श्याम घिमिरे भाद्र २४ अर्घाखाँची :
राष्ट्रीय जनमोर्चा निकट जातीय समता समाज जिल्ला समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत आईतबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएको छ ।
कुल जनसंख्याको करिब २० प्रतिशत जनसंख्या रहेको नेपालको दलित समुदाय देशको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक विकासमा उल्लेखनीय भूमिका रहँदै आएको तर देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनाको एक दशक पुगिसक्दापनि दलित समुदाय माथिको भेदभाव, छुवाछूत, ज्यादती, उत्पीडन र शोषणका साथै कतिपय स्थानहरुमा पंचायतकालिन समाजमा जस्तो व्यवहार देखापरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । समाजमा देखिने यसप्रकारका व्यवहारका कारण दलित समुदायले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको अनुभूति प्राप्त गर्न नसकेको ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।
परिवर्तित राजनीतिक तथा आर्थिक–सामाजिक परिवेशमा दलित समुदायको सामाजिक जीवनमा सुधार हुनु आवश्यक रहेको भन्दै जातीय समता समाजका तर्फबाट दलित समुदायका विद्यमान समस्याहरु तत्काल समाधानका लागि ज्ञापनपत्र मार्फत आग्रह गरीएको छ ।
२०६८ को जातीय विभेद विरुद्धको कानुनले दलितहरुमाथि हुने छुवाछूत लगायतका भेदभाव गर्नेलाई कडा सजायको व्यवस्था गरेको भएपनी त्यसो हुननसक्नु दुर्भाग्य रहेको समता समाजले जनाएको छ ।
भूमिहीन दलितहरुलाई एक पटक जमिन दिन संविधानको प्रावधान अनुसार व्यवस्थापिका संसदमा विधेयक प्रस्तुत गरेको स्वागतयोग्य काम भएपनी जमिन दिने प्रश्नलाई निरपेक्ष ढंगबाट हेरिनु दुखत रहेको बताईएको छ ।
यस्तै ज्ञापन पत्रमा दलितहरुको मात्र प्रतिस्पर्धा हुने गरी सुरक्षित निर्वाचन क्षेत्रको संवैधानिक व्यवस्था गर्नुपर्ने, राज्यका सम्पूर्ण क्षेत्र, अंग र निकायहरुमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने, सेना, प्रहरी लगायतका सम्पूर्ण क्षेत्रमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वका अतिरिक्त क्षतिपूर्ति वापत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने लगायतका मागहरु राखेर ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जायज मागहरुलाई राज्यले सम्बोधन गर्ने भन्दै आफुले ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनु भएको थियो । ज्ञापनपत्र बुझाउन जातिय समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली, उपाध्यक्ष चेत बहादुर बिक,सदस्यहरु पिताम्बर सुनार, कर्णबहादुर परीयार तारा नेपाली लगायतको प्रतिनिधि मण्डलको सहभागीता रहेको थियो ।