
श्याम घिमिरे कात्तिक ७, अर्घाखाँची :
नेपाल सरकारका पुर्ब उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघियता सफल भएमा देशकै अस्तित्व समाप्त हुने बताउनु भएको छ । संसदमा संघियताको बिषयमानै छलफल नगरी जबर्जस्ती रुपमा ल्याइएको संघियताले देशको अस्तित्वनै समाप्त हुने भन्दै नेता केसीले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नका लागि विस्तारवादी शक्तिहरुकोे डिजाईनमा संघियता भित्राइएको बताउनु भएको हो ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा बुधबार कोजागर्त पूर्णिमाको अवसर पारेर अर्घाको रानीगैरामा सम्पन्न गरीएको विशाल जनसभा तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै अध्यक्ष केसीले यस्तो बताउनु भएको हो । कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघियता आएको दाबी गर्दै अध्यक्ष केसीले मुलुकमा संघियता टिके नेपाल रहन नसक्ने जिकिर समेत गर्नु भयो ।
बिदेशी दात्रीराष्ट्रबाट रिन खोजेर चलेको देशलाई संघियताले धान्न नसक्ने भन्दै केसीले पछिल्लो समय संघियता नेताहरुको लागी घाँटीमा अड्किएको हाडजस्तै भएको दाबी गर्नुभयो । अहिलेको सरकार ठेकेदार र माफीयाहरुको फन्दामा परेकोले सरकारले कुनैपनि काम गर्न नसक्ने बताउदै अध्यक्ष केसीले सबै कुराको समाधानको लागी देशमा नयाँजनबादी क्रान्तीको आबस्यकता रहेको बताउनु भयो । महंगी भ्रष्टचार र बलात्कार नियन्त्रण गर्न नसक्ने सरकारबाट जनताले केही आशा गर्न नसकिने भन्दै अहिलेको सरकार कम्युनिष्टको नभएको दाबी पनि गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता,उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्य र सचिव बाबुराम पन्थी सुनारको संचालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरवराज रेग्मी,राष्ट्रिय जनमोर्चा प्रदेश नम्बर ५ का सदस्य शेर बहादुर बिसी, राजमो नेता सागर केसी,अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कुलराज खनाल,अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुँवर लगायतका बक्ताहरुले मनतब्य राख्नु भएको हो ।

अर्घाखाँची सहित छिमेकी जिल्ला प्युठान,गुल्मी,कपिलवस्तु,रुपन्देही,पाल्पा लगायतका स्थानबाट हजारौं दर्शकहरुको सहभागिता रहेको कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्र तथा जिल्लाका कलाकारहरूले विविध जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि दर्शकलाई भरपुर मनोरन्जन समेत प्रदान गरेका थिए ।
राष्ट्रिय जनमोर्चाले देशको समसामयिक राष्ट्रिय परिस्थिति र पार्टिको कार्यक्रम तथा धारणा सार्वजनिक गर्ने माध्यमको रुपमा पञ्चायती ब्यबस्था देखी हालसम्म निरन्तर अर्घाको रानीगैरामा गर्दै आइरहेको यो जनसभाले राष्ट्रिय स्तरमै महत्व राख्ने गरेको छ । यसैबिच बुधबारनै अर्घा भगबति मन्दीरमा सरायनाच समेत सम्पन्न भएको छ ।


