असार २९, २०७५: थाहा संवाददाता
पर्सा : डा. गोविन्द केसीको समर्थनमा पर्साका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्। केन्द्रमा इमर्जेन्सीबाहेकको सेवा बन्द गर्ने हल्ला सुनेका पर्साका स्वास्थ्यकर्मीहरू पनि सडकमा उत्रिएका हुन्। केन्द्रबाट चिकित्सक संघले जिल्लालाई कुनै पत्राचार नगरे पनि स्थानीय निर्णयअनुसार सडकमा ओर्लिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका डा. निरज सिंहले बताए। सांकेतिक रूपमा हामीले एक घण्टा कामलाई थाती राखेर प्रदर्शनमा आएको उनको भनाइ छ।
नेपाली सारालाई बचाउने स्वास्थ्यकर्मीहरूले एउटा चिकित्सक उता मर्दै गर्दा चुप लागेर बस्नु हुँदैन भनी आफूहरू नेपाल सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएको वीरगन्जका स्वास्थ्यकर्मीहरूको भनाइ छ। सडकमा उत्रिएका स्वास्थ्यकर्मीहरूले माफियामुखी ऐन चाहिँदैन, माफिया पाल्न पाइँदैन भन्नेजस्ता प्लेकार्डहरू छातीमा टाँसेर र्याली निकालेका थिए। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट सुरु भएको र्याली वीरगन्जको घण्टाघर चौकमा पुगी कोणसभामा परिणत भएको थियो।
सडकसम्म ओलिएका स्वास्थ्यकर्मीहरूमा नजिकैको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको भने उपस्थिति नभएको आन्दोलित स्वास्थ्यकर्मीहरूले बताए। नेशनल मेडिकल कलेज गोविन्द केसीको समर्थनमा नरहेकोले त्यहाँका स्वास्थ्यकर्मीहरू भने डा केसीको समर्थनमा गरिएको आन्दोलनमा सहभागी नभएको आन्दोलित स्वास्थ्यकर्मीहरूको भनाइ छ।
source:thahakhabar.com