काेभिड १९ : १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित, चार लाख ६७ हजार निकाे भए

काठमाण्डाै – विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) का कारण १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । 

कोभिड १९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डाेमिटरका अनुसार अहिलेसम्म याे भाइरसबाट १९ लाख ९२ हजार एक सय जना सङ्क्रमित भइसकेका छन् । एक लाख २० हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

सङ्क्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् भने १३ लाख ९८ हजारको उपचार भइरहेकाे छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ ।

पछिल्लो एक दिनमा अमेरिकामा दुई हजार दुई सय ८४ जनाको ज्यान गएको छ भने २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण २५ हजार ९ सयभन्दा धेरैकाे ज्यान गएकाे छ । त्यस्तै ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको ज्यान गएको छ । जसका कारण इटलीमा २१ हजारभन्दा धेरै, स्पेनमा १८ हजारभन्दा धेरै, फ्रान्समा १५ हजारभन्दा धेरै र बेलायतमा १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा एक दिनमा ३५ जनाको ज्यान गएको छ भने एक हजारभन्दा धेरैमा सङ्क्रमण देखिएको वल्डाेमिटरले जनाएको छ । source:ujyaaloonline

अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई गर्दै आएकाे आर्थिक सहयाेग राेक्ने

बैशाख ३, २०७७ बुधबार काठमाण्डाै – अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) लाई गर्दै आएको सहयोग रकम कटौती गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन आफ्नो आधारभूत कर्तव्य पूरा गर्न नसकेको भन्दै उसलाई गर्दै आएको आर्थिक सहयोग राेक्ने घोषणा गरेका हुन् । 

राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले आफ्नो प्रशासनलाई सङ्गठनको सहयोग राेक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सङ्गठनले कोभिड १९ भाइरसको फैलिने क्रम रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नैपर्नेमा जोड दिए ।

अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो । गएको वर्ष अमेरिकाले सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो रकम सङ्गठनको १५ प्रतिशत बजेट बराबर हो । source:ujyaaloonline