सिंगापुरसँग नेपाल पराजित, टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरै,नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्किँदै, सन्दीप र सोमपाल भने नआउने

unn.prixa.net

साउन १२, २०७६- आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको ट्वान्टी–२० विश्वकप सपना यो संस्करणका लागि समाप्त भएको छ । 

सिंगापुर प्रस्थान गर्नुअघि नेपाल उपाधिको प्रमुख दावेदार थियो । नहोस पनि किन आईसीसी वरीयतामा ११ औं स्थानमा थियो । बाँकी सबै निकै तल थिए । तर पहिलो खेलमै २१ औं वरीयताको कतारसँग पराजित भएपछि नेपाली टोली नराम्रोसँग झस्कियो ।

त्यसपछिका बाँकी २ खेलमा ३५ औं वरीयताको मलेसिया र २८ औं वरीयताको कुवेतलाई नेपालले सजिलै हरायो । घरेलु टोली सिंगापुरविरुद्धको खेलमा पराजित भएपछि नेपाली खेलाडीका लागि बिर्सनलायक प्रतियोगिताको अनुभव रह्यो ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकप खेलेको थियो । दोस्रोपल्ट विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले एसियाली छनोट नै पार गर्न सकेन । सिंगापुरले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायर खेल्ने भएको छ ।

फाइनलसरह रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरबिरुद्ध नेपाली बलरहरु प्रभावहीन रहे । अविनाश बोहोराले अन्तिम ओभरतिर ४ विकेट झारे पनि अन्य सबै महंगा बने । सुपरस्टार स्पिनर सन्दीप लामिछाने र बसन्त रेग्मीले ४ ओभरमा ५० रन खाए ।

सिंगापुरले सुरुआतदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । दोस्रो ओभरमा ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई गुमाए पनि त्यसपछि आएका तिमोथी डेविडले अर्का ओपनर रोहन रंगराजनसँग मिलेर दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । १०.४ ओभरमा रंगराजनलाई अविनाश बोहोराले ४९ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।

चौथो नम्बरमा ब्याटिङमा आएका मनप्रित सिंहसँग मिलेर डेविडले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । डेविडले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाए । बने मनप्रितले २७ बलमा ४२ रन जोडे । सिंगापुरले अन्तिम ३ ओभरमा ४ विकेट गुमाएको थियो । नेपालका लागि अविनाशले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट झारे ।

विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले २७ रनको साझेदारी गरेका थिए । सिंगापुरका कप्तान अम्जाद मेहवुवको बलमा ठूलो शट प्रहार गर्न खोज्दा पारस मिडअन क्षेत्रमा क्याच आउट भएका हुन् । उनले १० बलमा १ चौका र १ छक्कासहित १२ रन जोडे । त्यसपछि आएका शरद भेषावकरसँग मिलेर ज्ञानेन्द्रले थप २७ रनको साझेदारी गरे । सेलाडोर विजयकुमारको बलमा बोल्ड हुनुअघि ज्ञानेन्द्रले २१ बलमा ३९ रन जोडे ।

नेपालले सातौं, आठौं र नवौं ओभरमा लगातार विकेट गुमायो । ज्ञानेन्द्र आउट भएको अर्को ओभरमा अनन्था कृष्णाले शरद भेषावकरलाई आउट गराए । उनले ११ बलमा ७ रनमात्र बनाउन सके । यू१९ कप्तान रोहित कुमार पौडेललाई विजयकुमारले ५ रनको ब्यक्तिगत स्कोरमा कट एन्ड बोल्ड गरे ।
विजयकुमारले ११ औं ओभरमा २ विकेट झारे । १०.२ ओभरमा विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी ९ रनको स्कोरमा आउट गराएका उनले १०.४ ओभरमा करण केसीलाई पनि पेविलियनको बाटो देखाए । करणले खाता खोल्नै सकेनन् ।

१३.२ ओभरमा सोमपाल कामी दुर्भाग्यबस रनआउटको शिकार हुँदा नेपाल १००–७ को नाजुक स्थितिमा पुग्यो । त्यही ओभरको पाँचौं बलमा सन्दीप लामिछाने पनि आउट भए । १५ औं ओभरको पाँचौं बलमा दीपेन्द्र सिंह ऐरी २२ रनको स्कोरमा आउट भएपछि नेपालको झिनो आशा पनि समाप्त भयो । नेपाल १५ ओभरमा १०९ रनमै अलआउट भयो ।

यसैबिच विश्वकप क्रिकेट एशिया क्षेत्रीय छनोटको फाइनल खेल्न सिंगापुर गएको नेपाली राष्ट्रिय टोली सोमबार स्वदेश फर्कने भएको छ। प्रतियोगिताको अन्तिम खेलमा आयोजक सिंगापुरसँग पराजित भएको टोली सोमबार राति साढे १० बजे मलेसियन एयरबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो। टोलीका सदस्य सन्दीप लामिछाने र सोमपाल कामी भने नेपाल फर्किने छैनन्। उनीहरू ग्लोबल टि ट्वाइन्टी क्यानडा लिग क्रिकेट खेल्न सिधै क्यानडा जानेछन्। उनीहरू सोमबार बिहान साढे ८ बजे टोरन्टो क्यानडा पुग्नेछन्। सोमबार हुने खेलका लागि नै उनीहरू त्यहाँ पुग्ने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

Advertisement

एनएमबीद्वारा १० प्रतिशत लाभांश दिने घोषणा

साउन १२, २०७६ काठमाडौं : एनएमबी बैंकले पूँजी बजारका लागि संचालन गरेका दुई वटा योजनाले १० प्रतिशतमाथि लाभांश दिने भएको छ। पूँजी बजारमा खासै उत्साह नदेखिएका बेला एनएमबी बैंकले आफ्नो म्युचुअल फण्डअन्तर्गत संचालित ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ को मुनाफाबाट ईकाई धनीलाई १० प्रतिशतमाथि लाभांश वितरण गर्ने घोषणा गरेको हो।

आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ का ईकाई धनीलाई १५ प्रतिशत र ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ का ईकाई धनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिए। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो घोषणा आगामी कार्तिक ३ गते लागू गरिने पनि जानकारी गराइएको छ। ७५ करोड रहेको ‘एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१’ ५ वर्षे योजना हो।

त्यसैगरी, ‘एनएमबी हाईब्रीड फण्ड एल–१’ ले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। एनएमबी क्यापिटलले प्रवर्द्धन गरेको यी दुई सामूहिक योजना सातवर्षे योजना हो। दुवै योजनाको पूँजीको आकार १ अर्ब रहेको छ।
source:thahakhabar

स्कुल विभागमा अड्कियो नेकपा, दुई अध्यक्षसँग तीनवटा विकल्प-सचिवालय सोमबार बस्ने

साउन १२, २०७६ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर देखिएको विवाद लम्बिएको छ । स्कुल विभागमा कुरो नमिलेपछि नेकपाको आइतवार बस्ने भनिएको सविचलाय बैठक सोमबार दिउँसो ३ बजेसम्मका लागि सरेको छ।  स्कुल विभागमा देखिएको विवाद र पार्टी एकतामा देखिएको गतिरोध मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्ड शनिबार र आइतवार दुई दिन लगातर छलफलमा जुटे।  दुई अध्यक्षको छलफल निचोडमा नपुगेपछि सचिवालय बैठक पनि सोमबारसम्मका लागि सरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षबीचको छलफल निर्णयमा नपुगेपछि सचिवालय बैठक सरेको हो। 

स्कुल विभागका तीन विकल्प

तत्कालीन नेकपा एमालेका नेता इश्वर पोखरेल र तत्कालीन केकपा माओवादी (केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले दाबी गरेपछि स्कुल विभागको विवाद बढेको हो। दुई नेताले आफ्नो बलियो दाबेदारी प्रस्तुतत गरेपछि नेकपाका ३२ विभागमध्ये सबैभन्दा अफ्ठेरो गाँठो यसमै परेको हो।

यस्ता छन् तीन विकल्प

नेकपाले स्कुल विभागमा देखिएको विवाद मिलाउन तीनवटा विकल्पमा छलफल गरिरहेको छ। दुई अध्यक्षले स्कुल विभागबारे तीन विकल्पमा छलफल गरेका हुन् । जसमा यो विभागलाई आफैँले राख्ने, अर्को विकल्पमा विभाग साटेर इश्वर पोखरेललाई दिने र तेस्रो विकल्पमा दुईजना नेतालाई नदिएर तेस्रोलाई दिने गरी छलफल भइरहेको छ ।  यी विकल्पमध्ये यसअघि दुई नेतालाई छाडेर स्कुल विभाग वरिष्ठ नेता झलनाथ खनाललाई दिनेबारे दुई अध्यक्षबीच छलफल भएको थियो । तर त्यसमा पनि निचोड निस्किएन।

एक नेताका अनुसार यी तीनमध्ये उयुक्त एउटा विकल्पमा सहमति निकालेपछि सोमबार नेकपा सचिवालयको बैठक बस्नेछ। ‘स्कुल विभागमा देखिएको विवादको आजसम्म दुई अध्यक्षले टुंगो लगाउने छन्’, तीन नेताले भने, ‘त्यसपछि भोली दिउँसो सचिवालय बैठक बसेर यसको टुंगो लगाउन सक्छ।
source:thahakhabar