राष्ट्रिय जनमोर्चामै छौ

गोपाल भट्टराई साउन २३ अर्घाखाँची

केही दिन अगाडि राष्ट्रिय जनमोर्चा परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरे भनिएका केही ब्यक्तिले आफुहरु राजमोकै कार्यकर्ता भएको बताएका छन् । नेकपाले खांचिकोटमा आयोजना गरेको सभाको कार्यक्रममा आफुहरु सहभागि भएपनि आफुहरु नेकपाको कार्यकर्ता नभएको उनिहरुले स्पष्ट पारेका हुन् ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बुधबार खांचिकोटमा सम्पन्न गरेको एक कार्यक्रममा बोल्दै उक्त समुहले राजमो जस्तो देश र जनताको पक्षमा लड्ने पार्टीलाई आफुहरुले छोड्न नसक्ने जिकिर गरेको त्यहांबाट राजमो खांचिकोटका अध्यक्ष दिलदार हुसेनले जानकारी दिनुभएको छ । बुधबार सम्पन्न भएको कार्यक्रममा राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.,सचिव बाबुराम सुनार,कोषाध्यक्ष यमलाल पोख्रेल,सचिवालय सदस्य गोविन्द वि.सी. लगायतको सहभागिता रहेको राष्ट्रिय जनमोर्चा खांचिकोटले  जनाएको छ ।

बिम्स्टेक सम्मेलन तयारीमा जुट्यो महानगर, तार व्यवस्थापन सडक मर्मत गरिदै

साउन २४, २०७५ काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक छेउमा अव्यवस्थित रूपमा छरिएर रहेका तार व्यवस्थापन तथा मुख्य सडक मर्मतको काम थालेको छ।  आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनका लागि शहरलाई सुन्दर बनाउन पछिल्लो समय कामपाले उक्त कार्यलाई तीव्रता दिएको हो।

अव्यवस्थित रूपमा विभिन्न निकायले राखेका तारले शहरको सौन्दर्य बिगारेको छ, त्यसैले ती सबै तार हटाउन लागिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले बताए। उनका अनुसार विभिन्न निकायले यत्रतत्र तार छरेर शहरलाई कुरुप बनाएका थिए, अब ती सबै हटाइन्छ र व्यवस्थित रूपमा टाँगिएको तार मात्र राखिने गरी काम अघि बढिरहेको छ। पुतलीसडक, प्रदर्शनीमार्ग, लौनचौर, सोल्टी होटल जाने बाटो, राष्ट्रपति कार्यालय वरपरका स्थानका तार व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ।  महानगरले यो काम गत मंसिरबाटै शुरु गरेको बताएपनि सम्मेलनलाई मध्येनजर गरेर तिव्रता दिएको हो।

अहिलेसम्ममा मिनी टाटाको ६५ टिप तार जम्मा भइसकेको छ। सङकलित तारमा सबैभन्दा बढी इन्टरनेट केबल सेवा प्रदायकका तार र टेलिफोनका तार छन्।  सुरक्षाको दृष्टिले जोखिम बनेका, भुइँमा लतारिएका, प्रयोग नगरिएका तारले थप समस्या निम्त्याउने भएकाले तिनको व्यवस्थापन गर्नु अत्यावश्यक भएको र शहर सुन्दर देखाउनका लागि व्यवस्थापनको काम अघि बढाइएको बताइएको छ।

धुलो सङ्कलन गर्ने, गैरकानूनी रूपले फोहर फाल्नेलाई निगरानी गर्ने, सडक विस्तारका क्रममा छरपष्ट भएका तार बटुल्ने, अव्यवस्थित तार आफैँ काट्ने वा सम्बन्धित निकायले काटेका तार व्यवस्थापन गर्ने कार्य विभागको नियमित काम भएको छ।  वडा  १६ का अध्यक्ष मुकुन्द रिजालका अनुसार धेरैजसो बिजुलीको खम्बाका टेलिफोनको तार काटिएको छ।

साथै महानगरले काठमाडौंमा विग्रिएको सडक मर्मतमा पनि जुटेको छ। असार अन्तिम साता मर्मत गरिएको सडक पनि बिग्रेपछि मुख्य सडक निमार्णमा महानगर जुटेको हो। मंगलबार नयाँ बानेश्‍वरमा सडक मर्मत गरिदै। सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन्। सन् २००४ मा नेपालले बिम्स्टेकको सदस्यता पाएको हो । बिम्स्टेकको यसअघिको सम्मेलन सन् २००४ मा थाइल्यान्डमा, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यानमारमा भएको थियो।
source:thahakhabar.com

‘प्रकाण्ड’को गिरफ्तारीले सत्तारूढ पार्टीभित्रै हलचल

साउन २४, २०७५ काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र हलचल ल्याइदिएको छ। खास गरी पूर्वमाओवादी समूह आफ्ना पूर्वसहयात्री नेता ‘प्रकाण्ड’को गिरफ्तारीले तरंगित बनेका हुन्। उनीहरूले ‘प्रकाण्ड’लाई पक्राउ गरेकोमा सरकारको विरोध गर्दै रिहाइको माग गर्न थालेका छन्। यस्तो गर्नेमा सत्तारूढ नेकपाका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तासम्म छन्।

सत्तारूढ नेकपाका नेता एवं पूर्वमन्त्री धनिराम पौडेलले ‘प्रकाण्ड’को गिरफ्तारीलाई निन्दनीय भन्दै बिनासर्त रिहा गर्न माग गरेका छन्। उनले ‘प्रकाण्ड’लाई हत्कडी लगाइएकोमा आपत्ति जनाउँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रश्नसमेत गरेका छन्। ‘बादल गृहमन्त्री! प्रकाण्डको हातमा हत्कडी?’ पौडेल आफ्नो फेसबुकमा लेख्छन्, ‘यो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला?

पूर्वमन्त्री पौडेलले ‘प्रकाण्ड’को गिरफ्तारी समय र सन्दर्भ सबै किसिमले निन्दनीय भएको टिप्पणी गरेका छन्। उनले ‘प्रकाण्ड’माथि लगाइएको आरोपप्रति पनि प्रश्न उठाएका छन्। उनले ‘प्रकाण्ड’माथिका आरोप प्रतिशोधपूर्ण रहेको भनेका छन्। ‘वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो’ पौडेल लेख्छन् ‘प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन।

प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन्, न त उनको पार्टीले ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो।’ तर ‘प्रकाण्ड’को पार्टीले लिएको नीतिमाथि भने उनले शंका गरेका छन्। र, पनि त्यो राजनीतिक विषय भएको उनको निष्कर्ष छ। ‘नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ। त्यो राजनैतिक समस्या हो। राजनीतिक रूपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ’ पौडेल अगाडि लेख्छन, ‘अतः क. प्रकाण्डलाई विनासर्त रिहाइ गर सरकार!’

यस्तै योङ कम्युनिस्ट लिग वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि प्रकाण्डको गिरफ्तारीप्रति असहमति जनाएका छन्। ‘नेकपाका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गर्नु समस्याको समाधान होइन’, दीपशिखा फेसबुकमा लेख्छन्, ‘राजनीतिक समाधान खोज्नुपर्छ।

source:thahakhabar.com

अमेरिकाले रुसविरुद्ध प्रतिबन्ध लगाउने

साउन २४, २०७५ पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ। बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो। तर रुसले भने आक्रमणमा संलग्नताको अस्वीकार गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक तथा जैविक हतियारको प्रयोग गरेकाले उसमाथि प्रतिबन्ध लगाइने बताए। उनले यो प्रतिबन्ध यही अगस्ट २२ देखि लागू हुने जानकारी दिए। यो प्रतिबन्ध इलेक्ट्रिोनिक सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ। गत मार्च ४ मा ६६ वर्षीय स्क्रिपाल र उनकी ३३ वर्षीया छोरी बेलायतको सेलिस्वरी सिटी सेन्टरमा बेहोस अवस्थामा फेला परेका थिए।

यो घटनाले बेलायत र रुसबीचको सम्बन्ध बिग्रिएको थियो। यो घटनामा रुसको संलग्नता रहेको भन्दै बेलायत र उसका सहयोगी २२ भन्दा बढी देशले त्यहाँ रहेका रुसी कूटनीतिज्ञलाई देश निकाला गरेका थिए। अमेरिकाले पनि ६० जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।
source:thahakhabar.com

दक्षिण अफ्रिकामाथि श्रीलंकाको रोमाञ्चक जित

साउन २४, २०७५ वर्षाले प्रभावित खेलमा घरेलु टोली श्रीलंकाले दक्षिण अफ्रीकाविरुद्धको चौथो एकदिवसीय खेलमा रोमाञ्चक जित हासिल गरेको छ। जारी श्रीलंका र दक्षिण अफ्रिका बिचको पाँच खेलको सिरिज अन्तर्गत चौंथो खेलमा मात्र श्रीलंकाले पहिलो जित निकाल्याे। 

सिरिज भने दक्षिण अफ्रिकाले यसअघिनै कब्जा गरिसकेको छ। जितपछि सिरिज ३–१ को अवस्थामा पुगेको छ। लगातार तीन खेल जित्दै दक्षिण अफ्रिकाले सिरिज कब्जा गरेको थियो।  बुधबार भएको खेलमा पटक–पटक वर्षा बाधक बनेको थियो। श्रीलंकाले डकवर्थ लेविस (डिएल) म्याथोडका आधारमा दक्षिण अफ्रीकालाई ३ रनले हराउन सफल भयो। केन्डीमा डिएल म्याथोडमा श्रीलंकाको लक्ष्य १ सय ९१ निर्धारण गरिएको थियो।

जवाफमा दक्षिण अफ्रीकाले पुरै २१ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ८७ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रीकाका हसीम अमलाले ४० तथा जेपी डुमिनीले ३८ रन सर्वाधिक रह्यो। यसअघि ३९ ओभरमा घटाइएको खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई ३ सय ७ रनको लक्ष्य दिएको थियो। तर, दक्षिण अफ्रीकाले जवाफी ब्याटिङ्ग गरिरहदा वर्षा भएपछि फेरि खेल २१ ओभरमा घटाउँदै दक्षिण अफ्रिकालाई १९१ रनको नयाँ लक्ष्य दिएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर ३०६ रनको उच्च योगफल तयार गरेको थियो। श्रीलंकाका डसुन शानकाले ६५ रनको अर्धशतकीय इनिङस खेल्दा थिसरा परेराले अविजित ५१ रन जोडेका थिए। त्यस्तै कुशल परेराले ५१ रन जोड्दा उपुल थरंगाले ३६ तथा निरोशन डिक्वालाले ३४ रन जोडे। दुई टोलीबीचको अन्तिम एकदिवसीय आइतबार हुनेछ।
source: thahakhabar.com