आईपीएल २०१८ : आफ्नो अन्तिम खेलमा पनि सन्दीपको गजप प्रदर्शन

जेठ ६ – आईपीएल क्रिकेट २०१८ को आफ्नो अन्तिम खेलमा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका छन् ।

सन्दीपले पहिलो ओभरमै सुर्यकुमार यादवको विकेट लिएका थिए । आफ्नो दोश्रो ओभरमा उनले २ विकेट थपे । तेश्रो र चौथो ओभरमा भने उनले विकेट लिन सकेनन् । उनले ४ ओभरमा ३६ रन दिए ।

उनको बलमा मुम्बईका ब्याट्म्यानले ३ चौका २ छक्का हाने भने सन्दीपले एउटा वाइड बल फाले । सन्दीपको टीम दिल्ली डेयरडेभिल्स प्रतियोगिताबाट बाहिरिइसकेपछि मात्र उनले खेल्ने मौका पाएका हुन् । सन्दीपले आफ्नो पहिलो र दोश्रो खेलमा पनि उत्कृष्ट बलिङ गरेका थिए ।

source:ujyaaloonline

एम्स सोसाइटी सन्धिखर्क द्वारा सन्धिखर्कमा सुरु भएको क्रिकेट प्रतियोगिता सम्पन्न

हिम जिसी लेकाली, अर्घाखाँची ६ जेष्ठ

एम्स सोसाइटी सन्धिखर्क अर्घाखाँचीद्वारा सन्धिखर्कमा ज्येष्ठ २ गतेबाट सुरु भएको क्रिकेट प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।

कार्यक्रममा नगरप्रमुख कमलप्रसाद भुसाल तथा उपप्रमुख ठाकुर कुमार बिक किशोरले पुरस्कृत हुनेहरूलाई ट्रफी, प्रमाणपत्र, र नगद पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा २४ टिम सहभागी भएका थिए ।

प्रतियोगितामा प्रथम पुरस्कार २२ हजार २ सय २२ प्राप्त गरि एम्स क्लब सन्धिखर्क ट्रफी, प्रमाणपत्र र मेडलले सम्मानित भएको छ । द्वितीय स्थान एसिए अर्घा क्रिकेट क्लबले ११ हजार १ सय ११ प्राप्त गरि उप विजेता भएको छ । खेलका म्यान अफ द सिरिज मनोज सापकोटाल १ सय ८० रन हानी उत्कृष्ट खेलाडी भएका छन । समापन समारोहको अध्यक्षता अशोक भुसाल र सन्चालन एम्स सोसाईटीका ऋषिकेश भट्टराईले गर्नुभएको थियो ।

जिल्ला बाल कल्याण समिति अर्घाखाँचीको बैठक सम्पन्न

हिम जिसी लेकाली,अर्घाखाँची ६ जेष्ठ

जिल्ला बाल कल्याण समिति अर्घाखाँचीको बैठक समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले अरूको आश्रयमा बाँच्न बिबस ,आमा,वुबा नभएका ,आर्थिकरूपले बिपन्न जिल्लामा रहेका दिन दुखिहरू लाई आर्थिक सहयोग गरेको छ ।

महिला तथा बालबालिका कार्यालयको स्वीकृत बार्षिक कार्यक्रम अनुसार सहयोग रकम हस्तान्तरण गरियको हो । रकम पाउनु हुनेहरूमा प्रेम मुखिया ,राजु मुखिया ,प्रितम नेपाली ,अर्जुन नेपाली स.न.पा २ , मनु नेपाली स. न. पा. ८, बबिता खत्री शितगङ्गा ९, केशव पन्थी, शिवलाल मुखिया, अन्शु भुसाल छत्रदेव ९ का गरि जम्मा ९ जनालाई जनही पाँच हजार र एकजना दूर्गम क्षेत्र सिद्धाराकी बबिता खत्रीलाई रु. ७ हजार प्रदान गर्ने बैठकले निर्णय गरेको छ । कार्यक्रमलाई महिला तथा बालबालिका कार्यालयकी विमला लम्सालले सहजी गर्नुभएको थियो ।

 

संघीयता सफल भए देशकै अस्तित्व समाप्त हुने -राजमो अध्यक्ष केसी

श्याम घिमिरे अर्घाखाँची ६ जेष्ठ

पुर्ब उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघियता सफल भएमा देशकै अस्तित्व समाप्त हुने बताउनु भएको छ । संसदमा संघियताको बिषयमानै छलफल नगरी जबर्जस्ती रुपमा ल्याइएको संघियताले देशको अस्तित्व नै समाप्त हुने भन्दै नेता केसीले राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई खतम पार्नका लागि विस्तारवादी शक्तिहरुकोे डिजाईनमा संघियता भित्राइएको बताउनु भएको छ ।

प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा समसामुयिक बिषयबस्तुमा मनतब्य राख्दै नेता केसीले यस्तो बताउनु भएको हो । आफुहरुले उठाएका जायज मागहरु ओझेलमा परेपनी नेपाली जनताले अन्तत संघीयतालाई खारेज गरेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षा गर्नेमा पार्टी विश्वस्त रहेको भन्दै सत्ताधारीहरुले परिवर्तनका कुरा जतिसुकै गरेपनि देशको राष्ट्रियता र अर्थतन्त्र संकटमा पर्दे गएकोले सबै नेपाली सचेत हुनुपर्नेमा जोड समेत दिनुभएको थियो । त्यस्तै अध्यक्ष केसीले दुई कम्युनिष्ट पार्टीको एकतालाई आफ्नो पार्टीले स्वागत गरेको भएपनी आफुहरु भने एकतामा नजाने बताउनु भएको थियो ।

कार्यक्रम प्रगतिशिल पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष बिनोद गैरेको अध्यक्षता,उपाध्क्ष गोपाल भट्टराईको स्वागत मनतब्य र सचिब जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न भएको थियो ।

 

प्रेम विवाह बन्यो मृत्युको कारण : फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या

प्रेम विवाह बन्यो मृत्युको कारण  : फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्याप्रेम विवाह बन्यो मृत्युको कारण  : फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या

सन्धिखर्क : प्रेम विवाह घरपरिवारले अस्वीकार गरेपछि फेसबुकमा सुुसाइड नोट लेखेर अर्घाखाँचीका एक युवाले आत्महत्या गरेका छन्।  सन्धिखर्क नगरपालिका ११ डिभर्ना जोगिमारेका एक युवाले आफ्नो प्रेम विवाह घर परिवारले अस्वीकृत गरेको भन्दै फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन्।

डिभर्नाका २३ वर्षीय सम्राट भुसाल भन्ने नारायण प्रसाद भुसालले फेसबुकमा स्टाटस लेखेर सन्धिखर्क वडा नम्बर २ को त्रिवणी होटेलको कोठामा आत्महत्या गरेका हुन्। भुसालले त्रिवणी होटेलको दुई तल्लामाथि कोठामा आत्महत्या गरेको अवस्थामा प्रहरीले  फेला पारेको हो।

सन्धिखर्क नगरपलिका वाङ्ला आमडाँडाकी शुष्मा क्षत्रीलाई दुईहप्ता अगाडि प्रेम विवाह गरेका थिए। उनको प्रेम विवाहलाई घरपरिवारले अस्वीकृत गरेका थिए। भुसालले फेसबुकमा स्टाटस लेखेपछि आफ्नो केटी साथी शुष्मासँग  झण्डै २५ मिनेट होटेलमा बसेका थिए। उक्त समयमा उनिहरुले फेसबुकमा लेखेको स्टाटस समेत हटाएका थिए। उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेर फेसबुकमा पोष्ट गरेका थिए।

होटेलमा उनले एक जना बस्ने भनेर आफ्नो नाम लेखाएका थिए। शुक्रबार बिहान अबेरसम्म बाहिर खाजा खान नआएपछि त्रिवणी होटेलका कर्मचारी हेर्न जाँदा झुन्डिएको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदिप डिसीका अनुसार उनका भिनाजुले फेसबुकमा स्टाटस लेखेको देखेर प्रहरीलाई समेत खबर गरेका थिए। भुसालले फेसबुकमा जिन्दगी जिउन धेरै गारो भएको जस्ता बिभिन्न खालका स्टाटस लेखेका थिए।   उनले आफ्नै फोटोमा हार्दिक श्रदाञ्जली भनेर समेत लेखेका थिए।

अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्याका घटनामा बृद्धि भएको देखिन्छ। पछिल्लो समयमा अर्घाखाँचीमा आत्महत्या गर्नेको सख्यामा ह्वात्तै बृद्धि भएको छ।  जिल्लाको अबस्था हेर्दा गएको १५ बर्षदेखि लिएर ६० बर्ष माथीका समेतले आत्म हत्या गरेका छन्। जुन अघिल्लो बर्षको तुलनामा ४३ प्रतिशतले बढी हो।

  जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गत साउनदेखि अहिलेसम्म  ४२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए। उनका अनुसार  आर्थिक बर्ष २०७३।७४ मा २८ जनाले आत्महत्या गरेका थिए। यस बर्षको बिष्लेषण गर्दा आबेशमा आएर १८, गरिबीको कारण ३ , दीर्घ रोगका कारण ३ र अन्य कारणबाट १६ जनाले आत्महत्या गरेका छन्।

मानिसहरुमा आउने मानसिक तनाब, डिप्रेसन, नकारात्मक सोच, वातावरणिय तत्व, असफलता, उमेरगत रुपमा हुने शारिरिक विकास, मानिसले जन्मजात रुपमा लिएर आएको सम्बेग तथा उतेजनाको कारणले पनि आत्म हत्या गर्छन्।  मानिसले सकारात्मक सोचको सट्टा नकारात्मक सोच लिदा पनि आत्महत्या गर्ने अबस्था सृजना हुन्छ।

अर्घाखाँची जस्तो पहाडी जिल्लामा १०  महिनामा ४२ जनाले आत्महत्या गरेको बिषयलाई चानचुनको रुपमा लिन नहुने प्रहरीको ठम्याई छ।

इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले आत्महत्या गर्नु अघि मानिसले केही न केही संकेत गर्ने गरेको बताउँछन्। ‘परिवार साथीभाईले त्यस्ता सकेंत बुझेर बचाउनतर्फ लाग्नुपर्छ’ उनले भने।

source:annapurnapost