काठमाडौं, वैशाख २४ – सिन्डिकेट तोड्न सफल भए पनि यसपछि सेवा र सुविधामा प्रतिस्पर्धा गराउने र सर्वसाधारणलाई सहज सुविधा दिलाउनेबारे सरकार योजनाविहीन रहेको नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बिडारीले सार्वजनिक संस्थाको रुपमा दर्ता भएका यातायात समितिहरुको अरबौँको सम्पत्ति रहेको पनि बताउनु भयो । सरकारले यातायात व्यवसायीहरुको बैंक खातासमेत आइतबार अपरान्हबाट रोक्का भएपछि त्यो खातामा रहेको रकमबारे सांसद बिडारीले प्रश्न उठाउनु भएको छ ।
सांसद बिडारीले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट अन्त्य गर्ने सरकारको निर्णय प्रशंसा योग्य भए पनि सर्वसाधरणलाई सहज सेवा उपलब्ध गराउने योजना भने सरकारसँग नरहेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारका पदाधिकारीबाटै सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको भन्दै दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभएको थियो ।