भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक

 चैत २०, २०७६ बिहिबार काठमाण्डौ – भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या दुई हजार नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार भारतमा गएको २४ घण्टामा ६ सय १ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय ९८ पुगेको छ । यस्तै ज्यान गुमाउनेको सङ्ख्या ५८ पुगेको छ । तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म ४१ जनाको ज्यान गएको र १ हजार ८ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।source:ujyaaloonline.com

अमेरिका कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै, पछिल्लो २४ घण्टामा एक हजारभन्दा धेरैको ज्यान गयो

चैत २०, २०७६ बिहिबार काठमाण्डौ – पछिल्लो समय अमेरिका कोरोनो भाइरस (कोभिड १९) सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ ।

गएको २४ घण्टामा अमेरिकामा मात्रै एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म ५ हजार ९४ जनाको ज्यान गएको छ । २ लाख १४ हजार भन्दा धेरै मानिसमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटालीमा थप सात सय २७ जनाको ज्यान गएसँगै १३ हजार १ सय ५५ जना स्पेनमा थप ९ सय २३ जनाको ज्यान गएसँगै ९ हजार ३ सय ८७ जना, फ्रान्समा ५ सय भन्दा धेरैको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ३२ पुगेको छ ।

बेलायतमा पनि गएको २४ घण्टामा थप ५ सय ६३ जनाको ज्यान गएको छ । बेलायतमा अहिलेसम्म २ हजार ३ सय ५२ जनाको ज्यान गएको छ ।

अहिलेसम्म विश्वका २ सय ३ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना सङ्क्रमण फैलिएको छ । जसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ ।

अहिलेसम्म ९ लाख ३४ हजार ६ सय ६८ जना सङ्क्रमित भएकामा १ लाख ९३ हजार ९ सय ६८ जना उपचारपछि निको भएका छन् । ६ लाख ९३ हजार ५ सय १९ जनाको उपचार भइरहेको छ । ४७ हजार १ सय ८१ जनाको भने ज्यान गएको छ । source:ujyaaloonline.com