रवि लामिछानेको पक्षमा अर्घाखाँचीमा उर्लियो जनसागर

घनश्याम पौडेल सन्धिखर्क एफएम
अर्घाखाँची, ६ भदौ –

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा चितवनमा रहेका टेलिभिजन पत्रकार रबि लामिछानेको पक्षमा देशभर आन्दोलन चलिरहदाँ अर्घाखाँचीमा पनि आन्दोलन चर्किएको छ । शुक्रबार बेलुका ५ बजे शान्तीबगैँचामा नागरिक समाजको अगुवाईमा भएको ¥यालिमा सयौँ जनमानसको उपस्थित रहेको थियो ।

शान्तिबगैँचाबाट सुरु भएको ¥याली मेनरोड, गुन्टेखोला, बसपार्क, चुत्रावेशी बजार, मिडियाचोक हुदैँ पुनः शान्तिबगैँचामा आई कोणसभामा परिणत भएको हो । प्रदर्शनकारीहरुले न्याय मार्न पाइदैन, भ्रष्ट सरकार चाहिदैन,रबि लामिछानेलाई रिहा गर, पत्रकार पुडासैनीका हत्यारालाई कार्बाही गर जस्ता चर्को नाराबाजी लगाएर बजार परिक्रमा गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाजका शिव बेल्वासेले पत्रकार शालिकराम पुडासैनीका हत्यारा पत्ता लगाई रवि लामिछानेले न्याय पाउँनुपर्ने बताए । उनले हामी कसैको पक्ष र कसैको विपक्षमा भन्दा पनि न्यायको लडाईका लागी आन्दोलनमा होमिएको बताए । अर्घाखाँची जिल्लामा पहिलोपटक रवि लामिछानेको पक्षमा कुनै राजनितिक दल नभनी स्वतर्फुत नागरिकको सहभागिता रहेको हो ।

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भदौ ६, २०७६भद्रपुर – आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उनले जानकारी दिए । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए । source: ehimalayatime रासस 

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आज कृष्णजन्माष्टमी

भदौ ६, २०७६ काठमाडाैं :  भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्।  पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्।  लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ।

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ। कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणहरूमा उल्लेख छ।   मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ। गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सन्देश छ। आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उनको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ। 

नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्‍ने गर्छ। नेपालमा पाटनको कृष्णमन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ।    कृष्ण जन्माष्टमीको महत्व कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।

जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो। जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ। यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ। भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन्।
source :thahakhabar.com

अँध्यारी गौरा, दूर्वाष्टमी पर्व

भदौ ६, २०७६ शुक्रबार काठमाण्डाै – उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।

भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

“यस वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०ः१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिका विज्ञ सदस्यहरूको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो”, उहाँले भन्नुभयो । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महीना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महीनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । 

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताउनुभयो ।

देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । “यो पर्वका लागि भाद्र कृष्ण पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो ।

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागलअर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरूले मनाउने गरेका छन् ।

दूर्वाष्टमी 

दुवोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दूर्वाष्टमी पनि भनिन्छ । दुवो जसरी फैलिन्छ त्यसरी नै सन्तान दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ ।

सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दूर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुवोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि गौतमले बताउनुभयो । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुवोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन दुवो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ ।

यो दिनमा सूदुरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । काठमाण्डाैको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासी मनोरञ्जन गर्दछन् । source:ujyaaloonline