जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा बजार अनुगमन

सागर महत असोज  २४ अर्घाखाँची :जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको आयोजनामा चाडपर्वलाई मध्य नजर गर्दे बुधबार छत्रदेव गाउँपालिकाका विभिन्न वडाहरुमामा बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा कुनै पनि पसलमा मुल्य सुची नभएको पाईएको बताईएको छ । सोही अवसरमा म्याद सकिएका सामान लाई जफत समेत गरिएको थियो । पसलमा मुल्यसुची बोर्ड, म्याद सकिएका सामान राख्ने दर्ता नगरि पसल सन्चालन गरेका ब्यापारीलाई सुदृढ गर्नको लागि केही समय उपलब्ध गराएको छ । सोही समयमा प्रक्रिया अगाडी नबडाउनेलाई कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनु भयो ।

अनुगमनमा सहायक प्रजिअ बिष्णुराज बेल्बासे, कोष तथा लेखा नियन्त्रणका गिरी पौडेल, सुरक्षाका निकायका राम बिक, छत्रदेव गाउँपालिकाका सरोज भुसाल, पत्रकार सागर महत लगायतको सहभागीता रहेको थियो ।

Advertisement

मालारानी ४ खनमा शैक्षिक तथा धार्मिक महोत्सब सुरु


श्याम घिमिरे असोज, २४ अर्घाखाँची :
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वडानम्बर ४ खनमा बुधबार देखी मालारानी शैक्षिक तथा धार्मिक महोत्सब सुरु भएको छ । महोत्सबको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले पानसमा दिप प्रज्वलनगरी उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै सदस्य खड्काले देशमा पछील्लो समय बिकृति बिसंगति बढ्दै गएकोले यसलाई नैतिक शिक्षाको माध्ययमबाट सुधारगर्नुपर्ने बताए । धार्मिक नैतिकताको माध्यमबाट ब्यक्तिको आचरण सुधारगरी देश निर्माणमा अघिबढ्नुपर्ने भन्दै खड्काले महोत्सब सफल बनाउन कुनै कसुर बाँकी नराख्ने समेत बताए ।

महोत्सब आयोजक समितिका अध्यक्ष गंगाराम खनालको अध्यक्षता कृष्णप्रसाद खनालको स्वागत मनतब्य र सचिब लिलबहादुर बिकको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला न्यायाधिश रामचन्द्र पौडेल,छत्रदेब गाउँपालीका प्रमुख लेखनाथ पोख्रेल,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,मालारानी गाउँपालीका प्रमुख बालकृष्ण आचार्य,धार्मिक महोत्सबका निर्देशक एवं नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कान,नेकपा प्रतिनिधि जनार्जन खनाल,अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लगायतले मनतब्य राख्दै महोत्सब सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कालीका नेरा माबिमा प्राबिधिक शिक्षा तथा सुबिधा सम्पन्न स्मार्ट बिद्यालय सन्चालनार्थ शैक्षीक तथा धार्मिक महोत्सबको आयोजना गरीएको आयोजकले जनाएको छ । बि.स २०१६ मा स्थापना भएको बिद्यालयमा अहिले कक्षा १२ सम्म शिक्षा र व्यबस्थापन तर्फ पठन पाठन हुने गरेको छ । राष्ट्र शान्ति अभियानले ८ दिन सम्म सन्चालन गर्ने महोत्सबमा उठेको रकम बिद्यालयलाई हस्तान्तरण गर्ने अभियानका प्रमुख ईश्वर शरण महाराजले बताए । महोत्सबमा कथा प्रबचन , भजनकृतन, चौरासी पुजा ,तुला दान ,बिबाह ,बर्तबन्ध ,ग्रह शान्ति लगायतका कार्य गरिने आयोजकले जनाएको छ । सहोत्सब अबधिभर कथा बाचक पण्डीत नरेश नेपालले प्रबचन दिने बताईएको छ ।

आजदेखि दसै सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम

 

असोज २४,काठमाडौं – हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । 

आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ  रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । 

जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । 

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ । 

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ । 

नवरात्रमा नवदुर्गाको पूजा 

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । 

“दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”–धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भन्नुभयो । 

दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । 

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । 

नवरात्र भनेर समेत चिनिने विजया दशमीसम्मको १० दिनमा यस वर्ष तिथिको घटवढ नरहेकाले नौ रात्रीकै छ । तिथिको घटबढ भएका वर्ष नवरात्र र १० दिनको समयमा फरक पर्छ । 

टीकाको साइत कात्तिक २ गते बिहान ९ : ५१ मा 

आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ । 

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । 

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ । 

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर चाड मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ । 

आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने यस वर्ष कटौती गरिएको छ । यस वर्ष दसैँको बिदा पनि असोज ३० गते फूलपातीदेखि कात्तिक ३ गते एकादशीसम्म दिइएको छ । source:ujyaaloonline