साउन ३० काठमाडौं – बागमती नदीमा आएको बाढीका कारण काठमाडौंको तीनकुनेस्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ। मंगलबार राति आएको भीषण वर्षाका कारण आएको बाढीले बागमती नदी किनारमा रहेका ३३० घर डुबानमा पारेको हो ।घर तथा टहरामा चार पाँच फिटसम्म पानी जमेको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ।
स्थानीयका अनुसार, रातिको बर्षासँगै बागमतीमा ठूलो बाढी आएको थियो । अहिले बाढीको सतह घट्दै गएको छ । यसैबीच, अनामनगर र आसपासको क्षेत्र धोवीखोलाको बाढीले डुबानमा परेको छ। त्यस क्षेत्रका सयौं घर डुबानमा परेका छन् । दर्जनौ घरपरिवार विस्तापित भएका छन् । केही पसल समेत डुबानमा परेकाले लाखौं क्षति भएको व्यवसायीले बताएका छन् ।
खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको फोहोर सफा नगर्ने कारण हरेक बर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गर्छ ।त्यस्तै बुढानिलकण्ठ नगरपालिका १३ नयाँबस्ती दोभानस्थित चियाने खोलामा रहेको कच्ची पुल आसपासको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ। २०÷२५ घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
गौशालामा रहेको गंगाहिटी तरकारी बजार पनि डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । बाढीबाट सिनामंगलमा रहेको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ । कालोपुल आसपासको क्षेत्र र गुहेश्वरी क्षेत्र समेत डुबानमा परेको प्रहरीले जनाएको छ। source:ratopati.com