मस्जिदमा लुकेका तीनजनालाई कोरोना संक्रमण, अन्यको खोजी गरिँदै

चैत ३०, २०७६ काठमाडौं : वीरगञ्‍जको एक मस्जिदमा लुकेका तीन भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यको खोजी थालिएको छ। वीरगञ्‍ज महानगरपालिका-२, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा लुकेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो।  स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा लुकेर शंकास्पदरुपमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना भारतीयमा कोरोना पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित पुष्टि भएका३७, ५५ र ४४ वर्षका तीनै पुरुष भारतीय हुन्। 

उनीहरूलाई कोभिड-१९ शंका लागी नारायणी अस्पताल वीरगञ्‍जको आइसोलेशनमा राखेर उपचार थालिएको थियो। त्यहीँ उनीहरुको थ्रोट स्वाब लिएर कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गरिँदा कोरोना पुष्टि भएको हो।  उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुन: एकीन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शनिबार भएको पुन:परीक्षणबाट ती तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो।  तीनजनामा कोरोना पुष्टि भएपछि उनीहरु नजिक आएका अन्यको खोजी थालिएको छ। उनीहरु घुमेको स्थानसमेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। source:thahakhabar.com

नेपालमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२

चैत ३०, २०७६ काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। वीरगञ्जमा उपचाररत तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतको भनाइ छ।  यस बारेमा मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको छ। अहिले केहिबेरमा पत्रकारसम्मेलन गरेर जानकारी दिने मन्त्रालय स्रोतले बतायो।  लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ। संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ। तीनै जना भारतीय नागरिक रहेको बताइएको छ। उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको मन्त्रालय स्रोतले बताएको छ।  हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। केन्द्रका अनुसार काठमाडौंमा परिक्षण पछि पनि उनीहरुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको हो। यसअघि संक्रमण देखिएका ९ जनामध्य १ जना उपचारपछि घर फर्किएका छन् भने ८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।  source:thahakhabar.com