ओली र प्रचण्ड जनकपुरधाम आउँदै, प्रदेशसभामा सम्बोधन गर्ने

भदौ २, २०७५ जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनकपुरधाम आउँदैछन्।  नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पहिला पटक सँगै जनकपुरधाम आउने भएका हुन्।

उनीहरु बिहान ११ बजे हेलिकप्टरबाट जनकपुर विमानस्थल ओर्लिने र त्यहाँबाट सोझै प्रदेशसभा पुगेर सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ। प्रदेशसभा सम्बोधनपछि ओली र प्रचण्ड धनुषाको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको नेकपा प्रदेश सांसद रामचन्द्र मण्डलले जानकारी दिए। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डलाई जनकपुर विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र दलका नेताहरुले स्वागत गर्ने कार्यक्रम छ।

यसैगरी प्रदेशसभामा सभामुख सरोजकुमार यादव र उपसभामुख उपमा देवले स्वागत गर्नेछन्।  प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि आउने प्रदेश सांसद मण्डलले जानकारी दिए।