चैत १०, २०७६ काठमाडौं : फ्रान्सबाट आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले उनको सम्पर्कमा आएकाहरुको खोजी थालेको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं निवासी ती १९ वर्षीया युवतीको सम्पर्कमा आएजति सबै मानिसको खोजी थालिएको जानकारी दिए। ‘फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतीको सम्पर्कमा आएजति सबैको खोजी थालेका छौँ’, उनले सोमबार मन्त्रालयमै गरिएको पत्रकार सम्मेलनमा भने, ‘उनको परिवारलाई सरकारको निगरानीमा होम क्वारेन्टाइनमै राखिसकिएको छ।
’ मन्त्री ढकालले फ्रान्सबाट कतार हुँदै काठमाडौं आउने क्रममा उनी सवार जहाजका यात्रुको पनि खोजी भइरहेको जानकारी दिए। ‘हामीले उक्त जहाजमा सवार अन्य यात्रुको अवस्थाबारे पनि खोजी गरिरहेका छौँ’, उनले भने,‘अहिलेलाई उक्त जहाजबारे नखुलाऊँ, हामी खोजिरहेका छौँ। युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा लान्छौँ।’ स्वास्थ्य मन्त्री ढकालका अनुसार फ्रान्समा अध्ययन गर्दै गरेकी ती युवती काठमाडौंकै बासिन्दा भएकाले उनी बसेको क्षेत्रमा मानिससँग सोधखोज थालिएको छ। source:thahakhabar.com