धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

बिराटनगर: हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ। देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो ।

उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

श्रीनिवासाचार्यमाथि उनकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । यो कुरा चौधरीले मोरङ प्रहरीसँगको बयान र सोमबार भएको पत्रकार सम्मेलनमा पनि स्विकारेका छन् ।

त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासाचार्यका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ ।

‘मलाई गुरु श्रीनिवासाचार्यले गोली हान्न सिकाइ धर्म र देशका लागि केही गर्नुपर्छ भनी उनले नै उक्साई गोलीसहितको पेस्तोल दिई हातैमा हान्न लगाएका हुन्’, प्रहरीलाई दिएको बयानमा चौधरीले भनेका छन् ।

त्यसैगरी अधिकारीले पनि प्रहरीसँगको बयानमा आफैँले पेस्तोल उपलब्ध गराएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा पनि सोही कुरा दोहोर्‍याए । ‘मैले नै घरमा राखिएको गोलीसहितको पेस्तोल गुरु श्रीनिवासाचार्यले भनेपछि पठाएको हुँ’, उनले प्रहरीसँगको बयान र पत्रकार सम्मेलनमा भनेका छन् ।

केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको बयान गुरु श्रीनिवासाचार्यले प्रहरीलाई दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए । ‘धर्म र देशको रक्षाका लागि यस्तो गर्नुपरेको हो, केही गर्दा पनि हिन्दु राज्य बनाउन नसकिएपछि जनता र हिन्दु धर्मगुरुहरुलाई उक्साउन मेरै योजनामा आफैँलाई गोली हान्न लगाएको हुँ’, श्रीनिवासाचार्यको बयानबारे एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।

प्रहरीले अधिकारी र चौधरीलाई वैशाख २० गतेबाट लागू हुने गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने मुद्दा चलाउन सात दिनको म्याद थपिसकेको छ ।

‘हिन्दुराज्य कायम गर्नका लागि विभिन्न चरणमा भएका आन्दोलनले सार्थक रुप नलिएपछि जनता र धर्मगुरुहरुलाई उक्साउनका लागि गुरु श्रीनिवासचार्यले आफ्ना विश्वासपात्र लक्ष्मीराज अधिकारीलाई हतियारको व्यवस्थापन गर्न लगाई गोली समेत हान्ने माधव चौधरीलाई खोजी प्रशिक्षण दिएर घटना गराएको पाइयो’, मोरङ प्रहरी प्रमुख एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।

धर्मसँग जोडिएकाले यो घटनालाई प्रहरीले गम्भीररुपमा अनुसन्धान अघि बढाएको थियो । यो घटनाको छानबिन र अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धानन व्यूरो, एक नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह (आरआईटी), संघीय प्रहरी इकाइ कार्यालय धरान र जिप्रका मोरङको टोली संयुक्तरुपमा परिचालित भएको थियो ।

तीनैजनालाई सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा गुरु निवासाचार्यले भने केही बोलेनन् । उनले घाइते भएपछि बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचार गराइरहँदा ठुला दलका नेतालाई गाली गर्दै आएका थिए ।

गोली लागेपछि २१ दिनसम्म बिराटनगरको न्यूरो अस्पतालमा उपचार गराएपछि श्रीनिवासाचार्य केही दिनअघि काठमाडौँ आएका थिए । गोली लागेको घाउ निको भएपछि उनी काठमाडौँ आएका थिए ।

काठमाडौं आएपछि उनको स्वास्थ्य अवस्था बुझ्न सानादेखि ठुला नेतासम्म पुगेका थिए । उनलाई भेट्न कांग्रेस नेता शेखर कोइराला, राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसहितका नेता पुगेका थिए । उनीहरुले भेटका क्रममा अपराधी पत्ता लगाउन नसक्नुले सरकारको सुरक्षामा क्षमतामा प्रश्न उठेको बताएका थिए ।

काठमाडौं आएका श्रीनिवासाचार्य थप उपचारको लागि भन्दै सोमबारै भारतको राजधानी नयाँदिल्ली जाने तयारीमा थिए । तर उनलाई प्रहरीले विमानस्थलक्षेत्रबाटै पक्राउ गरेर बिराटनगर लगेको हो । source:annapurnapost

यातायात व्यवसायी र सरकारबीच जुट्यो सहमति, तोडियो सिन्डिकेट

बैशाख २४, २०७५ काठमाडौं: सरकारले व्यवसायीहरुको सहमतिबिना सिन्डिकेट हटाउन सक्ने गरी कार्यविधि ल्याएको भन्दै विरोधमा उत्रेका यातायात व्यवसायी र सरकारबीच सहमति जुटेको छ। भौतिक पूर्वधार तथा यातायात मन्त्रालय र सरकारबीच यातायात क्षेत्रमा सिन्डेकट नरहने गरी सहमति जुटेको मन्त्री रघुवीर महासेठले बताए।

‘व्यवसायी र सरकारबीच पाँचबुँदे सहमति भएको छ, अब विधिवत रूपमा सिन्डिकेट हटेको छ,’ सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महासेठले भने। यातायात व्यवसायीले गरेका आन्दोनलका कार्यक्रम फिर्ता लिने र यातायात क्षेत्र व्यवस्थित गर्न मन्त्रालय र सरोकारवालासमेतको सहभागितामा एक कार्यदल गठन गर्ने सहमति पनि भएको छ।

मन्त्री महासेठ र महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले हस्ताक्षर गरेको सहमतिमा सर्वोच्च अदालतले केही समयअघि गरेको परमादेशअनुसार यातायात क्षेत्रको सुधारका लागि जाँचबुझ आयोग गठनको प्रक्रिया अगाडि बढाउने सहमति पनि गरिएको छ।  व्यवसायी र सरकारबीच सहमति जुटेपछि सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा आइतबार मात्रै रिहाइ पाएका अध्यक्ष कर्मचार्य, महासचिव सरोज सिटौलालगायतका पदाधिकारीहरू पनि सहभागी भएका थिए। व्यवसायीहरुले  गरिएको सहमतिमा सरोकारवाला भन्ने ठाउँमा व्यवसायी भन्ने शब्द राख्नुपर्ने अडान राखे तापनि अन्तत: सहमतिपत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको थियो। यस विषयमा भने व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्।

सरकारले जारी गरेको नीतिहरु तत्काल स्थगित गरी वार्ताको माध्यमबाट परिमार्जन गर्नुपर्ने माग व्यवसायीहरूले गर्दै आएका थिए। उनीहरूले यही माग पूरा गराउने नाममा शुक्रबार समितिमा दर्ता  भएका सबै यातायात बन्द गरेपछि सरकार थप कडा रूपमा प्रस्तुत भएको थियो। महासंघका पदाधिकारीसहित देशभरबाट ८७ जना व्यवसायी नै पक्राउ परेपछि व्यवासायी बाध्य भएर सहमतिको बाटो रोजेका हुन्। सरकारले २४५ यातायात समितिको बैंक खातासमेत रोक्का गरेर सम्पत्ति छानबिन सुरु गरेको छ।
source:thahakhabar.com

यातायात व्यवसायीकोे खातामा रहेको रकमबारे सांसद बिडारीले प्रश्न : सरकारको कि व्यवसायीको ?

काठमाडौं, वैशाख २४ – सिन्डिकेट तोड्न सफल भए पनि यसपछि सेवा र सुविधामा प्रतिस्पर्धा गराउने र सर्वसाधारणलाई सहज सुविधा दिलाउनेबारे सरकार योजनाविहीन रहेको नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बिडारीले सार्वजनिक संस्थाको रुपमा दर्ता भएका यातायात समितिहरुको अरबौँको सम्पत्ति रहेको पनि बताउनु भयो । सरकारले यातायात व्यवसायीहरुको बैंक खातासमेत आइतबार अपरान्हबाट रोक्का भएपछि त्यो खातामा रहेको रकमबारे सांसद बिडारीले प्रश्न उठाउनु भएको छ ।

सांसद बिडारीले यातायात क्षेत्रमा लगाइएको सिन्डीकेट अन्त्य गर्ने सरकारको निर्णय प्रशंसा योग्य भए पनि सर्वसाधरणलाई सहज सेवा उपलब्ध गराउने योजना भने सरकारसँग नरहेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारका पदाधिकारीबाटै सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको भन्दै दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभएको थियो ।

हिंसा न्यूनीकरण गर्न प्रहरीले सुरु गर्‍याे घुम्ती सांस्कृतिक अभियान

एलबी थापा

प्यूठान, वैशाख २४ – हिंसा न्यूनीकरणका लागि जिल्लामा प्रहरीले साँस्कृतिक अभियान थालेको छ । प्यूठानलाई सभ्य, सुरक्षित र नेतृत्वसहितको समाज निर्माणका लागि प्रहरीले गाउँ–गाउँमा सांस्कृतिक अभियान थालेको हो ।

सडक नाटकमार्फत जनचेतनामुलक कार्यक्रम र अभियान थाल्दै आएको प्रहरीले यो पटक सांस्कृतिक कार्यक्रम गर्न थालेको हो । नागरिकहरुलाई मनोरञ्जनमार्फत सचेतना गराउने उद्धेश्यले यस्तो अभियान थालिएको प्यूठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले बताउनुभयो । धेरै जनचेता मुलक कार्यक्रम भइसक्दा पनि हिंसाका घटनाहरु कम नभएको हुँदा अहिले सांस्कृतिक अभियान थालिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा बालविवाह, बहुविवाह, लैगिंक हिंसा, घरेलु मदिराको निरुत्साहितलगायत न्यूनीकरण गर्नको लागि घुम्ती सांस्कृतिक कार्यक्रम गरिएको हो । ग्रामीण क्षेत्रमा दिन प्रतिदिन वढ्दै गइरहेका विभिन्न प्रकृतिका हिंसाजन्य घटनाहरुलाई न्यूनिकरणमा साँस्कृतिक कार्यक्रम प्रभावकारी बन्ने प्रहरीको भनाइ छ ।

जनचेतना मुलक घुम्ती सांस्कृतिक कार्यक्रममा लागु औषध, मदिरा नियन्त्रण, गुन्डागर्दीलगायतका विषयहरुको नकरात्मक पक्षलले पार्ने असरका विषय कार्यक्रमले समेटेको छ ।

कार्यक्रममार्फत शान्ति सुरक्षाको वातावरण बनाउन नागरिक सहकार्य सृजना गर्न र प्रहरी प्रशासनले अख्तियार गरेको रणनीति बारेमा जानकारी गराउने कार्य भइरहेको छ । त्यस्तै, शान्ति सुरक्षा र अपराध न्यूनिकरणको लागि जन सहभागिता बढाउन कार्यक्रमको मुख्य भूमिका रहेको छ ।

source:ujyaaloonline

 

मोदीको मुक्तिनाथ भ्रमणका लागि मुस्ताङमा उच्च सुरक्षा सतर्कता

बैशाख २४, २०७५ मुस्ताङ :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो। मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ। सुरक्षा निकायले  दैनिक बैठक बसेर तयारीलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए।

वैशाख २८ गते मोदीले गर्नुहुने मुक्तिनाथ भ्रमणका लागि  तीन दिनसम्म  अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा पनि छलफल चलेको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ। हाल दैनिक आठ घण्टा सवारी साधान रोकेर स्तरोन्नतिको काम भइरहेको छ।

भारतीय प्रधानमन्त्रीको  स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको  छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्चस्तरीय धार्मिक भ्रमणले मुस्ताङवासीमा उत्साह छाएको र यहाँको धार्मिक पर्यटनको विकासमा मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।

यसैबीच रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे जानकारी लिएको थियो।    सो अवसरमा उनले मुस्ताङ स्थित कोरला नाका खुलाउन सरकारले उच्च प्राथमिकता दिएको बताए। जोमसोममा नेकपा (एमाले)का कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले पहुँचमार्ग निर्माण,सुरक्षा क्याम्प राख्नका लागि द्वैपक्षीय छलफल अघि बढेकाले अबको दुई तीन वर्षमा कोरला नाका सञ्चालनमा आउने समेत बताए।
source:thahakhabar.com