असारे विकासको दुर्गति: एक रात टिकेन राजधानीकै सडकको कालोपत्रे

असारे विकासको दुर्गति: एक रात टिकेन राजधानीकै सडकको कालोपत्रे

हेटौँडा ,३१ असार  

आर्थिक वर्षको अन्तिम रातहरूमा हेटौंडा–६ मा गरिएको कालोपत्रे एक दिन पनि टिकेन । असारे विकासको दुर्गतिले देशकै विकासलाई गिज्याएको छ । समय छँदा काम गर्न नआएको निर्माण कम्पनीले असार सकिन लाग्दा सुरु गरेको कालोपत्रे एक दिन पनि नटिकेको हो ।

२ दशमलव ४ किलोमिटर लम्बाइको चौघडा–रङ्गशाला सडक अन्तरगत शुक्रवार साँझ गरेको हात्तिलेट क्षेत्रको कालोपत्रे शनिवारबाट उक्किन थालेपछि स्थानीबासी आक्रोशित भएका छन् ।

‘घर अगाडि शुक्रवार राति गरिएको कालोपत्रे बिहानै उप्किएको देखेपछि कहिलेकाहीँ यस्तो हुन्छ भनेर बसेँेँ’, हात्तिलेटका ध्रुव सापकोटाले भने, ‘दिनभर गाडी हिँड्दा जताजतै खाल्डो देखेपछि गाउँले मिलेर सडक कोट्याउँदा बिच्छ्याएको बिस्कुन उठाएजस्तै हातले कालोपत्रे उप्किएर आएपछि अचम्मित भयौँ ।’

असार सकिन लाग्दा बजेट सक्न गुणस्तरहीन काम गरिएको उनको भनाइ छ । निर्माणको ठेक्का पाएको शुभेच्छा निर्माण सेवाले काम नगरेको भन्दै हेटौँडा–६ नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेपछि असार अन्तिममा मात्रै आएर कालोपत्रेको काम सुरु गरेको थियो ।

कमसल सामग्री र माटोमाथि कालोपत्रे गरिएकाले एकै दिनमा उप्किएको स्थानीय माधव प्रसाद पुडासैनीको दाबी छ । ‘रातारात पैसा सक्न पुरानो सडक सफा नगरी चिसो माटोमा अलकत्रा चर्ने काम मात्र भएको छ’, उनले भने, ‘हामीलाई धुलो र हिलोमा बस्न बानी परिसक्यो । यस्तो विकास गरेर सरकारी पैसा नसकाएकै बेस ।’

करिब आधा कालोपत्रे गरी सकेको निर्माण कम्पनीले गरेको अधिकांश स्थानमा कालोपत्रे उक्किन थालेपछि स्थानीयहरूले गुणस्तरीय कामका लागि दबाब दिएका छन् ।

उनीहरूले कमसल कालोपत्रे भएको स्थानमा पुनः कालोपत्रे हुनुपर्ने र ठेकेदारलाई कारबाही हुनुपर्ने माग राखेका छन् । ‘यस्तो पिच हामीलाई चाहिएन,राती राती आएर पैसा सकाउन यस्तो काम गर्नेहरुलाई कारबाही हुनुपर्छ’, स्थानीय प्रतीक्षा चौँलागाईले भनिन् ।

आर्थिकवर्ष २०७३/०७४ को बजेट अनुसार ठेक्का लिएको शुभेच्छा निर्माण सेवाले हेटौँडा उपमहानगरपालिकाबाट २०७४ वैशाख अघि भएको सम्झौता समाप्त भई २०७५ असार मसान्तसम्मका लागि सम्झौताको म्याद थप गराएको थियो ।

तर असार सकिन लाग्दा पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो भन्दा छिटो काम सम्पन्न गराई दिन वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको थियो ।

जिल्ला प्रशासनमार्फत कारबाही हुने डरले ठेकेदारले रातारात काम गरेको स्थानीय हरि प्रसाद चौँलागाईले बताए । ठेकेदारसँगै उपमहानगरपालिकाका प्राविधिकहरूले निगरानी नगर्दा कमसल काम भएको भन्दै उनीहरूले स्तरीय कालोपत्रे हुनुपर्ने माग गरेका छन् ।

स्थानीय जनप्रतिनिधिको निरन्तर निगरानीमा कालोपत्रे भएको सडक यस्तो अवस्था भएपछि उनीहरूको भूमिकामा पनि स्थानीयले आशङ्का व्यक्त गरेका छन् ।

कमसल कालोपत्रे भएको स्थानमा प्राविधिकको जाँच पनि पुनः कालोपत्रे गराउने हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईँले बताए । यस बारेमा बुझ्न खोज्दा ठेकेदार प्रतिनिधिहरू सम्पर्कमा अउन चाहन्नन् ।

प्रमुख जिल्ला अधिकारी चक्र बुढाले सडकको स्तरीयताबारे अनुगमन गरिने बताए ।  ‘असार मसान्तसम्म म्याद छ,काम सकाउँछौँ भनेपछि समयमा काम नभए कारबाही हुन्छ भनेर पठाएका थियौँ’,उनले भने, ‘भुक्तानी दिने निकायलाई गुणस्तर चेकजाँच गरेर मात्र भुक्तानी दिन भनेको छु ।’

source:annapurnapost

Advertisement

फलाम पिटेर जिविकोपार्जन गर्ने आरन ब्यबसायीलाइ निशुल्क औजार

सागर महत अर्घाखाँची ३० असार

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले लोप हुदै गएको आरन ब्यबसायलाइ स्थापित गर्न फलाम पिटेर जिविकोपार्जन गर्ने आरन ब्यबसायीलाइ निशुल्क औजारहरु वितरण गरेको छ ।
नुवाकोटमा एक कार्यक्रमको आयोजना गरि नगरपालिका भित्र रहेका फलाम पिटेर जिबिको पार्जन गरिरहेका ५२ आरन ब्यबसायीलाइ निशुल्क रुपमा आरनको पंखा र हतियार उदाउने ग्रान्डैर वितरण गरेको हो । आरन ब्यबसायीहरु ३२ जनालाइ हतियार उदाउने ग्रान्डैर र २० जनालाइ आरनको पंखा वितरण गरिएको नगरपालिकाका कार्यकम्र अधिकृत हरिस्चन्द्र भुसालले बताउनु भयो   ।
वितरण कार्यक्रमलाइ सम्बोधन गर्दै भुमिकास्था नगरपालिकाका उपप्रमुख खडानन्द वेल्वासेले पुख्र्यौली रुपमा आरन पेशा गरेका आरन ब्यबसायीलाइ आधुनिकीकरण तर्फ उन्मुख गर्न आरन सम्बन्धि औजार वितरण गरेको बताउनु भयो । उहाले लोप हुदै गएको पेशा संरक्षण गरि युवाहरुलाइ आरन ब्बयसायमा आकर्षित गर्न र स्वरोजगार सृजना गर्न औजार वितरण गरेको बतानु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाले स्वरोजगारलाइ ध्यानमा राखेर कार्यक्रम अगाडी सारेको बताउनु भयो । उहाले पुख्र्यौली पेशाहरुको संरक्षण गर्नु नगरपालिकाको कर्तब्य समेत भएको धारणा राख्नु भयो ।
कार्यक्रम भुमिकास्थान नगरपालिका वाड नम्वर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता र हरिस्चन्द्र भुसालको सञ्चालनमा सम्पन्न भएको दिलिप केसीले बताउनु भएको छ ।