भोजपुर घटनाबारे विप्लवको प्रतिक्रिया : प्रहरीको प्रतिरोध गर्दा मारिए प्रशान्त – तीर्थराजको हत्यामा सञ्‍जीवसहितका प्रहरीको हात

असार २६, २०७६ काठमाडौं :  बुधबार बिहान भोजपुर सदरमुकाम प्रहरी र आफ्ना एक कार्यकर्ता मारिने गरी भएको भिडन्ताबारेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो धारणा सार्वजनिक गरेको छ। नेकपाको सगरमाथा ब्युरो इन्चार्ज अधिकारले विज्ञप्ती जारी गर्दै घटनाबारेमा धारणा सार्वजनिक गरेका हुन्।

 इन्चार्ज अधिकारले प्रहरी जवान सञ्जीव राईको टोलीले नै जेठ ५ गते भोजपुरको ट्याम्के-मैयुङ गाउँपालिकाको धोद्रेमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे हत्या गरेको आरोप लगाएका छन्।  अहिले पनि सुरक्षाकर्मीमाथि आक्रमण नगर्ने पार्टी नीति रहेको जिकिर गर्दै उनले पार्टीको त्यही सदासयतालाई सरकारले कम्जोरी ठानेर आफ्ना कार्यकर्तामाथि एकपछि अर्को आक्रमण गरिरहेको दाबी गरेका छन्। सरकारले देशलाई भिडन्ततिर धकेलिरहेको आरोपसमेत विप्लव नेतृत्वको नेकपाले लगाएको छ।

‘यतिबेला सामाजिक फासिवादी जन हत्यारो केपी–पिके सरकार एकपछि अर्को गर्दै नागरिक हत्यामा उत्रिएको छ। भोजपुरका कमरेड तीर्थराज घिमिरेलाई गत जेठ ७ गते भोजपुर ट्याम्के-मैयुङ गाउँपालिका-२, दलसिंगेस्थित बाटो हिडिरहेका बेला गिरफ्तार गरी चरम यातना दिई हत्या गर्नेमध्येका सञ्जीव राई र उनको टोली थियो’, अधिकारले भनेका छन्, ‘त्यही टोलीसँग असार २५ गते हाम्रो पार्टी सगरमाथा ब्युरो सदस्य एवंम् ओखलढुङ्गा जिल्ला सेक्रेटरी नीरकुमार राई ‘प्रशान्त’ भोजपुर सदरमुकामका परिवारसँग भेटेर फर्कने क्रममा जम्काभेट हुँदा प्रतिरोध गर्ने क्रममा प्रशान्तको शाहदत भएको छ।’

अधिकारले भोजपुर घटनापछि बदलाभावका साथ मैदानमा उत्रिन पनि आग्रह गरेका छन्। ‘यस स्थितिमा हाम्रो पार्टी उंहाको परिवारजन, पार्टी पंक्तिका सम्पूर्ण कमरेडलाई शोकलाई शक्तिमा बदल्न र बदलाभावकासाथ मैदानमा खट्न आग्रह गर्दछ’, उनले भनेका छन्, ‘देश र जनताको निम्ति निरन्तर संघर्षमा डटिरहनु भएका कमरेड प्रशान्तलाई सहिद घोसणा गर्दै उहाँको सपना खेर जान नदिने प्रण गर्दछौं ।’

source:thahakhabar

भारतलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटकाे फाइनलमा

 असार २५, २०७६ बुधबार –

unn.prixa.net

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाएपछि खेलमा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित भएको थियो ।

बुधबार न्यूजिल्याण्डले २८ रन बनाउँदा तीन विकेट गुमायो । न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियम्सनले ६७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाहलले एक-एक विकेट लिए ।

२४० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ३ बलमा अलआउट हुँदा २२१ रनमा अलआउट भयाे । भारतका टप अर्डका खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली १–१ रन बनाएर आउट हुँदा पाँच रनको अवस्थामा भारतले तीन विकेट गुमाइसकेको थियो ।

दिनेश कार्तिक पनि ६ रन बनाएर आउट भए । ऋषभ पन्त र हार्दिक पाण्ड्याले ३२–३२ रन जोडे । ९२ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले ११६ रनको शतकीय साझेदारी गरेपछि भारतको जितको आशा जागेको थियो । तर, जडेजा ७७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा केन विलियमसनबाट क्याचआउट हुँदा भारतले २०८ रनमा सातौं विकेट गुमाएको थियो ।

धोनीले ५० रनको अर्धशतकीय योगदान दिए पनि खेल जिताउन सकेनन् ।

बलिङतर्फ म्याट हेनरीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २–२ विकेट लिए ।

source:ujyaaloonline