चार महिनामै राजीनामा दिएका कानुन मन्त्रीले के–के काम गरे

unn.prixa.net

काठमाडौं – कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको चार महिने कार्यकाल उपलब्धिपूर्ण देखिएको छ । चैत २ गते मन्त्री बनेका तामाङ जम्मा ४ महिना ८ दिन कार्यभार सम्हाल्दै मंगलबार राजीनामा दिन बाध्य हुनुभयो ।

बोलीमा संयमता नअपनाउँदा र भावनामा बढी बोल्दा मन्त्री पदबाट बिदा भएका तामाङको कार्यकालमा कानुन निर्माणका धेरै कामहरु भएका छन् ।  नेपालको संविधान कार्यान्वयन गर्न निर्माण गर्नुपर्ने ११० विषयगत कानुनमध्ये ७३ वटा कानुन निर्माण गरिएको छ ।  त्यसमध्ये अब मात्रै ३७ कानुन बनाउन बाँकी छन् ।

१५ वटा मौलिक हक कार्यान्वयनका लागि चाहिने कानुन अगाडि बढिसकेको र अब मन्त्रिपरिषदले पारित गरेर संसदमा लैजाने छ । मौलिक हकसम्बन्धी कानुन तर्जुमा गर्नुपर्ने कुनै पनि काम अब बाँकी छैन । असोज २ गते भित्रै मौलिक हकका सबै कानुन बन्ने र राष्ट्रपतिले प्रमाणिकरणपछि कार्यान्वयनमा आउने छ ।

मौलिक हकका ३१ वटैको कानुन निर्माण गर्नुपर्ने आवश्यकता नरहेको र आवश्यक कानुन संविधानले तोकिएकै समयमा निर्माण हुने उहाँको दाबी छ ।

आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण काम भनेको न्यायाधीशका आचरण शुद्ध राख्न उनीहरूले पनि सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था ल्याउन सफल भएको तामाङले बताउनुभयो । सबै सार्वजनिक पदाधिकारीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने नियम छ । तर यसअघि न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्दैन थियो । अब न्यायाधीशहरुले अनिवार्य विवरण सार्वजनिक गर्नुपर्छ ।

राजीनामा दिनुअघि भएको पत्रकार सम्मेलनमा उहाँले आफूले न्यायालय सुधारको मुख्य काम त्यसैबाट सुरु गरेको बताउनुभयो ।

कानुन मन्त्री तामाङले न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने काम मात्रै गर्नुभएन, केपी ओली नेतृत्वको सरकार बनेपछि सम्पत्ति सार्वजनिक गर्ने उहाँ नै पहिलो मन्त्री हुनुहुन्छ ।

वर्तमान सरकारमा रहेका मन्त्रीहरुमा तामाङलाई बोल्नेभन्दा बढी काम गर्ने व्यक्तिको रुपमा चिनिन्थ्यो । उहाँ महिला हकहितकै विषयमा आवाज उठाउँदै कानुन तर्जुमा गर्न महत्वपूर्ण भूमिका निभाएका व्यक्ति समेत हुनुहुन्छ । तर एउटा स्कुलको कार्यक्रममा महिलाकै विषयमा बोल्दा तामाङले मन्त्री पद नै गुमाउनुपर्यो ।

source:ujyaaloonline

Advertisement

व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष, मासिक डेढ लाख आम्दानी

प्रेमनारायण आचार्य,साउन ८, २०७५

unn.prixa.net

अर्घाखाँची – परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ पाणिनी गाँउ पालिकाका अध्यक्ष  अच्युत गौतमले कृषि व्यवसाय सुरु गर्नुभएको छ । उहाँ अहिले कृषि पेसाबाट मनग्य आम्दानी पनि गर्न सफल हुनुभएको छ ।

बिहान बेलुका र विदाको समयमा उहाँ तरकारी खेती र कुखुरापालनमा समय बिताउने गर्नुहुन्छ । ‘अरुले भाषण गर्छन म काम गरेर देखाउँछु’ उहाँले भन्नुभयो । हामी आफू अनुकुल काम गर्दैनौँ । समृद्धिको कुरामात्र गरेर हुँदैन उहाँले भन्नुभयो कृषिबाटै हामीले मनग्य आम्दानी गर्न सक्छौँ ।

उहाँले अहिले कुखुरापालन र तरकारी खेतीबाट सबै खर्च कटाएर बार्षिक १८ देखि २५ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । उहाँको वार्षिक आम्दानीलाई हिसाब गर्दा मासिक एक लाख ६० हजार भन्दा बढी हुन आउँछ । यो आम्दानी कुनै जागिरबाट पनि सम्भव छैन । उहाँ नेपाली कांग्रेसको क्षेत्रीय सभापति पनि हुनुहुन्छ ।

उहाँको बारीमा काक्रा, घिरौला, लौका, मुला, टमाटार, बन्दा, सागलगायतका तरकारी उत्पादन भएका छन् ।  उत्पादन भएको तरकारी स्थानीय बजार र बुटवलको सब्जी मण्डीमा बिक्री हुने गरेको गौतमले बताउनुभयो । बजारको पनि समस्या छैन ।

परिश्रम गरे यहीँको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्यवसायले अहिले सोचे भन्दा पनि बढी फाइदा दिएको उहाँले जानकारी दिनुभयो ।

तरकारी खेती मात्र हैन उहाँले अण्डा उत्पादन गर्ने कुखुरापालनलाई पनि सँगसँगै अगाडि बढाइ रहनुभएको छ । उहाँको कुखुरा फर्ममा  अहिले एक दिनमा २ हजार  देखि  ३ हजार  अण्डा उत्पादन हुन्छन् ।  अण्डा उत्पादनबाट  कम्तीमा १५ देखि बढिमा २०  लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ  ।

अहिले पोखराथोक, पणेना, मैदान पाटौटी र खिदीम गाविसमा उहाँकै कृषिबाट प्रभावित भएर युबाहरु समेत ब्यबसायीक तरकारी खेती र कुखुरापालनमा लागेका छन् ।

गाउँपालिकाको अध्यक्ष भएपछि पनि उहाँले धेरै युवाहरुलाई कृषि गर्न आग्रह गर्नुभयो तर अधिकांश युवाहरु वैदेशिक रोजगारमा जाने गर्दछन् । उनीहरुलाई प्रेरणा दिन पनि उहाँ अझ सक्रिय भएर लागेको गौतमले बताउनुभयो । गौतमले पाणिनी गाँउपालिकालाई कृषिमा पकेट क्षेत्र बनाउन लागि परेको जानकारी पनि दिनुभयो ।

उहाँले तरकारी खेती र कुखुरा पालन गरेर पाँच जनालाई रोजगार पनि दिनुभएको छ ।

source:ujyaaloonline

सामाजिक परीक्षणप्रति सेवाप्रदायकको अपनत्वमा कमी – नागरिक समाज

बसन्त श्रेष्ठ ‘छापेली ८ श्रावण २०७५
सामाजिक परीक्षण प्रति सेवा प्रदायक निकायको अपनत्वमा कमी रहेको एक कार्यक्रमका सहभागिले बताएका छन । एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भएको स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्बन्धी समिक्षा कार्यक्रममा बोल्दै नागरीक समाज संस्थाका प्रतिनिधीहरुले सो कुरा बताएका हुन ।

हालसम्म जिल्ला स्वास्थ्य कार्यालयले सामाजिक परीक्षण गराउँदै आएको भन्दै उनीहरुले जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवा प्रबाह र विश्वसनीयतामा समेत कमी रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा नागरीक समाज संस्थाका बाबुराम पौडेल, भोजबहादुर गन्दर्व, हरी पौडेल, नारायण भुसाल, फर्सुराम पाण्डे, नेत्र मरासिनी, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली‘, लगायतले स्वास्थ्य क्षेत्रका समस्याहरुलाई समाधान गर्न जिल्लाका स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

जिल्लाका केही स्वास्थ्य संस्थामा समयमा औषधीको उपलब्धता नहुन, स्वास्थ्य कर्मी र व्यवस्थापन समितिबीच तालमेल नहुनु जस्ता समस्या रहेको भन्दै समिति र स्वास्थ्य कर्मीको बीचमा अभिमुखकीरणको जरुरी रहेको सहभागिको भनाई थियो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको समिक्षा कार्यक्रममा जिल्ला स्तरमा सुशासन र जवाफदेहिताको क्षेत्रमा पैरबी गर्ने संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ मा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरेका संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा सामाजिक परीक्षणको क्रममा सेवाप्रदायक निकायमा यस प्रति अपनत्वको पूर्ण बोध हुन नसकेको बताइएको थियो ।

कार्यक्रममा स्वास्थ्य संस्थाहरुको समाजिक परीक्षण प्रतिबेदन तथा कार्ययोजना कार्यान्वयनमा सम्बिन्धित निकायको ध्यान जान नसकेको भन्दै नागरीक समाज संस्थाहरुले पैरवी गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्याल, कार्यकारी निर्देशक कृष्ण बि.क, अर्घाखाँची शाखा उपाध्यक्ष अनिल भुसाल, सचिव सागर परियार, पारष्परिक जवाफदेहिता परियोजना संयोजक हीरा कुवँर, जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ, सामुदायिक अनुसन्धानकर्मी सबिता आचार्य लगायतको उपस्थिती रहेको थियो ।