शिक्षिकाको कुटाइबाट भाँचियो विद्यार्थीको दाँत

जेठ ५, २०७५ गुल्मी : तम्घास स्थित रेसुङ्गा माध्यमिक विद्यालयकी शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको दाँत भाँचिएको छ। जिल्ला सदरमुकाम रहेको उक्त विद्यालयको कक्षा पाँचमा पढ्ने अनमोल जिसी दाँत भाँचिएको हो। बिहीबार शिक्षिका रमा पाण्डेयले कुट्दा दाँत भाँचिएको हो।

विद्यालयबाट फर्किंदा रुदै घर आएका अनमोलले शिक्षिकाको कुट्दा दाँत भाँचिएको अभिभावकलाई बताएपछि घटना खुलेको हो। उनको तम्घासमा उपचार भइरहेको छ। कक्षामा हल्ला गरेको भन्दै शिक्षिका पाण्डेयले विद्यार्थीहरूलाई लाठ्ठीले हान्ने क्रममा दाँतमा लागेर भाँचिएको अनमोलले बताएका उनको अभिभावक मीना जिसीले बताइन्।

घटनबारे विद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट केही गल्ती भएको बताएका छन्। उनले घटना थाहा पाउन साथ शिक्षिकालाई सोधपुछ गर्दा गल्ती भएको थाहा पाइएको बताए। उनले घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य विषयमा पछि छलफल गर्ने सल्लाह भएको बताए। उक्त विद्यालयमा केही वर्षअघि शिक्षकको कुटाइबाट एक विद्यार्थीको कानको जाली फुटेको थियो।

sourcet:thahakhabar.com

क्युबामा विमान दुर्घटना, १०० को मृत्यु तीनको जीवितै उद्दार

जेठ ५, २०७५ क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ। क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ।  प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो। त्यसपछि विमानमा आगो लागेको बताइएको छ ।

विमानमा चालक दलका सदस्यसहित १ सय १० जना थिए। दुर्घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको बोइङ ७३७ विमानमा रहेका अधिकांश यात्रु क्युबाकै नागरिक हुन्। यात्रु मध्ये पाँच जना भने विदेशी रहेको अधिकारीहरुले जनाएका छन्।चालक दलका ६ सदस्य भने मेक्सिकोका भएको बताइएको छ। क्युबाको एयरलाइन्सले दुर्घटनामा परेको विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिरहेको थियो। क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन्।
source:thahakhabar.com

अमेरिकाकाे एउटा विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : १० विद्यार्थीको मृत्यु

जेठ ५ – अमेरिकाको टेक्सास प्रान्तको एउटा विद्यालयमा गोली हानेर दश जना विद्यार्थीको हत्या गरिएको छ । साथै कैयौँ विद्यार्थी घाइते भएका छन् ।

शुक्रबार  ह्यूस्टनबाट ५० किलोमिटर टाढा रहेको सान्टा फि स्कुलमा एक जना किशोरले अन्धाधुन्ध गोली चलाएको सीएनएनले जनाएको छ ।

घटनामा संलंग्न भएको आरोपमा १७ वर्षीय दिमित्रोस पगोत्र्जिसलाई हिरासतमा लिइएको छ । प्रहरीका अनुसार विद्यालय परिसरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको केही समयपछि ट्वीट गर्दै आफ्नो प्रतिक्रियामा भनेका छन्, ‘सुरुवाति खबर राम्रो छैन ।

source:ujyaaloonline

क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको ज्यान गयो

क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा परेर १ सय १० जना भन्दा धेरैको ज्यान गएको छ ।

क्युबाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्यसहित १ सय १६ जना थिए ।

क्युबाका समाचार माध्यमका अनुसार तीन जनालाई भने गम्भीर अवस्थामा उद्धार गरिएको छ । बाँच्न सफल तीन जनाको अवस्था  गम्भीर रहेको जनाइएको छ । क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको विमानमा रहेका सबै यात्रु क्युबाकै नागरिक हुन् । चालक दलका ६ जना सदस्य भने मेक्सिकोका थिए । क्युबाको एयरलाइन्सले दुर्घटनामा परेको विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिरहेको थियो ।

क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन् । उनले दुर्घटनामा ज्यान गुमाउनेहरुको परिवारप्रति दुःख व्यक्त गरेका छन् । source:ujyaaloonline

पार्टी एकता त भयो तर कम्युनिस्ट पार्टीको निर्माण भएन : मोहनविक्रम सिंह

जेठ ४, २०७५ नेपाली कम्युनिस्ट आन्दोलनभित्र संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर वि. स‌ं. २०२० को दशकदेखि संघर्ष गर्ने नेता हुन्, मोहनविक्रम सिंह। ८४ वर्षको उमेरमा हिँडिरहेका सिंह नेपाली कम्युनिस्ट आन्दोलनका सम्भवतः सबैभन्दा पाका नेता हुन्। उनलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणका राजनीतिक गुरुका रूपमा पनि चिनिन्छ।

  हाल नेकपा मसालका महामन्त्री रहेका सिंहले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनदेखि मूल पार्टीबाट अलग भएर आफ्नो छुट्टै राजनीतिक पहिचान र पार्टी बनाएका छन्। नेपालमा कम्युनिस्टहरूको सरकार, उनले जीवनभर जुन व्यवस्था ल्याउन लडेका थिए, सोही व्यवस्था गणतन्त्र र धर्मनिरपेक्षताको व्यवस्था हुँदा पनि उनी अर्धभूमिगत जीवन बिताइरहेका छन्।

केही वर्षअघिसम्म फोटो खिच्न पनि अनुमति नदिने उनले एमाले-माओवादी एकताका बारेमा अन्तर्वार्ता लिने क्रममा फोटो खिच्न दिए तर भिडियो खिच्न सिद्धान्त र पार्टीको नीतिविपरीत हुने भनेर दिएनन्। कुनै पनि लाभको पदमा नबसेका सिंहले एमाले र माओवादीबीचको वाम गठबन्धनसँग मिलेर श्रीमती दुर्गा पौडेललाई प्रतिनिधिसभा सदस्यमा विजयी गराए तथा पार्टीका नेता चित्रबहादुर केसी (जनमोर्चा नेपाल)लाई प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालको सरकारमा उपप्रधानमन्त्री बनाएका थिए।

उनले एमाले-माओवादीबीच भएको एकतालाई सैद्धान्तिक रूपमा समर्थन नभएको तर यो एकता देशको वर्तमान राजनीतिका लागि भने स्वागतयोग्य भएको धारणा राखे। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र एमाले-माओवादीको एकताले निर्माण गरेको वर्तमानबारे सिंहसँग थाहाखबरका लागि जयसिंह महरा र चिरञ्जिवी घिमिरेले गरेको कुराकानी :

एमाले र माओवादीबीचको एकतालाई कसरी हेर्नुभएको छ?

कम्युनिस्ट आन्दोलनको टुट र फुटको समस्या वास्तवमा सिद्धान्त र राजनीतिसँग जोडिएको छ। अरू पार्टीहरूमा पैसा लेनदेन, पद इत्यादिका कारणले फुटहरू हुने गर्छन्। कम्युनिस्टहरूमा बढी सिद्धान्त र राजनीतिक प्रश्नहरूमा फुट हुने गरेको छ। यो समस्या नेपाली कम्युनिस्टको मात्र होइन, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पनि हो। विश्व कम्युनिस्ट आन्दोलन हेर्नुहुन्छ भने यो देखिन्छ। सोभियत समाजवादी व्यवस्था कायम भएपछि रूस र चीनमा भएको फुट हाम्रा अगाडि छ।

त्यसैगरी कम्युनिस्ट राजनीतिमा कतिपय धारहरू रहेका छन्। अराजकतावादी धार, दक्षिणपन्थी धार, मार्क्सवादी, लेनिनवादी, ट्राटस्कीवादी आदि। यी सबैको परिणामस्वरूप कहीँ पनि कम्युनिस्टहरूमा फुट हुने गर्छ। अहिले पनि नेपालमा देख्यौँ, यहाँ कयौँ समस्याहरू पैदा भए। कुनै बेला डा. केशरजंग रायमाझी र पुष्पलालबीचको फुट थियो। त्यो फुटमा व्यक्तिगत कुराहरू देख्छन् कतिपयले तर ध्यान दिनुपर्ने कुरा त्यो राजतन्त्रको प्रश्नमा विवाद उठेको थियो। रायमाझीले राजतन्त्रलाई समर्थन गर्ने नीति अपनाए, पुष्पलालको गणतन्त्रको नीति भयो। मूल रूपमा त्यो सिद्धान्तमा आधारित थियो र राजनीतिमा आधारित थियो।

पुष्पलाल र रायमाझी पद, प्रतिष्ठा र इगोका लागि फुटे भन्नेमा ध्यान दिन्छन्, जुन गलत थियो। ठीक पछि हाम्रो पार्टीबाट केही साथीहरू अलग हुनुभयो र मालेको गठन गर्नुभयो। केही साथीहरू अलग हुनुभयो र माओवादीको गठन गर्नुभयो। ती फुटहरू संघर्षका विषयहरूमा भएको मतभेदका फुट थिए। हाम्रो सोच थियो (मसालबाट प्रचण्ड अलग हुने बेला) कि अहिले नेपालमा सशस्त्र संघर्ष गर्ने बेला भएको छैन। तर उहाँहरूमा नक्सलवादीको असर परेर सशस्त्र नीति अँगाल्नुभयो। त्यसलाई हामीले गलत थियो भन्यौँ र हामीमा फुट भयो। माओवादीसँग पछि रिमबारे पनि धेरै मतभेदहरू भए। उहाँहरूले सोच्नुभयो कि देशमा सशस्त्र संघर्ष गर्नका लागि परिस्थिति तयार छ। हामीले त्यो सही हुँदैन भनेका थियौँ।

त्यसले गर्दा हामी र उहाँहरू (प्रचण्ड)को बीचमा फुट भयो। कम्युनिस्टहरूका बीचमा फुट हुनुका पछाडि यस्तै सैद्धान्तिक र राजनीतिक कारणले, संगठनका प्रणालीहरू, संघर्षका रूपहरूका विषयले प्रशस्त काम गरेका छन् तर बाहिर भने व्यक्तिहरूको इगो मुख्य देखिने गरेको छ। त्यो वास्तविक होइन। व्यक्तिगत कारण, प्रलोभन, दुश्मनहरूको षड्यन्त्र, देशी/विदेशी शक्तिलगायतका कारणले पनि केही फुटहरू हुने गरेका छन् तर त्यो पक्ष गौण हो। अहिले माओवादी र एमालेको एकतालाई हामीले सकरात्मक मानेका छौँ। त्यसलाई स्वागत गरेका छौँ। यसलाई सैद्धान्तिका कारणले स्वागत गरेका होइनौँ, राजनीतिक कारणले हो।

सैद्धान्तिक कारणले उहाँहरूसँग धेरै मतभेद छन्। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनदेखि नीति तथा कार्यक्रमका पक्षमा धेरै मतभेद छन् र ती बेग्लै छलफलका विषय हुन्। तर अहिले यी दुई पार्टीबीच एकता भएको छ, यसलाई देशको तत्कालीन सन्दर्भमा र राजनीतिक परिस्थितिबाट हेर्दा एकता राम्रो भएको छ। भारतीय विस्तारवाद, मधेसी शक्तिहरू, नेपाली कांग्रेस, तराईलाई अलग्गै प्रदेश बनाउने कुराहरू, राजतन्त्र फर्काउने कुरा, धर्मनिरपेक्षतालाई उल्ट्याउने कुराहरूको पृष्ठभूमिमा एमाले माओवादीबीच जुन एकता भयो, त्यसलाई हामीले सकारात्मक भनेका छौँ र स्वागत गरेका हौँ।

नेपालमा कम्युनिस्ट पार्टीमा फुट कसरी र कहिलेबाट सुरु भएको हो?

पहिलो फुट केशरजंग रायमाझीले राजावादी लाइन लिएपछि आएको हो। महाधिवेशनले गणतन्त्रको लाइन पास गर्‍यो। रायमाझीको भित्रभित्रै राजासँग साँठगाँठ थियो। त्यसको विरुद्ध संघर्ष गर्‍यौँ। त्यसो नगरेको भए पूरै पार्टी राजाको पक्षमा हुन्थ्यो र देशमा गणतन्त्रको आन्दोलन कमजोर हुन्थ्यो। त्यस कारण त्यो फुट सही थियो। तेस्रो महाधिवेशनमा रायमाझीविरुद्ध विद्रोह गर्‍यौँ। त्यसपछि पुष्पलाल र तुल्सीलालका बीचमा जुन फुट भयो, त्यो सकारात्मक थिएन। त्यसले कम्युनिस्ट आन्दोलनलाई ठीक गरेन। त्यसपछि चौथो महाधिवेशन गरेर न्युक्लियस बनाएर एकजुट पार्ने प्रयास गर्‍यौँ। त्यसमा प्रचण्ड र मोहनचन्द्र अधिकारी हुनुहुन्थ्यो। पछि उग्रपन्थी धारले गर्दा पार्टीमा फुट आयो, जुन नक्सलवादी र रिमको कारणले फुट आएको थियो। रिमले नेपालमा सशस्त्र संघर्षको वातावरण छ भन्यो र प्रचण्डहरू त्यसमा लाग्नुभयो। मोहनचन्द्रहरूले अर्कै लाइन समानत्नुभयो। पछि सच्चिएर आएर एमाले र माओवादी शान्तिपूर्ण र वैधानिक संघर्षमा आउनुभयो।

एमाले-माओवादी एकताले नेपालमा राजनीतिक स्थायित्व आउनेमा तपाईं कति विश्वस्त हुनुहुन्छ?

जुन पार्टी संगठनको बीचमा विचार राजनीति मिल्छ। १० टुक्रामा रहनुभन्दा एकै ठाउँ जानु राम्रो हो। त्यस कारण उहाँहरूसँग कोको मिल्न सक्छन् भन्ने हामीले भन्न सक्ने र हामीसँग सम्बन्धित कुरा पनि भएन। जहाँसम्म हाम्रो प्रश्न छ, हाम्रो र उहाँहरूको बीचमा मार्क्सवादी सिद्धान्तलाई लिएर धेरै नै भिन्नता छ, मौलिक भिन्नता छ। निश्चित रूपमा राजनीतिक स्थायित्व र स्थिरता आउँछ। देशमा फेरि राजतन्त्र आउन खोजिरहेको छ, धर्मनिरपेक्षतालाई खत्तम गरेर हिन्दु राष्ट्र आउन खोजिरहेको छ। भारतले आफ्नो किसिमले षड्यन्त्र गरिरहेको छ। यी सबै पृष्ठभूमिमा पार्टी एकता हुँदैनथ्यो भने त्यसको असर सरकारमा पर्थ्यो। पहिले ओली र प्रचण्ड मिलेर सरकार बनेको थियो। त्यो टुट्यो अनि नेपाली कांग्रेसको सरकार आयो र राजावादीहरू हावी भए।

त्यस कारण अहिले यो एकता टुट्थ्यो भने यसको परिणाम सरकारमा पर्थ्यो र अस्थिरता हुन्थ्यो। भारतले आफ्नो विस्तारवादी भूमिका बढाउने सम्भावना बढ्थ्यो। यस कारण देशको वर्तमान अवस्थामा यो एकताले अत्यन्त ठूलो भूमिका खेलेको छ। सैद्धान्तिक रूपमा हामीबीच मतभेद छन् तर उहाँहरूबीच गठबन्धन भएर नै चुनावमा ठूलो सफलता भयो। अहिले पनि एकता भयो र त्यसले राजनीतिमा सकारात्मक योगदान हुनेछ।  हामीले बारम्बार भनेका थियौँ, तपाईंहरूबीच एकता हुँदैन भने वाम गठबन्धन भने टुट्नुहुँदैन। यो एकता भएन र गठबन्धन पनि टुट्यो भने देशमा अस्थिरता पैदा हुन्छ। अहिले पार्टी एकता भयो, यसलाई सकारात्मक मानेका छौँ।

तपाईंहरूको सिद्धान्तमा पनि समाजवाद गन्तव्य देखिन्छ। यस्तो अवस्थामा सैद्धान्तिक रूपमै देशको ठूलो कम्युनिस्ट पार्टीलाई स्वीकार्न असजिलो मान्नुको कारण के हो?

समाजवाद त नेपाली कांग्रेसले पनि भनेको छ। भन्दैमा त हुँदैन। त्यसका लागि सही कार्यक्रम र संगठन प्रणाली हुनुपर्छ। सैद्धान्तिक पक्षहरू छन्, जसबारे कम्युनिस्टहरूमा धेरै बहसहरू चलेका छन्। रणनीति र कार्यनीतिका प्रश्नहरू हुन्छन्। हाल सरकारले समाजवाद उन्मुख कार्यक्रम बनाएको छ। हाम्रो भनाइ के हो भने देशमा तत्काल समाजवादका लागि वातावरण तयार भइसकेको छैन। देशमा अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था रहेको छ।  तत्काल त्यसलाई खत्तम पार्नुपर्ने भएको छ। त्यसका लागि नयाँ जनवादी क्रान्ति गर्नुपर्ने अवस्था छ। त्यो अवस्था नआईकन हामी समाजवादमा जान सक्दैनौँ।

यसमा हामी र उहाँहरूका बीच मतभेद छ। जस्तो : प्रचण्डजी र माओवादीले भन्यो- हामी समाजवादी क्रान्तिको अवस्थामा पुगिसक्यौँ। त्यसमा हाम्रो सहमति छैन। संविधानमा पनि समाजवाद लेखिएको छ र उहाँहरूको सिद्धान्त पनि समाजवाद हुने सुनिएको छ। समाजवाद उन्मुख भन्ने जानकारीमा आएको छ। त्यसलाई भने हामी समर्थन गर्छौं। समाजवाद भन्ने एक कुरा हो, समाजवाद उन्मुख दिशामा भन्ने अर्को कुरा हो। समाजवाद भनेको व्यक्तिगत सम्पतिको अन्त्य र सामूहिक समृद्धि हो। नयाँ जनवादी क्रान्तिले त्यो काम गर्दैन। किसानको व्यक्तिगत स्वतन्त्रता कायम गर्छ। राष्ट्रिय सम्पतिको संरक्षण गर्छ। यो अवस्थामा व्यक्तिगत सम्पति नष्ट गर्न सकिने अवस्था छैन। त्यसैले नयाँ जनवादी क्रान्तिले यी काम गर्छ।

समाजवाद भनेको त व्यक्तिगत सम्पतिको अन्त्य हो। त्यो उहाँहरूले अहिले गर्न सक्नुहुन्न।  त्यसैले हाम्रो भनाइ तत्काल देशमा समाजवादी व्यवस्था कायम गर्न सक्ने अवस्था छैन। यसका लागि राजनीतिक तथा आर्थिक रूपमा आमूल परिवर्तन हुनुपर्छ। भूमि सुधार आमूल रूपमा लागू गर्नुपर्छ। त्यो संविधानले नै गर्न सकिरहेको छैन भने समाजवाद त धेरै परको कुरा हो। तैपनि हामीले समाजवाद उन्मुख दिशामा जानु सकारात्मक हो। समाजवाद उन्मुख भनेको समाजवाद त होइन, त्यसको छाया मात्रै हो, प्रयत्न तथा नीति हो। हामीले यो भन्दै आएका छौँ। संविधानमा तय गरिएका समाजवादका कुरा लागू गर्नुपर्छ।

नयाँ गठन भएको पार्टीले लिएको सिद्धान्तका बारेमा के टिप्पणी गर्नुहुन्छ?

कम्युनिस्टहरूमा विचलन भयो भन्ने कुरा हो हाम्रो त। किनभने जुन मार्क्सवाद लेनिनवाद जुन क्रान्तिकारी सिद्धान्त हुन् यिनीहरूलाई छाड्नु हुँदैन। यिनलाई छाड्यो भने हामीहरू बाटो बिराउँछौँ। हामी पुँजीवादतिर जान्छौँ। हाम्रो स्पष्ट कुरा के भने मार्क्सवादी र लेनिनवादी सिद्धान्तबाट विचलित हुनुभएको छ र दक्षिणपन्थी बाटो अपनाउनुभएको छ। यी सिद्धान्त अपनाउनुभयो भने देशमा सच्चा कम्युनिस्ट पार्टीको स्थापना हुन्छ। उहाँहरूले छाडेकाले हामीहरूको उहाँहरूप्रति विभेद छ। कसरी नेपालमा सच्चा कम्युनिस्ट स्थापना गर्नुपर्छ भनेर बहस गर्न तयार छौँ।

उहाँहरूले कस्तो सिद्धान्त अपनाउँदा सही हुन्छ? 

सैद्धान्तिक पक्षलाई नसमाती हुँदैन। उहाँहरूले एकताका नाममा धेरै कुराहरू ‘ड्रप’ गर्नुभएको छ। यसरी पार्टी एकता त भयो तर कम्युनिस्ट पार्टीको निर्माण भएन।

नेपाल कम्युनिस्ट पार्टीमा सबै कम्युनिस्टहरूलाई एकत्रित गर्छौं, बाबुरामदेखि विप्लवसम्मलाई यसैमा अटाउने अवस्था हुन्छ भन्ने कुरा पनि छ, यो कत्तिको सम्भव छ? 

हाम्रो सोचाइ के हो भने जुन पार्टी संगठनको बीचमा विचार राजनीति मिल्छ। १० टुक्रामा रहनुभन्दा एकै ठाउँ जानु राम्रो हो। त्यस कारण उहाँहरूसँग कोको मिल्न सक्छन् भन्ने हामीले भन्न सक्ने र हामीसँग सम्बन्धित कुरा पनि भएन। जहाँसम्म हाम्रो प्रश्न छ, हाम्रो र उहाँहरूको बीचमा मार्क्सवादी सिद्धान्तलाई लिएर धेरै नै भिन्नता छ, मौलिक भिन्नता छ। आधारभूत भिन्नता रहेकाले हामी र उहाँहरूको बीचमा पार्टी एकताको सम्भावना रहेन। तैपनि उहाँहरूले समाजवाद उन्मुख, राष्ट्रियता र समृद्धिका पक्षमा तथा जनताका हक र अधिकारका पक्षमा गर्ने कामहरूलाई हामी समर्थन गर्छौं।

एमाले र माओवादी मिलेर बनेको नेकपाको भविष्य कस्तो देख्नुभएको छ? 

राजनीतिमा सम्भावनाहरू जति पनि हुन्छन्। मनमोहनको नेतृत्वको र मदन भण्डारीको नेतृत्वको पार्टी मिलेका थिए, जुन अहिलेसम्म मिलेर काम गरिरहेका छन्। ठीक त्यसै गरेर कतिपय मतभेदहरू देखिएलान् र छन्। सँगसँगै काम गरेपछि ती मतभेद समाधान हुँदै जान्छन् र एकता कायम हुन्छ। अर्कोतिर एउटै पार्टीमा पनि मतभेद देखिएर फुटहरू देखिन्छन्।  नेपालमा सुरुमा एउटै कम्युनिस्ट पार्टी थियो। पुष्पलाल र रायमाझीबीच फुट भयो अनि हामीबीच नै पनि फुट भयो। यस कारण एउटा पार्टी पनि विभाजित हुन्छ र कहिलेकाहीँ दुईवटा पार्टी एक भएर आपसमा मिलेर जान्छन्। यस कारण यस्तै हुनेछ भनेर किटानीपूर्वक भन्न सकिने अवस्था छैन। नयाँ परिस्थितिमा नयाँ किसिमबाट फुट देखिने गर्छन्। त्यसैले किटानीसाथ भविष्यवाणी गर्न सकिने अवस्था छैन। देश र राजनीतिका लागि के सही हुन्छ भन्ने मात्रै हामीले भन्न सक्छौँ।
source:thahakhabar.com