फागुन ३, २०७६ काठमाडौं : चीनको वुहानमा रहेका नेपाली विद्यार्थी लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ उडेको छ। आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको एयर बस ए ३३० वाइटबडी जहाज चीन प्रस्थान गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट १ सय ८५ जना नेपालीलाई लिएर जहाज भोलि बिहान दुई बजे काठमाडौंमा अवतरण गर्ने निगमका प्रबन्ध निर्देशक गणेशबहादुर चन्दले बताए।
जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक–एक जना इन्जिनियर र लोडमास्टर छन्। चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ। यसरी ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणका चारवटा भवनमा बनाइएको क्वारेन्टाइनमा राखिनेछ। उनीहरुलाई दुई हप्तासम्म अभिभावक, आफन्तलगायत कसैसँग पनि भेट्न दिईँनेछैन । ल्याएको २४ घण्टाभित्र एकपटक कोरोना परीक्षण गरिनेछ। क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा फेरि अर्कोपटक कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ आउनेजतिलाई घर पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कूल १८५ मध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ।
source:thahakhabar.com