बल्कोट पौवा : जहाँ जंगबहादुरको न्वारन गरिएको थियो

प्रेमनारायण आचार्य

अर्घाखाँची, जेठ १० – जंगबहादुर राणाको न्वारन भएको स्थान भनेर चिनिने बल्कोटको पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

अर्घाखाँचीको छत्रदेव गाँउपालिकामा पर्ने लामो इतिहास बोकेको ऐतिहासिक पौवामा दिनहुँजसो राजनीतिक भेटघाट र कार्यक्रमहरु भए पनि यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन ।

प्रधानमन्त्री जंगबहादुर राणाको पालामा तत्कालीन कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा अत्यन्तै आकर्षक शैलीमा बनाइएको पौवाभित्र शिवालय मठ, तथा अन्य मन्दिरहरु समेत रहेका छन ।

विक्रम सम्वत १९०४ सालमा निर्माण गर्न सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिरहरु निर्माण गरिएको स्थानीय नागरिक ७५ वर्षीय टेकराज पौडेलले बताए ।
जंगबहादुरको बुवा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइएको थियो । जुम्लामा उनी श्रीमतीलाइ लिएर गएका थिए । जुम्लामै रहँदा श्रीमती गर्भवती भइन । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भिमसेन थापाकी बहिनी थिइन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वांगलामा रहेका लामपाटी अर्थात मथुरामा १८७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन् । जंगबहादुर ७ महिनामा जन्मिएका थिए ।

त्यसबेला लामपाटीमा घनाघोर जंगल रहेको थियो । नजिकैका पाण्डे थरका कृषकहरुले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाइ राखेका थिए । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरुले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह  राखेको संस्कृतिमा रुची राख्ने स्थानीय नारायण भट्टराइले बताए ।

सुत्केरी दरिली भएपछि उनी माइती गोर्खा गएकी थिइन । पछि वीरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो उनको भनाई छ ।
जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरेका छन् । उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरुको भनाई रहेको छ ।

इतिहासकार प्राध्यापक दिनेशराज पन्त र युवराज शमशेर जबराले जंगबहादुर लाम्पाटीमा जन्मिएको र वल्कोटको पौवामा आएर न्वारन भएको र पछि त्यसै स्थानमा कर्णेल सनदसिंह टण्डनको नेतृत्वमा विचित्रको पौवा निर्माण भएको  उल्लेख गरेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । पौवाको विषयमा तत्कालीन राजा सुरेन्द्र शाहको पालामा चार वटा लाल मोहर लागेका थिए । ती लाल मोहर तथा इतिहासकारहरु प्रोफेसर पन्त र जवराको विष्लेषणलाई आधार बनाएर अर्घाखाँची सम्पर्क सदनको चिनारी २०७२ मा समावेशस गरिएको उनले बताए ।

आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि जंगबहादुर आफैले कर्णेल सनदसिंहलाई लगाएका थिए ।

पौवा तथा मन्दिर निर्माण गरिसकेपछि सञ्चालनको लागि सयाैँ बिगाहा जमिन गुठीमा समेत रहेको छ ।  केही समयअघि सम्म पौवामा रहेको मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाजा बजाउनेको समेत व्यवस्था थियो । छत्रदेव गाँउपालिका वडा नम्बर २ का अध्यक्ष राजेश पन्थीका अनुसार अहिले पूजाआजा भैरहे पनि दैनिक बाजा बजाउने कार्य भने हटेको छ ।

पौवामा काठका आकृतिमा यौन अंग र विभिन्न यौन आसन देखाइएको छ । पौवा निर्माण गरेका कालीगढको हात राणाकै पालामा काटिएको पनि स्थानीयले बताउँछन । तर कसले, कहिले, कसको हात काटेको भन्ने कसैले बताउन सकेका छैनन ।

कर्णेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, रिडीको बगैँचा, पाल्पा अर्गलीको बगैँचा, जोर्तको पौवा र वाटोमा रहेका गौमुखी धाराहरु निर्माण भएको सामाजिक संस्कृतिको अध्ययन गरिरहेका नारायण भट्टराइले बताए ।

बल्कोटको पौवा, मन्दिर र गुठीलाई संरक्षण गरी प्रचारप्रसार गर्ने उदेश्यले २०६६ सालमा डाक्टर गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनवन्धु पोखरेलको प्रवचनमा महायज्ञ लगाइएको थियो । महायज्ञ लगाएपछि प्रचार प्रारमा अघि बढ्न खोजे पनि प्रचार ्रसार हुन नसकेको स्थानीय युवा पिताम्वर खनालले बताए । लामो इतिहास बोकेको क्षेत्र भए पनि प्रचारप्रसारमा कसैले चासो नदिएको उनको भनाई छ ।

सन्धिखर्क–बल्कोट–तम्घास सडकको छेउमा पर्ने राणाकालीन इतिहास बोकेको पौवाको प्रचारप्रसार गर्न सकेमा पर्यटकीय स्थल बनाउन सकिन्छ । यसका लागि सबैले पहल गर्न जरुरी छ ।  source:ujyaaloonline

त्रिभुवन विमानस्थल नजिकै नक्कली विमान दुर्घटना

काठमाडौं, जेठ १० – ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको छ । विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् ।

तर यो साँच्चिकै दुर्घटना नभई दुर्घटना भयो भने कसरी उद्धार गर्ने भन्ने बारेको आकस्मिक अभ्यास हो । त्रिभुवन विमानस्थलमा विहीबार यसरी आकस्मिक अभ्यास गरिएको हो ।

खनालपुर विमानस्थल भनेर काल्पनिक विमानस्थलको नाम दिइएको विमानस्थल कार्यालयले जनाएको छ ।  दुर्घटना भएमा कसरी तत्काल उद्धार गर्ने र क्षति हुनबाट जोगाउने भन्ने बारेमा अहिले अभ्यास भइरहेको हो । स्वास्थ्य मन्त्रालय र नागरिक उड्डन प्राधकिरणले विमानस्थलमा आकस्मिक अभ्यास गरेका हुन् । बिभिन्न प्राविधिक नाम दिएर आकस्मिक अभ्यास गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

source:ujyaaloonline

नेकपाको पहिलो बैठक आज

काठमाडौं, जेठ १० – नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी छ ।

जेठ ३ गते घोषणा भएको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय बनाइएको छ ।

जेलबाट बालकृष्ण ढुंगेलको सन्देश: सम्भवत छुट्छु , ढुंगेलसहित ९४८ जनाको नाम सिफारिस

 

जेठ ९, २०७५ काठमाडौं : जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले देश भरिका ९४८ जनाकैदीलाई आममाफि दिने तयारी गरेको छ। कारागार व्यवस्थापन विभागका अनुसार जेष्ठ नागरिक, रोगी र अनुशासनको पालना गरेका र कैद सजायको ४० प्रतिशत भन्दा बढी कैद सजाय भोगिसकेका ९४८ कैदीहरुलाई अाममाफीको लागि सिफारिस गरेको जनाएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष ऐन–नियमअनुसार केही कैदी बन्दीलाई आममाफी दिने चलन रहदै आएको छ। कारागार व्यवस्थापन विभागका अनुसार यसरी आममाफी सिफारिसमा हत्या अभियोगमा अदालतबाट सजाय पाएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंङगेल समेत रहेका छन्। डिल्लीबजार कारागारका अनुसार ढुंङगेल लगायत डिल्लीबजार कारागारबाट यसरी माफी सिफारिसमा २९ जनाको नाम सिफारिस भएको छ।

त्यस्तै केन्द्रिय कारागार सुन्धराबाट ६२ जना र ललितपुर नक्खु कारागारबाट ७५ जनाको नाम आममाफीको लागि सिफारिसमा परेका छन्। यसरी देशभरीका कारागारबाट ९४८ जनाको नाम आम माफीकालागि कारागार व्यवस्थापन विभागले गृहमन्त्रालयलाई पठाएको हो। यसरी पठाएको नाम गृहमन्त्रालयले मन्त्रीपरिषदमा लिने गर्दछ। मन्त्रीपरिषदले सिफारिस गरेको नामलाई राष्ट्रपतिले आममाफी दिने चलन रहेको छ। गृह मन्त्रालय स्रोतका अनुसार आउने सोमबारको मन्त्रीपरिषद बैठकमा आममाफीको नामावलीको अन्तिम टुङ्गो लाग्ने छ।

आममाफी सिफारिसमा परेका ढुंङगेलको यस्तो थियो अभियोग ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा बालकृष्ण ढुंङगेल हाल डिल्लीबजार कारागारका जेल जीवन भुक्तान गरिरहेका छन्। उनलाई ०७४ कात्तिक महिनामा प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो। ढुंङगेलले यसअघि पनि उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा करिब ८ वर्ष जेल जीवन भुक्तान गरिसकेका छन्।

ढुंङगेलमाथि २०५५ असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो। सोही अभियोगमा जिल्ला अदालत ओखलढुंगाले उनलाई २०६१ वैशाख २१ गते जन्मकैदको फैसला गरेको थियो। जिल्ला अदालतको फैसला अनुसार जेल बसेका ढुंङगेल पुनरावेदन अदालत राजविराजले २०६३ सालमा उल्टाएपछि उनी जेलमुक्त भएका थिए। तर २०६६ पुस १९ मा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी पक्राउ परेका थिए। के छ ढुंङगेलको प्रतिक्रिया ? डिल्लीबजार कारागारकामा जेल जीवन भुक्तान गरिरहेका तर यदाकदा घुमफिरको स्वतन्त्रता पाइरहेका बालकृष्ण ढुंगेल आफूविरुद्ध ‘कुनै षड्यन्त्र नभए’ सम्भवत यहि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा  मुक्त हुनेमा विश्वस्त छन्।

यसबारे उनको प्रतिक्रिया बुझ्न डिल्लीबजार कारागारमै पुग्दा गाढा निलो रंगको टिसर्ट, कालो ट्राउजर, लामो सिल्की कपाल सरलक्क पारेर पछाडि फर्काएका थिए उनले। झट्ट हेर्दा भारतीय चलचित्र सिम्घमका हिरो सूर्यका झै जुँघा थिए ढुंङगेलका । खुट्टामा भने चप्पल लगाएका भेटिए। भेट हुनसाथ हात मिलाउन नपाउँदै  उनले भने- सन्चै हुनुहुन्छ भनेर नसोध्नु होला। मन बुझाईरहेको छु। यसो भन्दा उनको मुहारमा थोरै निरासा धेरै चमक थियो। उनलाई भेट्ने ठाँउ ठूलै थियो। करिब एक घण्टाको समयमा उनलार्इ भेट्न थुप्रै नेता कार्यकर्ता अाए। नेता कार्यकर्ताले उनलाई पछिल्लो राजनितीक घट्ना क्रमको बिफ्रिङ समेत गरिहरेका थिए। भेटघाटको अन्त्यमा आम माफीको विषयमा बुझ्दा उनले खुलेर कुरा गरेनन्।

 तर उनले अाफू जेलबाट निस्कनेमा ढुक्क जस्तै रहेको बताए। ‘आम माफीका लागि सिफारिस परेको मेरो नाम हटाउन करोडौ रुपैंया  खर्च गर्ने गिरोह बजारमा छ,’ उनले मुसुक्क हाँसेर भने, ‘यसबाट बचियो भने सम्भवत निस्किन्छु।’ धार्मिक मान्यता अनुसार स्वर्गलोक र ब्रह्मलोक हुने बताउँदै उनले अाफू फर्किन लागेकाे विषयलार्इ स्वर्गलाेकसँग तुलना गरे।  के छ कार्यविधिमा? सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधी २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ। तर यसको बुँदा ३ मा भ्रष्टाचार, जबर्जस्ती करणी, सरकारी कीर्ते, संगठीत अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिमै उल्लेख छ। ढुंगेल भने कर्तब्य ज्यान मुद्दामा अदालतबाट हत्याराको ठहर भई काराबासको सजायमा परेका हुन्।
source:thahakhabar.com

सन्दीपले उपहारस्वरुप पाए २५ लाखकाे कार

काठमाडौं, जेठ ९ – नेपाली यू १६ टोलीका लेग स्पीनर सन्दीप लामिछानेलाई टाटा मोटर्सले टाटा टिगोर कार उपहार दिएकाे छ ।

बुधबार साँझ काठमाडौंको सोल्टी होटलमा एक कार्यक्रममा लामिछानेलाई कार पुरस्कार दिइएकाे हाे । टाटा मोटर्सले सन्दीप लामिछानेलाई ३ वर्षका लागि ब्राण्ड एम्बेस्डर बनाएर करीब २५ लाख रुपैयाँ मूल्य पर्ने टाटा टिगोर कार उपहार दिएकाे हाे ।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सन्दीपलाई टाटा टिगोर गाडीको साँचो हस्तान्तरण गर्नुभएको हो ।  कारको करलगायत सम्पूर्ण खर्च सन्दीपले ब्यहोर्नुनपर्ने सिप्रदीले जनाएको छ ।

त्यसका लागि सन्दीपले सिप्रदीसँग आउँदो तीन वर्षका लागि ब्राण्ड एम्बासडरको सम्झौता गरेका छन् ।

source:ujyaaloonline