सन्धिखर्क , जेठ ७ नेपाल मुस्लिम संघ जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको छ । मुस्लिम समुदायलाई राज्यले दिदै आएको पर्व र सार्वजनिक विदाहरूलाई हटाएको भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा मदरसा शिक्षालाई राष्ट्रिय मूलधारमा ल्याउनुपर्ने, राज्यका हरेक निकायमा मुस्लिम समुदायको समान प्रतिनिधित्व र आरक्षण हुनुपर्ने, कबरस्थानको उचित व्यवस्थापन हुनुपर्ने र सम्वैधानिक मुस्लिम आयोगलाई कृयाशील बनाउनुपर्ने लगायतका मागहरू रहेका छन । मुस्लिम संघका केन्द्रिय सदस्य समशेर दीन मिया, जिल्ला कार्य समितिका अध्यक्ष मुस्ताक अली, उपाध्यक्ष, सचिव र सल्लाहकार लगायतको टिमले ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर प्रसाद भुसाललाई बुझाएको हो ।
नेपालको कुल जनसंख्याको १० प्रतिशत भन्दा बढी मुस्लिम समुदायलाई दोस्रो दर्जाको नागरिक सम्झनु, मुस्लिम समुदायबाट सहादत प्राप्त सहिदको अपमान गर्नु, इस्लाम धर्मलम्बीप्रति अनास्था गर्दै आएको समेत गुनासो छ । मुस्लिम समुदायलाई वेवास्ता नगर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । केन्द्रिय समितिको निर्णय अनुसार आज देशैभर जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको जनाइएको छ । source:arghakhanchibulletin.com