकै कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजेटिभ नतिजा देखिएको थियो। त्यसपछि राति नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित दुईजना अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।

र्‍यापिड टेस्टमा शंकास्पद देखिएपछि ती दुईसहित परिवारका अरु सदस्यलाई पनि भरतपुर ल्याइएको थियो। उनीहरुको बिहीबार स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । कोरोना संक्रमित दुवैजनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए। बिहीबार मात्रै भरतपुरमा ३६ जनाको कोरोना परीक्षण भएको थियो। जसमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पाँचजनाको पुनः परीक्षण गर्दा तीनको नेगेटिभ र दुईको पोजेटिभ रिपोर्ट आएको थियो ।

उदयपुरको पृष्ठभूमि  

मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका त्यहाँका प्रजिअ पहाडीले बताए।  लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई खबर गरेका थिए। भुल्केको मस्जिदमा रहेका १६ जनाको स्वाब सुरक्षाकर्मीसहित पुगेर स्वास्थ्यकर्मीले लिएका थिए। 

भुल्के मस्जिदमा रहेका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएका प्रारम्भिक सोधपुछमा खुलेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।  भुल्के मस्जिदमा भरहेका भारतीय सप्तरीको वोदेबर्साइन नगरपालिका-५ जाँजरमा फागुन ३ देखि ५ भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ। स्वाब सकलनसँगै तिनीहरुको ‘ट्राभल हिस्ट्री’समेत खोजिने पहाडीले बताए। 
source:thahakhabar.com

कोरोना भाईरस बिरुद्ध अर्घाखाँचीका दलहरु एक ठाउँमा

शोभाखर पन्थी ,अर्घाखाँची बैशाख ५ –
अर्घाखाँची जिल्लाका सांसदहरूले कोरोना भाईरस नियन्त्रण र जिल्लाको अबस्था बारे विभिन्न निकायहरु सँग छलफल गरेका छन् ।

उनिहरुले जिल्लामा क्रियासिल प्रमुख राजनीतिकदल,स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरु सँग जिल्लाको पछिल्लो अबस्था बारे अलगअलग बैठक तथा छलफल गरेका हुन् ।

छलफलमा जिल्लामा क‍ोरोना भाईरस नियन्त्रणको निम्ति गरिएका प्रयासहरु,स्वास्थ्य सामग्रीको अबस्था,दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति ,बिकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।

Image may contain: one or more people and indoor


यसैबीच जिल्लामा क्रियासिल राजनितीक दलहरुको बैठकले कोरोना भाईरस नियन्त्रणको निम्ति सरकार द्वारा गरिएका प्रयासहरु प्रसंसनिय रहेको बताउँदै सरकार द्वारा जारी लकडाउन लगायतका निर्णयहरु कडाइका साथ लागु गर्ने निर्णय गरेको छ ।


बैठकले कोरोना भाईरस नियन्त्रणको निम्ति ६ वटै तहका जनप्रतिनिधि ,सुरक्षा निकाय,स्वास्थ्यकर्मी,राष्ट्र सेवक कर्मचारी ,संचारकर्मी,नारिक समाजले खेलेको भुमिकाको उच्च सम्मान गर्दै अझै एकता बद्धभई व्यबस्थित रुपमा काम गर्न सबै निकाय लाई आग्रह गरेको छ ।
बैठकले छिमेकी देश भारत र नेपालको सिमा नाकाहरुमा रहेका जिल्ला बासिहरुको स्वास्थ्य उपचार ,गासबासको उचित प्रबन्ध गर्न तथा निजहरू लाई आबस्यक प्रक्रिया पूरा गरी जिल्लामा ल्याउने वातावरण सिर्जना गर्न सरकारलाई अग्रह गर्ने निर्णय गरेको छ ।


साथै बैठकले सरकार र स्वास्थ्यकर्मीक‍ो निर्दिष्ट मापदण्ड अबलम्वन गरि जिल्ला भित्रका बिकास निर्माणका आयोजना संचालन गर्नको निम्ति विभिन्न निकायलाई आग्रह गर्ने,बाहिरी जिल्ला बाट फलफूल ,मासु,अण्डा,तरकारी आयातमा प्रतिबन्ध लगाउने ,कृषि /खाद्यान्न लगायत अत्यावश्यक बस्तुक‍ो उत्पादन तथा सहजताको बाताबरण सिर्जना गर्ने,क‍ोर‍ना भाईरस नियन्त्रणका निम्ति जिल्लामा उपलब्ध स्वास्थ्य सामग्री अपुग भएकोले थप सामग्री ल्याउनक‍‍ो निम्ति प्रयत्न गर्ने लगायतका निर्णय गरेको छ ।


कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीले सरकारको निर्देशन ,स्वास्थ्य कर्मिहरुको सुझाव तथा आत्म अनुशासनमा रहेमा कोरोना भाईरसको संक्रमण बाट सहजै वच्न सकिने बताउनुभयो । उहाँले जिल्ला स्थित राजनीतिक दलहरूको सोंच बुझ र उच्च कार्यदक्षताका कारण हरेक समस्या लाई सहजै पार गरेको बताउँदै सबैको एकता बाट कोरोना भाईरस लाई पनि परास्त पार्न सकिने दावी गर्नुभयो ।


कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का ,प्रदेशसभाका सदस्य द्वय चेतनारायण आचार्य,रामजी प्रसाद घिमिरेले ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिव ठाकुर कुमार बि.क.,कार्यालय सदस्य द्वय पिताम्बर भुसाल ,राजेन्द्र भुसाल ,नेपाली कांग्रेसका सभापति विष्णुप्रसाद खनाल मुस्कान ,उपसभापति शान्ता भण्डारी ,राष्ट्रिय जनमोर्चाका नेताहरू सेरबहादुर बि.सी.सागर के.सी.,झबिलाल थापा लगायतका बक्ताहरुले मन्तव्य राख्दै कोरोना भाईरस बिरुद्ध एकताबद्ध भई लड्ने दृढता व्यक्त गर्नु भएको थियो ।


यसैबीच पालिका प्रमुख तथा उपप्रमुखहरुको बैठकमा मन्तव्य राख्दै पालिका प्रमुख तथा उपप्रमुखहरुले कोरोना भाईरस बिरुद्ध पालिकाले गरेको तयारी ,आगामि योजना ,केन्द्र र प्रदेश सरकार बाट गरिएका अपेक्षा ,बिकास निर्माण लगायतका बिषयमा आआफ्नो धारणा राखेका थिए ।

Image may contain: one or more people, people sitting and indoor

अर्घाखाँचीमा २१ जनाको र्‍यापिड डायग्नाेस्टिक टेष्ट रिपोर्ट नेगेटिभ


श्याम घिमिरे
बैशाख ५ अर्घाखाँची-
अर्घाखाँची जिल्लाका बिभिन्न क्वरेण्टीनमा रहेका २१ जनाको र्‍यापिड डायग्नाेस्टिक  टेष्ट गरीएको छ । टेष्टबाट २१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । जिल्लाभर बिहिबारसम्म क्वारेन्टीनमा रहेका २१ जनाको र्‍यापिड टेष्ट बाट रिपोर्ट नेगेटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो ।

सन्धिखर्कको युवा वर्ष रविचित्र माविको क्वारेन्टीनमा रहेका १२ जना र अर्घाखाँची आबासीय माबि बेलबाटीकामा रहेका १ जनाको र्‍यापिड   टेष्ट नेगेटिभ आएको डा.गौतमले जानकारी दिनुभयो । यस्तै भुमिकास्थान नगरपालीकाको ढाकाबाङ क्वारेन्टीनमा रहेका ६ जना र पाणिनी गाँउपालीकाको अड्गुरी क्वारेन्टीनमा रहेका २ जनाको पनि र्‍यापिड टेष्ट गर्दा रिपोर्ट नेगेटीभ आएको डा.गौतमले बताउनुभयो ।
गौतमका अनुसार अहिले युवा वर्ष रविचित्र माविको क्वारेन्टीनमा ४ जना,मालारानी गाउँपालीकामा १० जना र भुमिकास्थान नगरपालीकामा २ जना गरी १६ जना क्वारेन्टीनमा रहेका छन । र्‍यापिड डायग्नाेस्टिक टेस्ट नेगेटीभ आएका सबैलाई थप एक हप्ता घरमा सेल्फ क्वारेन्टीनमा बस्ने गरी घर पठाइएको गौतमले बताउनु भयो ।