अर्घाखाँचीमा दुर्घटना : २ को ज्यान गयो, २ घाइते

प्रेमनारायण आचार्य फागुन १३ अर्घाखाँची – भूमिकास्थान नगरपालिकाका दुई छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

भूमिकास्थान नगरपालिका ४ को धारापानीमा मोटरसाइकल र वडा नम्वर १० धनचौरमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बताउनुभयो ।  

भूमिकास्थान नगरपालिका ४ को साना औवलको मिलनचोकमा लु ५६ प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार फलामखिलका चोपलाल घर्तिको ज्यान गएको हो । 

दुर्घटनामा गम्भीर घाइते हुनुभएका घर्तिको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको हो । घटनामा मोटरसाइकल चालक नवीन आले र स्थानीय लक्ष्मी सुनार घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ । 

त्यस्तै भूमिकास्थान नगरपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा ट्र्याक्टर चालकको ज्यान गएको छ । दुर्घटनामा ट्र्याक्टर चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ का डिभर्ना बस्ने २४ वर्षीय दिनेश विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । 

भूमिकास्थान नगरपालिका १० धनचौरको देउरालीतर्फ जाँदै गरेको लु ४ त ४५३९ नम्बरको ट्र्याक्टर चिप्लो बाटोमा उकालोमा तान्न नसक्दा ब्याक भइ बाटोबाट दुई सय  मिटर तल खसेको प्रहरीको भनाइ छ  । 

एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरपालीकाले सहयोग गर्छ


श्याम घिमिरे
फागुन १३ अर्घाखाँची –
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले एकल महिलाहरुलाई आत्म निर्भर बनाउनकालागि नगरपालिकाले बिभिन्न किसिमका आय–आर्जन मुलक कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ । सन्धिखर्क नगरपालिका वडानम्वर १२ डिभर्नाले आयोजना गरेको एकल तथा बिपन्न कृषक महिलाहरुकालागी क्षमता अभिबृद्धि तालीमको आज उद्घाटन गर्दे भुसालले सिपमुलक तालिमहरुबाट महिलाहरु आर्थिक रुपमा आत्म निर्भर बन्न सकुन भन्ने मुख्य उद्देश्यले सिपमुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताउनु भयो ।

कार्यक्रममा मनतब्य राख्दै नगर उपप्रमुख ठाकुर कुमार बिकले आफुले सिकेको सिपलाई सबै टोल र बस्तीमा पु¥याउनुपर्ने भन्दै तालीमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न सबैलाई आग्रह गर्नु भयो । बिकले नगरपालिकाबाट बिनियोजन भएका योजनाहरुको काम पारदर्शी भए नभएको उपभोक्ताहरुले पनि अनुगमन गर्नुपर्नेमा जोड समेत दिनुभएको हो ।
वडाअध्यक्ष नारायण खड्काको अध्यक्षता वडासचिब अनन्तमणि पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका शाखा अधिकृत मञ्जु खनाल लगायतले मन्तव्य राख्नु भएको थियोे ।

५५ अर्ब रुपैयासंग नेपालको सार्वभौमिकता साट्नु गलत – राजमो नेता रेग्मी


श्याम घिमिरे
फागुन १३ अर्घाखाँची –
अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरवराज रेग्मीले अमेरिकाले नेपाललाई दिने ५५ अर्ब रुपैया संग नेपालको सार्वभौमिकता साट्न खोजेकोले एमसीसीको विरोध गर्नुपरेको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंगलवार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दे रेग्मीले यस्तो बताउनु भएको हो । हामीले विदेशी सहायतालाई सामान्यतया अस्वीकार गर्दैनौं तर, अमेरिकाले ५५ अर्ब रुपैया संग नेपालको सार्वभौमिकता साट्न खोजेको छ , उहाँले भन्नुभयो देशलाई धरौटीमा राखेर विदेशी सहयोग कुनै हालतमा स्वीकार्न गर्न सकिन्न । यसलाई संसदबाट कुनैपनि हालतमा खारेज हुनुपर्छ ।

सांगठनिक अभियान अर्घाखाँचीका ईन्चार्ज समेत रहेका रेग्मीले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका नेपाली भूभाग आफ्नो नक्शामा समेटेर भारतले नेपाललाई चुनौती दिएको भन्दै यो विषयलाई अन्तराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै रेग्मीले पछिल्लो समय नेपालमा संस्थागत रुपमा भ्रष्टचार गर्ने प्रबृति बढेको भन्दै भ्रष्टहरुलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्नेमा जोड समेत दिनुभयो ।


राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता र जिबनारायण खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो नेता शेरबहादुर बिसी, यमलाल पोखरेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राजमो अर्घाखाँचीले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियानको बारेमा समेत पत्रकारहरुलाई जानकारी गराईएको थियो ।