श्याम घिमिरे
कात्तिक ३ अर्घाखाँची –
अर्घाखाँचीमा प्रहरीले सुन पसल चोरी गर्ने एक युबकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । शनिवार राति साढे ११ बजेतिर सन्धिखर्क १ हल लाईनमा रहेको महालक्ष्मी गहना पसलमा सुन चोरी गर्ने भारतीय नागरिकलाई प्रहरीले आईतबार पक्राउ गरेको हो । पक्राउ पर्ने भारत मुस्ताफुर पश्चिम बंगाल घर भई हाल सन्धिखर्क नगरपालिका १ मा बस्दै आएका २९ बर्षिय श्रीमन्त मोण्डल रहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।

सन्धिखर्क १ हललाईन गुन्टेखोला नजिकै ताराबहादुर सुनारले सञ्चालन गरेको महालक्ष्मी गहना पसलमा शनिवार रातीको समयमा पसी सुन चोरी गरेको बिष्टले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । पक्राउ परेका मोण्डलको साथबाट ६ तोला ५१.५ लाल सुन बरामद गरिएको छ । जसको प्रचलित बजार मुल्य ४ लाख ६४ हजार ८ सय १४ रुपैया बराबरको रहेको छ ।

मोण्डलले दाजुसँग भारतबाट आउदा लिएको ऋण तिर्न चोरी गरेको स्वीकार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेका मोण्डललाई मलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ नकबजनी चोरी अन्र्तगत कारबाही अगाडी बढाईएकोे बिष्टले जानकारी दिनुभयो । मोण्डल बिगत १२ बर्षदेखी सन्धिखर्कमा सुनचाँदीका गहना बनाउने कालीगडको रुपमा काम गर्दे आईरहेको बताइएको छ ।


