‘शरीर सुम्पेर सर्टिफिकेट’ अभिव्यक्ति विवादपछि कानुनमन्त्रीले मागे क्षमा

साउन ६, २०७५ काठमाडौं :

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले बोलेको विषय सञ्चार माध्यममा सम्प्रेषण भएकोमा ध्यान आकर्षण भएको बताएका छन्। मन्त्री तामाङले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षमा याचना समेत गरेका छन्। ४ साउनमा काठमाडौंको एउटा विद्यालयले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले नेपालबाट बंगलादेश एमबीबीएस पढ्न जाने नेपाली छात्राहरूले सर्टिफिकेटका लागि शरीरसँग सम्झौता गर्नु परेको बताएका थिए।

उनको सो अभिव्यक्ति सञ्चार माध्यम र सामाजिक सञ्जालमा विवादित बनेको छ। उनले अभिव्यक्ति विवादित बनेपछि उनले आफूले नेपालमै एमबीबीएस पढ्न पाउने व्यवस्था भए छोरीहरूलाई सजिलो हुन्छ भन्ने आशयले आफूले सो कुरा बोलेको प्रष्टिकरण दिएका छन्। मन्त्री तामाङले आफ्नो सो भनाईले बंगलादेशमा अध्ययनरत छात्राहरू र अध्ययन गरेर फर्किएका छात्राहरूमा पर्न गएको चोट प्रति क्षमा याचना गरेका छन्।

साथै उनले महिलाहरुको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा सदैव प्रतिवद्ध रहने जनाएका छन्।  घुमाउरो भाषामा उनले आफूले बोलेको विषय साचो भएको भने विज्ञप्तिमा स्वीकार गरेका छन्। अहिले पनि २००० भन्दा बढी छात्राहरूले बंगलादेशमा पढिरहेको र उनीहरूले कुनै न कुनै समस्या भोग्नु परेको तामाङको दाबी छ। हिंसाजन्य केही घटनाहरू उजुरीका रुपमा समेत रहेको उनले बताएका छन्। सरकारकामा रहेको मान्छेले महिलाहरूको आत्मसम्मानमा ठेस पुग्ने गरेर बोलेपछि उनको कडा आलोचना भएको थियो।

उनले आलोचनाको दुई दिन पछि क्षमा मागेका हुन्। उनले बोलेको भिडियो फुटेज सामाजिक सञ्जालबाट बाहिर आएको थियो।  झापाको विएन्डसी अस्पतलाका सञ्चालक दुर्गा प्रसाईंले केही दिन अघि नेपालबाट बंगलादेशमा पढ्न जाने छात्रालाई त्यहाँका प्रोफेसरहरूले करणी गर्ने गरेको बताएका थिए। उनको सो भनाईको आलोचना नसेलाउँदै जिम्मेवार पदमा बसेका कानुन मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए।

मेडिकल शिक्षा सुधारको माग गर्दै तीन सातादेखि अनसनमा बसेका डा. गोविन्द केसीको प्रतिवादका लागि तर्कहरूको अभाव भएपछि मेडिकल कलेज सञ्चालकहरू र सत्तापक्षका नेताहरूले खेदजन्य अभिव्यक्तिहरू दिएका छन्।  काठमाडौंको मनोमहन अस्पतालमा नेकपा निकटका व्यक्तिहरूको लगानी भएकाले तत्कालिन एमालेले केसीका मागमा पहिलेदेखि नै समर्थन गरेको छैन। केसीका माग पुरा हुँदै गर्दा मनोमहन कलेज सरकारीकरण हुने भएपछि एमाले लामो समयदेखि यो विषयमा मौन छ।

अहिले एमाले र  तत्कालिन माओवादी मिलेर बनेको नेकपाको सरकार भइरहेको अवस्थामा केसीले अनसन बसेका छन्। बलियो सरकारले केसीका मागहरूलाई गम्भीर रुपमा नलिएको आरोप लागिरहेको छ। दुई पार्टी एकिकरणका बेलामा वार्ताका लागि आफ्नो घर र पारिवारीक भोजन समेत गराउने प्रसाईं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका व्यक्ति रहेको बताइन्छ।  सम्बन्धन पाउने मेडिकल कलेजको सूचीमा नेकपाका नेताहरूका स्वार्थ जोडिएका व्यक्ति सञ्चालक हुँदा अहिलेसम्म पनि अनशनको हल निस्कन सकेको छैन।

डा. केसीले केदारभक्त माथेमा नेतृत्वको आयोगले दिएको सुझावका बमोजिम मेडिकल शिक्षा विधेयक ल्याउनुपर्ने माग गरेका छन्। उनको माग अनुसार शेरबहादुर देउवा नेतृत्वको सरकारले चिकित्सा शिक्षा अध्यादेश ल्याएको थियो।  निर्वाचनबाट गठन भएको नयाँ सरकारले अध्यादेशमा भएका केही विषयलाई तोडमोड गरेर प्रतिस्थापन विधेयकको रुपमा ल्याउन खोजेपछि केसीले अनसन शुरु गरेका हुन्।

त्यसपछि प्रतिस्थापन विधेयक फिर्ता भएको छ। तर सरकारले संसदमा ल्याएको विधेयक अगाडि बढाउन खोजेपछि कांग्रेसले सदन अवरुद्ध गरेको छ। जसका कारण चिकित्सा शिक्षा विधेयक अगाडि बढ्न सकेको छैन भने केसीले अनशन जारी राखेका छन्।
source:thahakhabar.com

Advertisement

मालारानी गाउँपालिकाको काम सन्तोषजनक –प्रजिअ भुसाल

नबिन केसी,साउन ६ अर्घाखाँची

मालारानी गाउँपालिका काम गर्ने कुरामा अन्य स्थानीय तह भन्दा अगाडि रहेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताएका छन । रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले आज मालारानीको खनदहमा गरेको साक्षात्कार तथा सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै भुसालले भने सुरुवातको बर्ष र कर्मचारीको अभाब हुदाँ पनि काम राम्रो भएको बताए । पछिल्लो समयमा जिल्लामा बादँर तथा अन्य जगंली जनाबरले किसानको खेतीबालि नष्ट गर्दा आफु दु.खी भएको भन्दै त्यसको व्यबस्थापन गन पहल गरिरहेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस मालारानी गाउँपालिका सभापति शोभाखर खनालले पालिकाका तथा वडा स्तरका योजनाहरुमा एकलौटी ढङ्गबाट अगाडि बढेको भन्दै आगामी दिनमा सच्चियर जान आग्रह गरेका थिए । बिभिन्न उपभोक्ता समितीहरु निमार्ण गर्दा समाबेशी तथा योजनाहरुमा पारर्दशी हुनु पर्नेमा खनालले जोड दिएका थिए ।

सहभागिबाट उठेका जिज्ञासाको जबाफ दिदै पालिका अध्यक्ष बालकृष्ण आचार्यले आफु चुनाबमा कुनै दल पार्टिबाट उम्मेद्धवार भएर जितेपनि अब आफनो पार्टी मालारानी भएको बताए । कुनै व्याक्ति बिशेषलाई पार्टीलाई भन्दा पनि पालिकाको पक्षमा कामगर्ने प्रतिबद्धता व्यक्त गरेका छन । प्रमुख प्रशासकीय जनकराज पन्थीले कुनै पनि योजना काम नगरी फरफारक नगरेको भन्दै काम नगर्ने योजना फ्रिज गरिएको बताए ।

आर्थिक बर्ष ०७५÷०७६को काम आगामी बैशाख मसान्तमा सक्नेगरि योजना बनाएको समेत पन्थीले बताए । गाउँपालिकाको आर्थिक बर्ष ०७४÷०७५ मा नब्बे प्रतिशत भन्दा बढि काम गर्नसहयोग गर्ने पालिकाबासीलाई धन्यवाद समेत दिएका थिए । मालारानी गाउँपालिकालाई नमूना बनाउनको लागी सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा रहेको मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताईन ।

कार्यक्रममा बोल्दै रिपोर्टस क्लबका अध्यक्ष रामकुमारक्षेत्रीले प्रतिपक्षले बिरोधकालागी बिरोध भन्दा पनि रचनात्मक सहयोग गर्नु पर्ने र सता पक्षले पनि प्रतिपक्षका सुझाबहरुलाई ग्रहण गर्नु पर्ने बताए । कार्यक्रम नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालको सहजिकरण र पत्रकार नबिन के.सीको सहजिकरणमा सम्पन्न भएको थियो ।

विपिलाई सम्झदै अर्घाखाँचीमा वृक्षारोपण

Image may contain: 6 people, people smiling, people standing and outdoor

घनश्याम पौडेल
सन्धिखर्क, ६ साउन । नेपालका पहिलो जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा सन्धिखर्कमा वृक्षारोपण गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको पाणिनि बहुमुखी क्याम्पसको प्रांगण तथा श्रृजनशिल सामुदायिक वनको क्षेत्रमा फलफुल वृक्षारोपण गरिएको हो । वृक्षारोपण जिल्ला सभापति विष्णु मुस्कान र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसालले तेजपातको विरुवा रोपी सुरुवात गरे ।

नेपाली कांग्रेसका महासमिति सदस्य केशब श्रेष्ठ, महाधिबेसन प्रतिनिधि कृष्ण प्रसाद खनाल, जिल्ला सहसचिव इन्सु मिया, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, पाणिनि बहुमुखी क्याम्पसका स्ववियु कोषाध्यक्ष घनश्याम पौडेल, कांग्रेसका वडा नम्बर १ का अध्यक्ष माधब श्रेष्ठ, अम्मर श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो । जिल्लाका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वा्चित प्रधानमन्त्री बनेका थिए ।

Image may contain: 6 people, including Kamal Prasad Bhusal and Premnarayan Acharya, people smiling, people standing, outdoor and nature

उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिवार्चित संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।

पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

Image may contain: 2 people, people standing and outdoor

सन्धिखर्कमा तरुण दलको बिरोध

घनश्याम पौडेल
सन्धिखर्क, ६ साउन । नेपाल तरुण दलले संगठनका अध्यक्ष जितजंग बस्नेत सहितका नेता र कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको भन्दै आइतबार अर्घाखाँची जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध प्रर्दशन सहित ज्ञापन पत्र बुझाएको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार गरिएको प्रर्दशनका क्रममा काठमाडौंको नयाँ वानेश्वरमा संगठनका अध्यक्ष बस्नेतसहितका एक दर्जनबढी नेता, कार्यकर्ता प्रहरीको कुटाइबाट घाइते भएपछि त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरेको हो ।

सरकारले नागरिक अधिकार हनन् हुनेगरी दमन गरेपछि त्यसको बिरोधमा जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रर्दशन गरिएको नेपाल तरुण दल, जिल्ला कार्य समिति अर्घाखाँचीका अध्यक्ष नारायण खड्काले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले ज्ञापनपत्र बुझदै आईतबार नै सरकार समक्ष ज्ञापनपत्र बुझाउँने बताएका थिए ।

भालुवाङमा देउखुरीव्यापी खुल्ला तीज प्रतियोगिता हुने

सन्तोषकुमार गुप्ता । भालुवाङ ६ साउन ।।
हिन्दु नेपाली नारीहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा देउखुरीको भालुवाङ भदौको तेस्रो साता देउखुरीव्यापी खुल्ला तीज गीत प्रतियोगिता २०७५ हुने भएको छ । तीज पर्वमा मौलिकता हराउँदै गएको र वर्तमान अवस्थामा तीज पर्वमा देखिएको बिकृतिलाई निरुसाहित गरी परम्परागत तीज पर्वलाई निरन्तरता दिन प्रोत्साहन गर्ने उद्देश्यले राप्ती उद्योग बाणिज्य संघ भालुवाङले भालुवाङमै तीज गीत प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षतामा आज(शनिबार) बसेको नियमित बैठकले भदौ १७ गते आईतबार कृष्ण जन्मअष्टमीका दिन देउखुरीव्यापी खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ । जसका लागि संघकी कार्यसमिति सदस्य गोमाया केसीको संयोजकत्वमा पाँच सदस्यीय तीज गीत प्रतियोगिता व्यवस्थापन समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा शारदा आचार्य, सन्तोषकुमार गुप्ता, बिक्रम पाण्डे र माधव भुसाल रहेकाछन् । बैठकले संघको १२ औं बार्षिक साधारणसभा असोजको १३ गते गर्ने र व्यावसाय नबिकरणका लागि साउन मसान्त सम्म म्याद थप गर्ने निर्णय गरेको छ ।

साथै बैठकले उवासंघको कार्यक्षेत्रमा सडक बत्ती बिस्तारका लागि राप्ती गाउँपालिका—४ श्रीनारायण चोक मौरीघाट स्थीत बजार व्यवस्थापन समितिलाई नगद ४० हजार सहयोग गर्ने र राप्ती गाउँपालिका—१ पाखापानीमा संघकै नेतृत्वमा सडक बत्ती जडान गर्ने लगायतका निर्णय गरेको छ । बैठकमा संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, सचिव टोपबहादुर झाँक्री, सदस्यहरु गोमाया केसी, शारदा आचार्य, सन्तोषकुमार गुप्ता, बिक्रम पाण्डे, सन्तोष अधिकारी र माधव भुसाल लगायतको उपस्थीति रहेको थियो । बैठकको सहर्जीकरण संघका कार्यालय प्रमुख सन्तोषकुमार योगीले गरेका थिए ।