भदौ २४, २०७५ काठमाडौं : चान्द्रमानअनुसार भाद्र कृष्ण औँसी तिथि अर्थात् अाइतबार कुशेऔँसी पर्व मनाइँदैछ। देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ। यो दिन बिहानै पुरोहितले मन्त्रोच्चारणपूर्वक काटेको कुश यजमानका घरमा लग्ने चलन छ।
कुशलाई पवित्र स्थानमा राखिन्छ। यसरी राखिएको कुशले वर्षभर घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ। यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। कुशको प्रयोग आयुर्वेदमा समेत हुन्छ। लौकिक चलनअनुसार आज छोराछोरीले मीठामीठा खानेकुरासहित बुबाको मुख हेर्ने गर्छन्।
हुन त एकदिन मुख हेरेर छोराछोरीको कर्तव्य पूरा नहुने बताइन्छ। काम विशेषले टाढा रहेका छोराछारीले बुबासँग भेट्ने दिनका रूपमा भने यसको महत्त्व रहेको पुराणविद् पं.बालमुकुन्द देवकोटा बताउँछन्। पिता नभएकाहरूले उनको स्मृतिमा श्राद्ध गर्ने परम्परा छ। भाद्र कृष्ण औँसीमा तीर्थमा श्राद्ध गर्ने चलन पनि छ। काठमाडौंको गोकर्ण यो दिन श्राद्ध गर्नेको गन्तव्य बन्छ। यसै दिन युवाकवि मोतिराम भट्टको जन्मजयन्ती पर्छ।