बैशाख २४, २०७५ काठमाडौं :
नेकपा माओवादीले एमालेसँगको पार्टी एकतालाई छिट्टै टुंगोमा पुर्याउने बताएको छ। माओवादी केन्द्र संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पुर्याउने जानकारी दिएका छन्।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भइरहेका ‘वान अन वान’ बैठकले पार्टी एकतालाई सकरात्मक दिशामा अघि बढिरहेको जानकारी गराएका थिए। सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले पार्टी एकतालाई टुंगोमा पुर्याउन केही दिन भित्र संयोजन समिति बैठक बस्ने जानकारी दिएका थिए। केही दिन भित्रै बस्ने संयोजन समिति बैठकले पार्टी एकतालाई टुंगोमा पुर्याउने धारणा अध्यक्ष प्रचण्डले बैठकमा राखेको भएका माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।
बैठकमा प्रचण्डले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको बताएका थिए। माओवादी संसदीय दलको बैठक : मन्त्रीहरूको रिपोर्टिङ, धारणा राख्दै सांसद त्यस्तै, बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँटका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको प्रमुख सचेतक गुरुङले बताए।
बैठकमा सांसदहरूले पार्टीको घोषणा पत्र अनुसार बजेट निर्माण गर्न ध्यान दिन पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको गम्भीर ध्यानकर्षण गराएका थि । बजेट निर्माणका लागि आवश्यक रचनात्मक सुझाव दिन पनि बैठक बोलाइएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ। माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार बिहान पनि बस्ने भएको छ। मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने कार्यसूची तय गरिएको प्रमुख सचेतक गुरुङले जानकारी दिए।
source: thahakhabar.com