साउन २४ काठमाडौं– बालक अपहरण र इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीका प्रमुख (आईजीपी) सर्वेन्द्र खनालले जवाफ दिनुपर्ने माग सुशासन समितिको बैठकमा उठेको छ ।
बिहिबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद देवेन्द्र राज कँडेलले इन्काउन्टरमा प्रहरीमाथि प्रश्न उठेको भन्दै आईजीपीले समितिमा जवाफ दिनुपर्ने माग गरे । उनले आईजीपीलाई समितिमा बोलाएर सत्यतथ्य जानकारी दिनुपर्नेमा समेत माग गरे ।
कोटेश्वर काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या भएसँगै प्रहरी इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो । इन्काउन्टर फर्जी भएको भन्दै समाचार बाहिर आएसँगै समितिमा जवाफको माग भएको हो ।
समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे औपचारिक धारणा बाहिर ल्याइसकिएको र संसदलाई जानकारी गराइने बताए ।
source:ratopati.com