गोठमा सुतिरहेका तीनको पहिरोले पुरिएर मृत्यु

गोठमा सुतिरहेका तीनको पहिरोले पुरिएर मृत्यु

रोल्पा साउन ७: गोठमा सुतिरहेका तीन जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका–८ अरेश फुल्धाराका तीन जनाकाे आइतबार राति पहिरोमा पुरिएर मृत्यु भएको हो ।

आफन्तले सोमबार बिहान ११ बजेतिर मात्र उनीहरु पुरिएको थाहा पाएका थिए । पुरिएर मृत्यु हुनेमा १८ वर्षीय हुमबहादुर घर्ती, १६ वर्षीया ओवी घर्ती र १६ वर्षीया चमेली पुन रहेका छन् । घरदेखि टाढा रहेको गोठमा उनीहरु साँझपख वस्तुभाउ हेर्न गएका थिए । माथिबाट खसेको पहिरोले  हस्ते पुनको गोठको पर्खाल भत्किएको हो ।

भत्किएको पर्खालले पुरिएर तीनै जनाको मृत्यु भएको स्थानीय एवं मृतक ओवीका काका लंक घर्तीले जानकारी दिए । गोठमा पुगेका उनीहरु बिहान अवेरसम्म घर नआएपछि चमेलीकी माइली दिदी दुवी घर्ती गोठमा पुगेकी थिइन् । पहिरोले पुरिएको देखेपछि घरपरिवार र छिमेकीलाई दुवीले नै खबर गरेकी थिइन् ।

गाउँले घटनास्थल पुग्दा पहिरोले च्यापिएको अवस्थामा देखेको स्थानीय समाजसेवी लंकले भने, ‘जीवितै छन् कि भन्ने आशाले उद्दार गर्न खोजियो । तर, सबै मृत भेटिए ।’ हुमबहादुर र ओवी चमेलीको गोठमा साथीका रुपमा गएका थिए ।

राति अविरल परेको वर्षाले पहिरो खसेको गाउँलेको अनुमान छ । गोठमा रहेको एउटा गाईको पनि पुरिएर मृत्यु भएको छ । घटनाबारे गाउँलेले इलाका प्रहरी कार्यालय सुलिचौरलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै दिउँसोपख प्रहरी निरीक्षक सुरेन्द्र धमलाको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले वताए । लासको मुचुल्का तयार पारेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

सदरमुकाम लिबाङदेखि दुर्गममा रहेको घटनास्थलबाट सोमबार रातिसम्म शव अस्पताल ल्याउन सकिने छ ।  मृतकका आमा बुबा, परिवार र छिमेकी शोकमा डुवेका छन् । खिमबहादुर घर्तीकी दुई बहिनी छोरी मध्ये जेठी ओवीको मृत्युले परिवार शोकमा छ । हुमबहादुरको मृत्युले बुबा मनबहादुरको परिवार विक्षिप्त बनेको छ ।

मनबहादुरका तीनभाइ छोरा मध्ये मृत्यु हुने हुमबहादुर कान्छो छोरा हुन् । हस्ते पुनका चार छोरी मध्ये मृतक चमेली साइली छोरी हुन् । तीन साताअघि दक्षिणी रोल्पाको रुन्टीगढी गाउँपालिकाको सैबाङमा पनि पहिरोले घर भत्किदा १८ दिनकी सुत्केरीसहित तीनको मृत्यु भएको थियो ।

source:annapurnapost

दीपकराज जोशीविरुद्ध पाँच उजुरी

साउन ७, २०७५ काठमाडौं : कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा पाँच वटा उजुरी परेका छन्। संवैधानिक परिषद्ले जोशीको नाम प्रधानन्यायाधीशको रुपमा सिफारिस गरेपछि संसदीय सुनुवाई समितिले उनका विरुद्धमा उजुरी दिनका लागि सार्वजनिक सूचना जारी गरेको थियो।  यो बीचमा जोशीका विरुद्धमा पाँच वटा उजुरी परेको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ। उनीविरुद्ध परेका उजुरी भने अहिलेसम्म गोप्य राखिएको छ। संसदीय समितिले यसअघि पनि उजुरीहरू गोप्य राख्दै आएको थियो।

जिल्ला अदालत, पुनरावेदन अदालत र सर्वोच्च अदालतमा काम गर्दै गर्दा जोशीमा कार्यक्षमताको अभाव भएको भन्दै उजुरीहरु परेको बताइएको छ।  अब संसदीय समितिले उजुरीका सन्दर्भमा जवाफ माग्ने छ। संसदीय समितिको दुई तिहाइले जोशीलाई अस्वीकार गरेमा उनी प्रधानन्यायाधीश बन्न पाउने छैनन्। दुई तिहाइले अस्वीकार गरे मात्रै नियुक्ती रोकिने कार्यविधि रहेको छ।

सर्वोच्च अदालतमा गोपाल पराजुलीको अवकास पछि अहिलेसम्म प्रधानन्यायाधीशको पद रिक्त छ। प्रधानन्यायाधीशको सिफारिस संवैधानिक परिषद्ले गर्ने व्यवस्था छ। सरकार गठन, संसदीय समितिको निर्माण लगायतका काममा ढिलाई हुँदा प्रधानन्यायाधीशको नियुक्ती हुन नसकेको हो। अब केही दिनमै संसदीय सुनुवाई समितिले जोशीसँग जवाफ मागेपछि उनको नियुक्तीको विषयमा टुंगो लाग्ने अपेक्षा गरिएको छ।
source:thahakhabar.com