हिम जिसी लेकाली,साउन १५ अर्घाखाँची
कृषि, पशुपालन र पर्यटनको विकासले मात्र अर्घाखाँची समृद्ध हुन सक्ने प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा नरपानीमा आयोजित सहिद स्मृति पार्कको शिलान्यास गर्दै रायमाझीले सो कुरा बताउनुभएको हो । अहिले नरपानीमा पर्यटनको सम्भवना बढेर गएको छ । बन्दै गरेको सहिद पार्कले पनि पर्यटन व्यवसायलाई बढवा दिने हुँदा अब चूनढुङ्गा खोल्ने कुरा होइन पर्यटन व्यवसायको पूर्वाधार निर्माणमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यसैगरी राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्जवलले नरपानीमा आएका जुनसुकै पर्यटकलाई पनि त्यस क्षेत्रमा एक दिन बस्ने व्यवस्था मिलाउन होमस्टे निर्माणमा लाग्न नरपानीवासीहरूलाई आग्रह गर्नुभयो । ५ नम्बर प्रदेश सदस्य चेतनारायण आचार्यले सम्पूर्ण कर्मचारीहरूले उचो मनोबलका साथ रचनात्मक र सिर्जनात्मक काम गरेर अघि बढ्नुपर्ने बताउनुभयो । त्यसैगरी ५ नम्बर प्रदेश सदस्य रामजीप्रसाद घिमिरेले अब कर्मचारीहरूले गुनासो गर्ने मात्र नभएर भ्रष्टाचार कमिसनतन्त्रको अन्त्यका लागि लाग्नुपर्ने बताउनुभयो । प्रदेश सदस्य जालपा भुसाल एवम निर्मला क्षेत्रीले पनि सो कार्यक्रममा मन्तव्य राख्दै आफूहरूले पनि पर्यटन विकासको निम्ति प्रदेशबाट आवश्यक सहयोग पुर्याउने बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय उपाध्यक्ष दधिराम आचार्य, सचिव युवाचन्द्र घिमिरे, ५ नम्बर प्रदेश नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष राजेन्द्र राना, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, नेकपाका नेता जिवनारायण कोइराला, नेपाली काङ्ग्रेसका प्रतिनिधि भोजबहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर बिसी, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, सन्धिखर्क वडानम्बर ६ का अध्यक्ष कृष्ण आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्माण कार्यको अवधारणाको बारेमा सङ्गठनका केन्द्रिय सदस्य कविसिंह कठायतले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सहिद स्मृती पार्कका संयोजक वलराम मिश्र, र सन्चालन माधव बन्जाडेले गर्नुभएको थियो । ११ रोपनी ७ आनाको क्षेत्रफलमा रहेको स्मृति पार्क १ करोड २८ लाखको लागतमा सम्पन्न हुने र त्यसको खर्चभार सङ्गठनका सदस्यहरूबाट ५ दिनको तलब प्रदान गरिने राज्यका विभिन्न तह, उद्योग व्यवसायीबाट सहयोग जुटाइने समितिले जनाएको छ । उक्त अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठले रु. २५ हजार स्मृती पार्कको सहयोगमा प्रदान गर्नुभएको छ । कार्यक्रममा स्थानीय वासीहरू र जिल्लास्तरीय कार्यालय प्रमुखहरूको समेत उल्लेख्यनिय उपस्थिती रहेको थियो ।