चप्पल लगाएर आएकाहरुको महल कसरी बन्यो …

फागुन १४, २०७६ काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्। ‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’,

भट्टराईले प्रश्न गरे, ‘म लगायत हामी सबै साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ। आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’  डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्‍नसमेत गरेका छन्। प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ।

त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’  अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौमा महल बनाउने हैसियत नपुग्ने दावी उनले गरे। ‘म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ। अर्थमन्त्री पनि भइटोपलेको मान्छे’, उनले भने, ‘मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ।

त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु।’ मातातीर्थको जग्गामा लोकमान प्रवृत्ति उनले मातातीर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप समेत लगाएका छन्। मातातीर्थ लगायतको १७२ रोपनी जग्गाबारेमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठिक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीले प्रतिसोध, असहिष्णुता वा निषेध गर्ने के प्रवृतिले यस्तो गर्न खोजिएको हो भन्दै आशंका व्यक्त गरे।

दुईतिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था नरहेको भन्दै भट्टराईले ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन’, भने। डा. भट्टराईले लोकमानलेझैँ तर्साएर झुकाउने प्रधानमन्त्रीले सोच्नुभएको भए २०५१ सालको प्रशंग सम्झिन आग्रह गरे। ‘जतिबेला २०५१ सालमा जनयुद्धको तयारी गर्दै थियौँ। त्यतिबेला चर्चित भित्तेकाण्ड भएको थियो। त्यतिबेला सिंहदरबार अगाडी म लगायत साथीहरु उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) गृहमन्त्री हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँलाई ज्ञापन पत्र बुझाउन जाँदा उहाँको अरिंगाल सेनाले मलाई आएर खुकुरीले हानेको प्रशंग अहिले पनि याद छ।

त्यसैले उहाँले लोकमानले झै तर्साएर झुकाउछु भन्ने ठानेको हो भने त्यो प्रशंग सम्झिदा राम्रो होला। त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के थियो त्यो सम्झँदा ठिकै होला। यो समय आरोप प्रत्यारोपको विषय होइन्।’ भट्टराईले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गएका छन भन्दै प्रश्न पनि गुरे।‘अब यति होल्डिङप्रति नै विशेष अनुराग भएर उसलाई अझै नपुगेको हो अझै दिनुपर्ने हो ?

मोहीहरुले बरु नपाए नपाउन भन्ने चाहाना हो भने यो पनि गम्भिर विषय हो छलफल गरुन्’, उनले भने, ‘यो त दृष्टिकोणको कुरा भयो। जनताको जमिन खोसेर आफ्नो आसेपासेलाई दिने की जोताहा मोहीलाई दिने हो भन्ने गम्भिर छलफल विषय बन्छ।’ देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराइले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषिलाई दण्डित गर्ने प्रवृति अंगाल्नुपर्ने बताए।
source:thahakhabar.com

शैक्षिक हड्तालले अर्घाखाँचीमा पठनपाठन प्रभावित ।


श्याम घिमिरे
फागुन १४ अर्घाखाँची –
विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन क्रान्तिकारीले आफ्ना केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा बुधवार शैक्षिक हड्तालको आब्हान गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आब्हान गरेको शैक्षिक हड्तालका कारण काठमाडौँ उपत्यका सहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थाहरुमा अध्ययन–अध्यापन कार्य प्रभावित भएको छ ।

२५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको एक कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले लगाएको छ । शैक्षिक हड्तालका कारण अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका बिभिन्न शैक्षिक संस्था लगायत ग्रामिण क्षेत्रका अधिकांश शैक्षिक संस्थाहरुमा पठनपाठन प्रभावित भएको छ ।

माैसम : आज पनि मध्य र पूर्वका केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना

फागुन १४,काठमाण्डाै – बुधबार पनि मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मङ्गलबार र साेमबार पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले पश्चिमको मौसम विस्तारै खुल्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार बुधबार पश्चिमको मौसम खुले पनि मध्य र पूर्वका केही ठाउँमा भने चट्याङसहित पानी पर्ने सम्भावना छ ।

अहिले बदली भएको काठमाण्डाैको मौसम दिउँसो घाम लागे पनि बेलुकीतिर फेरि बदली भइ पानी पर्ने उहाँको अनुमान छ । बुधबार पानी पार्ने प्रणाली कमजोर हुँदै गए पनि बिहीबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभरिकै मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद् श्रेष्ठको भनाइ छ । तर त्यो प्रणालीले थोरै मात्र पानी पार्ने उहाँले बताउनुभयो ।

यसैबीच प्रिमनसुनी गतिविधि सुरु भएकाले अब दिउँसोपछि हुरिबतास पनि चल्न थाल्ने मौसमविद्ले बताएका छन् । मौसमविद् श्रेष्ठका अनुसार प्रिमनसुनमा बिहान मौसम खुलेर दिउँसो घाम लाग्छ तर बेलुकीतिर बदली भएर हुरीबताससहित चट्याङ र असिना पर्छ ।

सामान्यतया मार्च अर्थात् फागुनको मध्यदेखि तीन महिनासम्म प्रिमनसुन हो । केही दिनयता बिहान खुलेको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर हुरीबताससहित चट्याङ पर्न थालेको छ । 

स्व. खिम प्रसाद भट्टराईको सम्झनामा छात्रवृत्ति वितरण

बिन्दु घिमिरे अर्घाखाँची, १३ फागुन-
भुमिकास्थान नगरपालिका ९ ढिकुरा गैरागोठस्थित श्री सारदा माध्यमिक बिद्यालयमा छात्रवृत्तिवितरण कार्यक्रम सम्पन्न गरिएको छ। खिम प्रसाद भट्टराईको सम्झनामा “खिम प्रसाद भट्टराई स्मृती प्रतीष्ठान” नामक छात्रवृत्ति एक कार्यक्रम बिच सोमबार बितरण गरिएको हो।

२०१२ बैसाख १२ गते ढिकुराको पिहालेमा जन्मिनु भएको खिम प्रसाद भट्टराईको मृत्यु २०६४ फागुन १२ गरे सवारी दुर्घटना मा परी सन्धीखर्क मा उपचारको क्रम मा निधन भएको थियो। सो सम्झना मा प्रत्येक बर्ष बिद्यालय मा दुइजना बिद्यार्थी लाई तीन तीन हजार को दरले गरीव असाय बिद्यार्थी लाई बितरण बितरण गरिदै आएको थियो।

आज उहाकै सम्झना मा कक्षा दशमा अध्ययनरत छात्रा शान्ता कुवर र कक्षा ७ मा अध्ययनरत बसन्ता थापा लाई दिएको छ उहाकै समझना मा एक मिनेट माैन धारण र उहाकै फोटामा अवीर तथा माल्यापण अतिथि हरुले शिक्षक शिक्षिका र बिद्यार्थी हरु ले गर्नु भएको छ। नमुना युवा परिषद का अध्यक्ष दिपक चुदालीको सभापती रहेको कार्यक्रम मा प्रमुख अतिथि भुमिकास्थान नगरपालीका ९ का वडा अध्यक्ष नारायण प्रसाद खनाल ,अतिथि हरु ढिकुरा काठमाडाै समाजका अध्यक्ष कृष्ण पोख्रेल ,वडा सचिव तुल्सिराम पोख्रेल , बिद्यालय कि प्रधानध्यापक बिष्णु अधिकारी बिद्यालय ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे , निवर्तमान सदस्य नारायण घिमिरे , समाजसेबी मोती भट्टराई, समाजसेबी गिरिराज घिमिरे लगायतले मन्तब्य राखनु भएको कार्यक्रममा स्वागत मन्तव्य नमुना क्लबका सदस्य अजुर्न घिमिरे र कार्यक्रमको सन्चालन शिक्षक नमराज अधिकारीले गर्नु भएको थियो

दिल्ली हिंसा : ज्यान गुमाउनेकाे सङ्ख्या १३ पुग्याे, उत्तर प्रदेश र हरियाणाकाे सीमामा निगरानी बढाइयाे

फागुन १४,काठमाण्डाै – भारतको राजधानी दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाइएको छ ।

साेमबार गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृह मन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए ।

यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन् । 

नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । झण्डै सय जना घाइते भएका छन् ।

प्रदर्शनकारीबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबैभन्दा खराब हिंसा भएकाे छ । हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दू र मुस्लिम समुदायबीच झडप भएकाे छ ।

नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यसअघि पनि प्रदर्शन भएका थिए । तर गएको आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएकाे हो । source:ujyaaloonline