
घनश्याम पौडेल
अर्घाखाँची, २० साउन – बिहान ५ बजे उठेर भैसीको स्याहार सुसारमा व्यस्त हुन्छन्, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ६ जगतका कृष्णबहादुर आचार्य । बिहानको समयमा घरमा पालेका उन्नत जातका दुई भैसीको दुध विक्री गर्न मोटरसाईकलमा लिएर नरपानी बजारमा पुग्छन् ।
बिहानको समयमा दुध विक्री गर्नु उनको दैनिकी हो । २०७४ असारमा भएको स्थानिय तहको निर्वाचनमा काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी समेत भएका आचार्य समाज सेवामा सक्रिय छन् । दिनभर जनताको काममा व्यस्त हुने आचार्यको बारीमा काउली, गोभी, सिमी, ट्माटर, बन्दा, आलु, ब्रोकाउली, साग लगाएतका तरकारी खेती गर्दै आएका छन् ।
उनले अहिले हप्तामा १ क्वुईन्टल गोभी उत्पादन गर्छन । प्रतिकिलो ८० रुपैँयामा सदरमुकाम सन्धिखर्कका तरकारी पसलमा विक्री गर्छन । आचार्यले मासिक दुधबाट मात्रै ३० हजार आम्दानी गर्छन । वडा कार्यालयमा जागीर माग्न आएका युवाहरुलाई तरकारी खेतीमा लाग्न प्रेरीत गर्छन ।
‘गाउँमै तरकारी खेतीमा लाग्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ, ५०/६० हजार रुपैँया आम्दानी गर्नका लागी विदेश जानुपदैँन, सरकारी कर्मचारीले कमाउँने रुपैँया गाउँमै आम्दानी गर्छु, आचार्यले सुनाए । नरपानी जगतका गुणनिधि न्यौपानेले पनि तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । दिनभर शिक्षण पेशामा व्यस्त हुने न्यौँपाने बेलुका, बिहान तरकारी विक्री गर्न सन्धिखर्क पुग्छन् । शिक्षण पेशासँगै तरकारीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

तरकारी खेतीमा लागी उपयुक्त मानिएको नरपानी, जगतका अधिकांश घरमा टनेलमा व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । नरपानीका करिब १२० घरधुरी व्यवसायीक तरकारी खेती, पशुपालनमा लागेका छन्, वडा अध्यक्ष आचार्यले भने । नरपानी धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले पनि उत्पादन गरेको तरकारी, दुध, फलफुल विक्री गर्नका लागी गाहृो छैन । यहाँका बासिन्दाहरुले फुल, टिमुर, काफल विक्री गरेर घरखर्च चलाएका छन् ।

अर्घाखाँची जिल्ला पछिल्लो समयमा कृषि तथा पशुपालन व्यवसायमा लाग्ने कृषकहरुको संख्या बढ्दै गएको छ । न्युनतम ५० हजार देखी १५ लाख वार्षिक आम्दानी गर्ने कृषकहरु सयौँ रहेका छन् । स्थानिय सरकारले पनि कृषिमा अनुदान बढाएको छ । प्राथमिकतामा कृषि र पशुपालन राखेका छन् । प्रविधिको विकास सँगै कृषकहरुलाई हाते ट्याक्टर अनुदानमा वितरण गरेका छन् । जिल्लाका ६ वटै स्थानिय सरकारले हाते ट्याक्टर वितरण गरेका छन् । हाते ट्याक्टर पाएसँगै कृषकहरु खुसीभएका छन् । हाते ट्याक्टरले जोत्न छिटो छरितो हुनाले पनि कृषकहरु प्रविधिमा आकर्षित भएका छन् । source:hindukhabar.com
