१८ हजार नागरिकताका प्रमाण जलाइयो

जेठ १७, २०७५ पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले कार्यालय प्रयोजनमा ल्याउन नमिल्ने १८ हजार नागरिकताका प्रमाणहरु नष्ट गरेको छ।  कार्यालयले बुधबार प्राङगणभित्रै १७ हजार ९५३ वटा नागरिकताका पुराना प्रमाण नष्ट गरेको हो। जिल्ला प्रशासन कार्यालय, पर्वतबाट २०६९ साउन महिनाबाट सिम्स सफ्टवेयर प्रयोग गरी कम्प्यूटर प्रणालीबाट नागरिकता वितरण गर्न शुरु गरेपछि अहिले उक्त फाइल रेकर्ड नष्ट गरिएको हो।

गत वर्षसम्म जिल्लाको दुर्गममा आयोजना गरिने घुम्ती शिविरमा ती हस्तलिखित नागरिकता कार्ड प्रयोजनमा ल्याइएको भए पनि अहिले घुम्ती शिविरमा समेत कम्प्युटर प्रणालीबाट नागरिकता वितरण गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त बताए।  सोसँगै जिल्ला प्रशासन कार्यालय, पर्वतले कार्यालयको स्टोरमा थन्किएका पुराना कागजातसमेत नष्ट गरेको छ।

स्टोर शाखा प्रमुख नारायण अधिकारीका अनुसार पुनःप्रयोगमा ल्याउन नसकिने छापहरु तथा २०५० देखि ०६५ सालसम्मका चलानी रजिष्ट्रारसमेत नष्ट गरिएको बताए।  प्रविधिको विकाससँगै हस्तलिखित कागजात नष्ट गरिने भएको छ। अहिले गाउँगाउँमा सञ्चालन हुने घुम्ती शिविरमा समेत कम्प्यूटरकै प्रयोग हुने गरेको छ। यसैबीच, जिल्ला प्रशासन कार्यालयले विकट गाउँका बासिन्दालाई गाउँमै सेवा दिने उद्देश्यले शुक्रबार र शनिबार महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा नागरिकता वितरण घुम्ती शिविर आयोजना गरेको जानकारी दिएको छ।
source:thahakhabar.com

धूमपानको असर : मुख साघुँरिने समस्यादेखि क्यान्सरसम्म

जेठ १७, २०७५ काठमाडौं : धूमपान तथा सुर्तीजन्य प्रदार्थको सेवनले विश्वमा बर्सेनि करोडाैं मानिसको मृत्यु हुन्छ। विश्व स्वास्थ्य संगठन अनुसार विश्वका ८० करोड मानिसले सुर्तीजन्य प्रदार्थको सेवन गर्छन् भने हरेक वर्ष पाँच करोड मानिसले ज्यान गुमाउँछन्। १० अर्ब धूमपानका अम्मलीमध्ये ८० प्रतिशतभन्दा बढी न्यून र मध्यम आय भएका मुलुकमा बस्ने गरेको बताइन्छ। नेपालमा धूमपान तथा सुर्तीजन्य पदार्थका कारण बर्सेनि २५ हजारले ज्यान गुमाउने गरेको अनुमान गरिएको छ।

धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले धेरै फोक्सो, पेटको क्यान्सर मुटुरोग हुन्छ। धूमपान नगर्नेको तुलनामा गर्नेलाई लाग्ने सर्ने रोग मध्ये ७० प्रतिशत नसर्ने रोग धूमपान तथा सुर्तीजन्य प्रदार्थको सेवनले लाग्ने चिकित्सकहरु बताउँछन्। धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले  धेरैलाई पेट , फोक्सो को क्यान्सर धेरै हुने जानकारी भए पनि यसको सेवनले मुखमा पुर्‍याउने असरबारे धेरैलाई थाहा नहुन सक्छ।

धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले मुखमा पुर्‍याउने असरबारे कान्तिपुर डेन्टल कलेजमा कार्यरत मुख तथा दन्तरोग विशेषज्ञ डा. रोजिना भट्टराईको टिप्स– तत्कालीन असर धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरूमा तत्कालीन समयमा दाँत पहेँलो हुने, गिजामा सुन्निने,  खैनी तथा गुट्टा राख्ने ठाउँको छाला फाट्ने तथा रातो हुने गर्छ। यसका कारण खानेकुरा खाँदा मुखभित्र पोल्ने हुन्छ। मुख्य कुरा, सुर्तीजन्य पदार्थ खाने तथा धूमपान गर्नेहरु अरुको तुलनामा मुख राम्रोसँग खोल्न सक्दैनन्।

सुर्तीजन्य पदार्थ खाने तथा धूमपान गर्नेहरुलाई ‘ओरोसपन्यो साइपसिस’ भन्ने रोग लाग्छ। हाम्रो मुखको माथिल्लो भाग, गालाको भित्री भाग र टन्सिल एरियामा कडा खालको एक पदार्थ बन्छ। यसकारण मुख राम्रोसँग खोल्न मिल्दैन। यो पनि मुख क्यान्सरको सुरुवाती अवस्था हो। समान्यतया मानिसहरूले तत्कालीन रूपमा देखिने समस्यालाई वास्ता गर्दैनन् तर यस्ता समस्या लामो समयसम्म राख्दा अन्य गम्भीर समस्या देखिन्छ।  दीर्घकालीन असर धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई पछि गएर मुखको क्यान्सर हुने ९० प्रतिशत सम्भावना हुन्छ।

राम्रो समयसम्म चुरोट खानेहरुको मुखको भित्रीभागको छालामा मसिनो मसिनो बिबिरा अाउने र पछि गएर त्यसले क्यान्सरको रूप लिने हुन सक्छ। सुर्तीजन्य पदार्थ, सुपारीजन्य पदार्थ, अन्य अखाद्य पदार्थको सेवन, मद्यपान र रासायनिक पदार्थको प्रयोग गर्नेहरूलाई मुखको क्यान्सरले सताउन सक्छ।  बच्न के गर्ने ? सुर्तीजन्य तथा धूमपान पदार्थ मुखको क्यान्सर हुने प्रमुख कारण हो। मुखको क्यान्सर हुने ७५ प्रतिशभन्दा बढीले सुर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ। धूमपानबाट मुखमा ३५ किसिमका रोग लाग्न सक्छ। यसको सेवनले मुखमा विभिन्न दाग देखिन सक्छ। कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ, त्यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ।
source:thahakhabar.com

नेकपा र फोरम गठबन्धन कसरी सम्भव भयो ?

काठमाडौं, जेठ १६ – प्रदेश नम्बर २ मा फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन आइतबार नेपाल कम्युनिष्ट पार्टीले फिर्ता लियो ।

अचानक जस्तै गरी आएको यो निर्णयपछि थरिथरिका अनुमान भए । फोरम र राजपाले संघीय सरकारलाई दिएको समर्थन फिर्ता नलिएको तथा कुनै खटपट पनि नदेखिएको अवस्थामा प्रदेश सरकारलाई नेकपाको समर्थन फिर्ता हुनुको कारण फोरमको सरकार ढाल्न र राष्ट्रिय जनता पार्टीसँग मिलेर आफ्नै सरकार बनाउनु हुनसक्ने अनुमान रचर्चा गरियो ।

समर्थन फिर्ता लिएको २४ घण्टा नबित्दै फेरि त्यस्तै अचानक जस्तैगरी फोरम नेपालले पनि संघीय सरकारमा सहभागी हुने सम्झौतामा नेकपाका दुवै अध्यक्षसँग सम्झौता गर्यो । जसले बाहिर मात्र होइन, फोरम नेपालभित्रै पनि तरंग पैदा गरेको थियो ।

अचानक सतहमा आएका यी घटनासँगै केन्द्रदेखि प्रदेशसम्मको नेपाली राजनीति तरंगित भएको छ ।

कसरी भयो सहमति ?

तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रमा सरकार गठन भएसँगै सरकारमा सहभागी हुन खुट्टा उचालेर बसेको फोरम मन्त्रालयको बाँडफाँडमा असन्तुष्ट भएर पछि हटेको थियो । तर कम्युनिष्ट पार्टीसँग निकट र राजपाको लाइनसँग असहमत रहेका उपेन्द्र यादवका लागि एमाले माओवादी र अहिलेको नेकपासँगको सम्बन्ध सुमधुर बनाउनुको विकल्प थिएन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त यादवलाई पार्टी एकतामै सामेल हुन आग्रह गर्दै आउनुभएको थियो । पार्टी एकतामा सामेल गराउन नसकेपनि फोरमलाई सरकारमा सहभागी गराउन भने उहाँलाई सफलता मिलेको छ ।

केन्द्रमा सत्ता साझेदारी गर्ने समझदारी गरेसँगै नेकपाले प्रदेश नम्बर २ को सरकारलाई दिएको समर्थन फिर्ता लिनु झट्ट हेर्दा अनौठो जस्तो देखिएपनि अन्तर्यमा यो आपसी तालमेलमै भएको विश्लेषण गर्न सकिने प्रशस्त आधार छन् ।

फोरम सरकारमा जाने विषयमा प्रचण्ड निवासमा थुप्रै पटक भेटघाट र छलफल भएको थियो । फोरम अध्यक्ष उपेन्द्र यादव आफै प्रचण्डलाई भेट्न पटक पटक खुमलटार पुग्ने गर्नुभएको थियो ।

सरकारमा सहभागी नहुने निर्णय गरेपनि फोरम र नेकपाबीचको सम्बन्ध बिग्रिसकेको थिएन । यसबीचमा प्रचण्डसँग यादवले पटकपटक छलफल गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा फोरमले संशोधन प्रस्ताव फिर्ता लिएर समर्थन गरेसँगै सरकारमा सहभागि हुने वातावरण बनेको नेताहरुले बताएका छन् ।

सरकारमा फोरम

संविधान संसोधनलाई मुख्य मुद्दा बनाएर सरकारमा जाने सहमति गरेको फोरमले केन्द्रमा दुई मन्त्रालय पाउने भएको  छ । कुन कुन मन्त्रालय लिएर सरकारमा जाने भन्नेबारे अहिले नै निर्णय भइनसकेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । ‘मन्त्रालयका विषयमा अहिले नै सहमति भइसकेको छैन’ उहाँले भन्नुभयो, ‘केन्द्र सरकारमा सहभागी हुने सहमति भएको छ । अब छलफलपछि मन्त्रालयको टुंगो लगाउँदै हामी सरकारमा सहभागी हुन्छौँ ।’

अहिले सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्रीसँग छ । यी दुबै मन्त्रालय फोरमलाई दिन नेकपा तयार छ । पार्टी अध्यक्ष उपेन्द्र यादव यसअघि नै उपप्रधान सहित परराष्ट्रमन्त्री बनिसकेकाले त्यो भन्दा तलको वरियतामा सरकारमा सहभागी हुने कि नहुने टुँगो लागेको छैन ।

प्रदेश २ मा नयाँ समिकरणको सम्भावना

प्रदेश नम्बर २ मा फोरम नेतृत्वमा फोरम र राजपाको गठबन्धनको सरकार छ  । नेकपाले समर्थन फिर्ता लिएपनि फोरम र राजपासँग बहुमत कायमै छ । तर केन्द्रीय स्तरको सहमतिले प्रदेश नम्बर २ मा पनि फोरम र नेकपाको मिलिजुली सरकार बन्ने र राजपा सत्ताबाट बाहिरिने सम्भावना बढेको छ ।

के भन्छ राजपा ?

पछिल्लो समय देखिएको राजनीतिक परिवर्तनलाई राजपाले आश्चर्यको रुपमा हेरेको वताएको छ । २०६२÷०६३ को मधेस आन्दोलन र ०७२÷०७३ तथा अन्य विभिन्न चरणमा भएको मधेस आन्दोलनका माग अझैसम्म सम्बोधन नभइरहेको अवस्थामा फोरम सबै माग लत्याउँदै सरकारमा जानुले मधेस र मधेसी आश्चर्यचकित बनेको राजपाका महासचिव केशव झाले बताउनुभयो ।

सत्ताकोलागि मधेसी नागरिकलाई फोरमले भर्याङ् बनाउने काम मात्रै गरेको भन्दै उहाँले मधेस र मधेसीको हक अधिकार दिलाउन संघर्ष अझै यथावत रहेको पनि बताउनु भयो ।

प्रदेश २ को सरकार अब के हुन्छ भन्ने प्रश्न उठेको भन्दै उहाँले राजपा अहिले नै सरकार छाडेर बाहिरिने मुडमा नभएको पनि प्रष्ट पार्नुभयो । फोरमले सरकारबाट बाहिर पठाउन खोजे आफूहरु सौहाद्र्धपूर्ण तवरले बाहिरिन तयार रहेको र कसैको बाधक बनेर बस्ने चाहना पनि नभएको उहाँको भनाइ थियो । पछिल्लो घटनाक्रमबारे राजपा अध्यक्ष मण्डलका सदस्यको बैठक बसेर आवश्यक निर्णय लिइने पनि महासचिव झाले बताउनुभयो ।

ध्रुवीकरणको सम्भावना

यो घटनाले अब राजनीतिक धु्रवीकरणलाई अझ पेचिलो बनाएको टिप्पणी हुन थालेको छ । अब नेकपा र फोरम एकातिर तथा कांग्रेस र राजपा एकातिर हुने सम्भावना बलियो बनेको आँकलन गर्न सकिन्छ । यसो भयो भने राप्रपाले एउटा कित्ता क्लियर गर्नुपर्नेछ ।

नयाँशक्ति र विवेकशील साझा राजनीतिको तेस्रो धारका रुपमा रहिरहन सक्छन् । त्यसो त उनीहरुसँग कुनै एक मुख्य धारमा समावेश हुनसक्ने अधिकार पनि सुरक्षित छँदैछ ।   source:ujyaaloonline

नेकपाको नामबाट अण्डरलाइन हट्ने

काठमाडौं, जेठ १७ – एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी मुनि अण्डरलाईन दिएर दल दर्ताका लागि निवेदन दिएकोमा त्यसलाई संशोधन गर्दै कोष्टमा नेकपा थप्ने र अण्डरलाईन हटाउने निर्णय भएको नेकपाका मुख्य सचेतक देब गुरुङले जानकारी दिनुभयो ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको दल पहिल्यै दर्ता भएकाले नाम फेर्न धेरैतिरबाट सुझाव आएकाले नाम संशोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्नेगरि आयोगलाई पत्राचार गरिएको प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा ऋषी कट्टेल अध्यक्ष रहेको दल यसअघि नै दर्ता भएको छ ।  source:ujyaaloonline

अबैध मदिरा नियन्त्रण समिति को बैठक सम्पन्न

हिम जिसी लेकाली,अर्घाखाँची १६ जेष्ठ

अबैध मदिरा नियन्त्रण समिति को बैठक कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख सालिग्राम शर्मा पौडेलको अध्यक्षतामा सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकमा समितिले गरेका कार्यहरूको बारे प्रकाश पारिएको छ । बैशाख मसान्तसम्म समितिले ६०७ जना नबिकरण , ६६ जना नयाँ दर्ता र ४० लाख लाईसेन्स रिन्यु बाट प्राप्त भएको कोलेनिका प्रमुखले बताउनु भयो ।

समितिले पाणिनि गाउँ पालिकाको विभिन्न स्थानमा अनुगमन गरेको छ । बैठकले होटल ब्यबसायिक संघ र उद्योग बाणिज्य संघ लाई अन्तशुल्क ईजाजत पत्र नविकरण र नयाँ बनाउनकालागि सम्बन्धितलाई जागरुक बनाउन अनुरोध गरेको छ ।बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर प्र भसाल ,उबासंघका महा सचिब नेत्र भुसाल , होटल ब्यबसाई संघका नोलराज भण्डारी ,प्रनानि राज किशोर शाह ,पत्रकार हिम लेकालिको उपस्थिति रहेको थियो ।