श्याम घिमिरे, असार ३२ अर्घाखाँची
अर्घाखाँची जिल्ला अदालत यस आर्थिक बर्ष २०७४।७५ मा ७८.२४५ प्रतिशत मुद्दा फैसला भै उच्च अदालत तुल्सीपुर बुटवल ईजलास क्षेत्र (लुम्विनीमा) प्रथम स्थान ओगटन सफल भएको छ । जिम्मेवारी सरेका ४० थान मुद्दाहरु र यस आर्थिक बर्षमा दर्ता भएका बिभिन्न प्रकृतिका २ सय ४५ थान मुद्दाहरु गरी आर्थिक बर्ष ७४।७५ मा मुद्दाहरुको लगत २ सय ८५ थान रहेको अदालतले जनाईएको छ । जसमा २ सय २३ थान मुद्दा फैसला भै जम्मा ६२ थान मुद्दा बाँकी रहेको अदालतका सुचना अधिकारी टेकराज गैरेले जानकारी दिनु भयो ।
अदालतमा बिगतका बर्षहरुमा जस्तै १ बर्ष नाघेका मुद्दाहरु भने रहेका छैनन । त्यस्तै ६२ थान बाँकी रहेका मुद्दाहरु मध्ये ९ थान मुद्दा ६ महिना नाघेका र ५३ थान मुद्दाहरु ६ महिना भित्रका रहेको जनाईएको छ । फैसला भएका २ सय २३ थान मुद्दाहरु मध्ये २२ थान मुद्दा तत्कालीन जिल्ला न्यायाधीश केशबप्रसाद बास्तोलाको ईजलासबाट फैसला भएका थिए भने बाँकी २ सय १ थान मुद्दा जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको ईजलासबाट फैसला भएको बताईएको छ ।
अदालतमा सम्वन्ध विच्छेद, अंश, मानाचामल, जवर्जस्तीकरणी, लेनदेन, जग्गा खिचोला, लिखत बदर, कर्तव्य ज्यान लगायतका मुद्धाहरु दर्ताहुने गरेको अदालतले जनाएको छ । फर्स्यौट भएका मुद्दाहरुको फैसला तयारी सामान्यतया ७ दिन भित्र तयार गरिने ईजलास सहायक ना.सु. नारायण बहादुर भट्टराईले बताउनु भयो । यसैबिच अदालतले लक्ष्य बमोजिम फैसलाको प्रगति हासिल गर्न र बार्षिक कार्ययोजनाले निर्दिष्ट गरेका कार्यहरु सम्पन्न गर्नमा सबैको उल्लेखनिय सहयोग रहेको भन्दै सबैमा आभार समेत व्यक्त गरेको समचारमा उल्लेख गरीएको छ ।