
१० भाद्र २०७६, मंगलवार , अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अरिंगालको टोकाइबाट बालकको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका–५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको ज्यान गएको हो ।
स्थानीय गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्ने बालक सोमबार विहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगई नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो ।
अरिंगालले टोकेपछि नजिकैको एक घरमा गएर बालकले आफूलाई अरिंगालले टोकेको जानकारी गराएका थिए । बालकलाई अरिंगालले टोकेको थाहा पाएपछि स्थानीय पार्वता मुखियाले बालकको घरमा खबर गरेकी थिइन् । त्यसपछि बालकको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
गम्भीर घाइते भएका बालकको अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको निम्ति अन्यत्र लैजानुपर्ने बताइएको थियो । आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसकिएका कारण बालकको ज्यान गएको हो । source:hindukhabar.com