घनश्याम पौडेल,सन्धिखर्क, १४ जेठ
महिनावारी हुनुलाई अशुद्ध वा अछूतको रुपमा विभेद गरिनु नराम्रो भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा ‘अति भयो, महिनावारी सबै सीमाहरू तोडौं’ भन्ने नाराका साथ छैठौं बिश्व महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रकाश सचेतन समुह प्रागका अध्यक्ष बाबुराम शर्माले ‘महिनावारी स्वभाविक शारीरिक प्रक्रिया हो, महिलाहरुका लागि यो विशिष्ट अवस्था हो, ‘यो बेला महिलाहरुको स्वास्थ्य र सरसफाइको उचित हेरचाह गर्नुपर्छ, अशुद्ध भएको भनी विभेद गर्ने होइन ।’
कानूनी हिसाबले सबैखाले विभेदलाई सामाजिक अपराधका हिसाबले राज्यले नै घोषणा गरिसकेको बताउँदै प्रागका कार्यकारी निर्देशक प्रेमनारायण गैरेले हरेक नागरिकलाई यसबारे जागरुक बनाउन व्यापक जनचेतना फैलाउनुपर्ने बताए । उनले ‘समाजका कूरीति, अन्धविश्वास र विभेदलाई हटाउन व्यापक जनचेतना जगाउनुपर्छ, हामीले जिल्लाका विभिन्न ठाउँमा दिवस मनाएका छौं, यसबाट नागरिक जागरुक बनाउन सहयोग पुग्ने अपेक्षा लिएका छौं गैरेले भने ।
नेपाली समाजका सबैखाले विभेदहरुको अन्त्यका संस्कार वा चालचलनका नाममा हुने जातीय, लैंिगक, सामाजिक, साँस्कृतिक विभेदहरुको अन्त्यका लागि सबै एकताबद्ध भएर लाग्नुपर्नेमा कार्यक्रममा सहभागी विद्यार्थीहरुले जोड दिए ।कार्यक्रममा सरसफाई अधिकृत सुमन ढुंगानाले महिनावारी सम्बन्धी जनचेतना फैलाउने सचेतना मुलक सामाग्री भिडियो मार्फत विद्यार्थीलाई देखाए । जिल्लामा पहिलोपटक कार्यक्रम मनाईएको हो ।