
भदौ ११, २०७६ बुधबार काठमाडाैं – ३५ वर्षपछि हाँक साप्ताहिक बन्द भएको छ । गत भाद्र ५ गते बसेको नेकपा (मसाल) को पिबीको बैठकले गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित गर्ने निर्णय गरेको बताइएको छ ।
५ दशकदेखि पार्टीमा काम गर्दै आएका उनलाई पार्टीले गम्भीर आरोप लगाएर निस्कासन गरेको छ । भारतमा अखिल भारत नेपाली एकता समाजको विस्तारमा समेत महत्वपूर्ण योगदान दिएका उनलाई ‘हाँक’ साप्ताहिकको प्रकाशक तथा प्रधान सम्पादकबाट समेत हटाएको हाे ।
गोविन्दसिंह थापाले सहिद शोभाखर धनञ्जय र उनको परिवार शान्ता भुसालसित ठुलो विश्वासघात गरेको आरोप मसालको छ । पार्टीले उनीमाथि गरेको विश्वासमा निम्न स्तरमा उत्रिएर धोका दिने काम गरेको भन्दै कडा कारवाही गर्न बाध्य भएको नेकपा (मसाल) ले निकालेकाे विज्ञप्तिमा जानकारी दिएको छ । याे समाचार तयार पार्दा सम्म हाँक साप्ताहिककाे वेबसाइटकाे प्रिन्टलाइनबाट भने गोविन्दसिंह थापाकाे नाम हटाइएकाे छैन ।
विज्ञप्ति हेर्नुहाेस
नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय
Website: cpnmashal.org, Email : ncpmashal@gmail.com
वक्तव्य
२०७६ भाद्र ५ गते बसेको नेकपा (मसाल) को पिबीको बैठकले गोविन्दसिंह थापालाई अनिश्चित कालका लागि पार्टीको साधारण सदस्यताबाट समेत निस्कासित गर्ने निर्णय गरेको छ । उहाँले पुगनपुग ५ दशकदेखि हाम्रो पार्टीमा काम गर्दै आउनु भएको थियो । भारतमा अखिल भारत नेपाली एकता समाजको विस्तारमा उहँँको महत्वपूर्ण योगदान रहेको थियो । उहाँ लामो समय नेकपा (मसाल) को केन्द्रीय समिति र केही समयसम्म वैधानिक मोर्चाको केन्द्रीय उपाध्यक्ष भएर काम गर्नु भएको थियो । उहाँले करिब साढे तीन दशकदेखि हाम्रो वैधानिक साप्ताहिक पत्रिका ‘हाँक’ को प्रकाशक तथा प्रधान सम्पादकको रूपमा काम गर्दै आउनु भएको थियो ।
उहाँ जस्तो व्यक्तिलाई पार्टीको सामान्य सदस्यताबाट समेत निस्कासित गर्नु पर्दा हामीलाई धेरै दुःख लागेको छ । तैपनि उहाँले सहिद शोभाखर धनञ्जय र उहाँको परिवार शान्ता भुसालसित जुन ठुलो विश्वासघात गर्नु भयो र पार्टीले उहाँमाथि गरेको विश्वासमा जति निम्न स्तरमा उत्रिएर धोका दिने काम गर्नु भयो, त्यसले गर्दा हामी उहाँमाथि त्यस प्रकारको कडा कारवाही गर्न बाध्य भएका छौँ ।
हाँक साप्ताहिकलाई कामरेड शोभाखर धनञ्जयले स्थापना गर्नु भएको थियो । उहाँको निधनपछि उहाँकी पत्नी शान्ता भुसालले नेकपा (मसाल)लाई हस्तान्तरण गर्नु भएको थियो । पञ्चायती कालमा हाम्रो पार्टीमाथि प्रतिबन्ध थियो । हाम्रो पार्टीका त्यो बेलाका केन्द्रीय सदस्य गोविन्दसिंह थापालाई प्रकाशक र प्रधान सम्पादक बनाएर त्यसलाई सञ्चालन गर्दै आएका थियौँ र त्यसको करिव साढे तीन दशकको गौरवमय इतिहास पूरा भएको छ ।
यो अवधिमा देशका कैयौँ पत्रपत्रिका वा महत्वपूर्ण साप्ताहिकहरू बन्द भए । तर हाँक निरन्तर प्रकाशित भइरह्यो । त्यस प्रकारको निरन्तरतामा देशभरका प्रवासका वा विदेशका पनि पार्टीका सदस्य, समर्थक विभिन्न मोर्चा वा जनवर्गीय सङ्गठन वा शुभेच्छुकको ठुलो योगदान रहेको छ । त्यस प्रकारको योगदानको कारणले नै हाँक कैयौँ ठुलो सङ्कट पार गर्दै निरन्तर रूपले प्रकाशित हुँदै आएको थियो । अहिलेसम्म त्यसको प्रकाशनको निरन्तरता दिन देश वा देशबाहिरका विभिन्न साथीहरूको जुन महत्वपूर्ण योगदान रह्यो, ती सबैलाई हाम्रो पार्टीले धन्यवाद दिन्छ र उहाँहरूप्रति आभार प्रकट गर्दछ ।
त्यसरी अहिलेसम्म हाँकको प्रकाशनलाई जुन साथीहरूले ठुलो योगदान दिनु भयो, उहाँहरू सबैलाई पनि गोविन्दसिंह थापाले धोका दिनु भएको छ । त्यो पत्रिकाको प्रकाशनमा अहिलेसम्म उहाँको एक रूपियाँ पनि लगानी भएको छैन तर सम्पूर्ण रूपले सामूहिक रूपले चलेको साप्ताहिकलाई उहाँले आफ्नो व्यक्तिगत सम्पत्ति बनाउन पुग्नु भएको छ ।
महाधिवेशन पहिले अर्थात् करिब एक वर्ष पहिले बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले हाँकलाई गोविन्दसिंह थापाको स्वामित्वबाट हटाएर सहकारी वा प्रालिका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यो बेला उहाँ पनि केन्द्रीय समितिको सदस्य हुनु हुन्थ्यो र उहाँले पनि त्यो निर्णयमा सहमत हुनु हुन्थ्यो । हाँकलाई त्यसरी सहकारी वा प्रालि जेमा लगे पनि त्यसको अध्यक्ष उहाँलाई नै बनाउने समझदारी पनि भएको थियो ।
पहिलेको केन्द्रीय समितिको उपर्युक्त निर्णयलाई कार्यान्वयन गर्नलाई हाँकको सञ्चालक समितिका सदस्य र स्टाफ समेतको बैठक बसेको थियो । त्यो बैठकमा गोविन्दसिंह थापाले पहिलेकै जस्तै गरेर हाँकलाई प्रकाशित गर्न तयार भएको तर प्रालिमा लैजान सहमत नभएको विचार उहाँले प्रकट गर्नु भयो ।पछि उहाँसित पार्टीले लिखित स्पष्टीकरण नै मागेर पठायो ।
पार्टीले पठाएको पत्रको जबाफमा उहाँले लेखेर पठाएको स्पष्टीकरण पत्र यस प्रकार छ–
का. महामन्त्री, नेकपा (मसाल) केन्द्रीय कार्यालय
विषय ः स्पष्टीकरणबारे ।
महोदय,
उपरोक्त विषयमा श्रावण १७ गतेको पत्र श्रावण २४ गते प्राप्त भयो । वैधानिक साप्ताहिक प्रकाशनको सम्बन्धमा मैले प्रालिमा नलगेर अहिले कै प्रकाशन व्यवस्थालाई निरन्तरता दिने भनेर प्रकट गर्ने विचार अनुशासनविहीन र अनैतिक हुँदैन ।
भवदीय
क. नरेश
त्यसरी उहाँले हाँकलाई प्रालिमा लैजाने निर्णयलाई मान्न अस्वीकार गर्नु भयो र त्यसलाई पहिले जस्तै गरेर अर्थात् उहाँको स्वामित्वमा उहाँ प्रकाशक र प्रधान सम्पादक भएर त्यसको प्रकाशनलाई निरन्तरता दिने कुरामा मात्र उहाँले आफ्नो सहमति प्रकट गर्नु भयो । त्यसरी कामरेड धनञ्जय र उहाँकी पत्नीले पार्टीलाई सुम्पिएको, पार्टीले उहाँमाथि विश्वास गरेको, देश र देशबाहिरका पार्टी सदस्य, समर्थक वा शुभेच्छुकहरूको सहयोगमा चल्दै आएको र उहाँको एक रूपियाँ पनि लगानी नभएको सामूहिक सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति गराउन खोज्ने कार्यले उहाँको अत्यन्त निम्नस्तरको चरित्रलाई नै बताउँछ ।
हामीले पहिलेदेखि नै यो कुरा प्रष्ट गर्दै आएका छौँ, पार्टी सदस्यहरूको नाम दुई अवस्थामा सार्वजनिक गरिन्छ ः प्रथम– कुनै पार्टी सदस्यको निधन भएमा, द्वितीय– कुनै पार्टी सदस्यलाई कारवाही गरेर अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निस्कासित गरिएमा । अहिले उहाँलाई अनिश्चित कालको लागि पार्टी सदस्यताबाट निस्कासित गरिएको हुनाले उहाँको नाम सार्वजनिक गरिएको छ । उहाँमाथि गरिएको कारवाहीबाट यो कुरा प्रष्ट हुन्छ ः हाम्रो पार्टीका नियम र अनुशासन अत्यन्त कडा हुन्छ र गल्ती गर्नेहरूमाथि बिना पक्षपात वा कुनै पूर्वाग्रह बिना कारवाही गर्ने गरिन्छ । यहाँ यो उल्लेखनीय छ कि उहाँ (गोविन्दसिंह थापा) वा महामन्त्रीका साख्खै मामा हुनु हुन्छ । तर त्यो नाताका कारणले पनि उहाँलाई कुनै छुट दिइएन ।
त्यसबाट पार्टीभित्र कुनै निर्णय गर्दा कुनै पनि प्रकारको पक्षपात वा भेदभाव गरिन्न भन्ने कुरा प्रष्ट हुन्छ ।
गोविन्दसिंह थापाको सन्दर्भमा माओको एउटा भनाइको उल्लेख गर्नु शायद अप्रासङ्गिक हुने छैन । त्यो भनाइअनुसार कुनै व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य बने पनि सबै जना पुरै कम्युनिस्ट हुँदैनन् र उनीहरू बेग्लाबेग्लै कमबेसी मात्रामा नै कम्युनिस्ट बनेका हुन्छन् । कोही ५ प्रतिशत मात्र कम्युनिस्ट बनेका हुन्छन् भने कोही १०, २०, ३०, ४०, ५०, ६०, ७०…. प्रतिशत पनि बनेका हुन्छन् । ८०, ९० जस्ता उच्च प्रतिशतमा कम्युनिस्ट बन्ने त कोही कोही मात्र हुन्छन् । १०० प्रतिशतको कुरा त धेरै टाढाको कुरा हो ।
कुनै व्यक्ति थोरै समयमा मात्र काम गरेर पनि उनीहरूमा उच्च प्रतिशतमा कम्युनिस्ट चरित्रको विकास हुन सक्दछ भने कतिपय व्यक्तिहरू ३०÷४० वा ५०÷६० वर्ष काम गरे पनि उनीहरू अत्यन्त कम प्रतिशत मात्र कम्युनिस्ट बनेका हुन्छन् । कैयौँ देशमा र नेपालमा पनि पार्टीको उच्च पदमा पुगेका सिसिएम, पिबिएम वा महामन्त्री समेत भएका कैयौँ कम्युनिस्टहरूको पतन भएका थुप्रै उदाहरण पाइन्छन् । त्यही प्रकारको एउटा उदाहरण गोविन्दसिंह थापाले प्रस्तुत गर्नु भएको थियो । त्यस्ता सबै नकारात्मक उदाहरणबाट हामीले शिक्षा लिने प्रयत्न गर्नु पर्दछ । गोविन्दसिंह थापाको उदाहरण हाम्रो नजिकैको र ताजा उदाहरण हो ।
त्यस प्रकारको गोविन्दसिंह थापाको नकारात्मक उदाहरणबाट हामीले शिक्षा लिनु पर्दछ । हामीले कोशिस गर्नु पर्दछ कि त्यस्ता व्यक्ति पार्टीमा नआउन् र पार्टीलाई बारम्बार धोका नदिउन् । कोही त्यस्तो व्यक्ति पार्टीमा आइहाले पनि त्यस्ता व्यक्तिलाई समयमा नै चिन्न हामीमा उच्च प्रकारको सतर्कता हुनुपर्दछ ।
अन्तमा, हामीले क. धनञ्जय र क. शान्ता भुसालप्रति श्रद्धाञ्जली तथा आभार प्रकट गर्दछौँ, जसले आफ्नो सम्पत्ति पार्टीलाई सुम्पिनु भएको थियो । यसका लागि हामीले दुःख प्रकट गर्दछौँ, उहाँको नासोलाई हामीले बचाउन सकेनौँ । तैपनि हामीले यो विश्वास प्रकट गर्दछौँ कि युगदर्शन साप्ताहिकले हाँकको गौरवर्पूण इतिहासलाई अगाडि बढाउने छ ।
मिति ः २०७६ भाद्र १० गते
मोहनविक्रम सिंह
महामन्त्री

source:ehulaki.com