बैशाख २३, २०७५ अखिल नेपाल फुटबल संघ (एन्फा)मा चार वर्षे कार्यकालका विजयी भएका कर्माछिरिङ शेर्पा गणेश थापाको नेतृत्वकालमा कट्टर आलोचक थिए। अब आफैं फुटबलको बागडोर सम्हाल्ने ठाउँमा पुगेसँगै उनले उठाउँदै आएका विषयलाई कसरी सम्बोधन गर्छन् भने चासो सुरु भएको छ।
शनिबार सम्पन्न निर्वाचनबाट शेर्पाले ६३ मत प्राप्त गरे भने अध्यक्ष पदका लागि प्रतिस्पर्धाबाट बाहिरिसकेका मणि कुवँरले १२ मत प्राप्त गरे। लामो समयदेखि एन्फामा परिवर्तनको आवाज उठाउँदै आएका शेर्पाले सबै आफ्ना पक्षमा रहेका सदस्य तथा उपाध्यक्ष जिताउन सफल भए।
१२ सदस्य सहित ४ उपाध्यक्षमा शेर्पा समूहका निर्वाचित भएका छन्। जितपछि एन्फाका नवनियुक्त अध्यक्ष कर्मा छिरिङ शेर्पाले परिवर्तनको पक्षमा मतदान भएको भन्दै अब फुटबल विकासमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे। शेर्पाले भने ‘हामीले फुटबल विकासका लागि धेरै कुरा उठाएका छौँ। अब ती विषय पूरा गर्ने चरणमा छौं।’ शेर्पाले सोमबार कार्यसमितीको बैठक बस्दै लामो समय देखि सञ्चालनमा आउन नसकेको लिगलाई सञ्चालनमा ल्याउने विषयमा निर्णय गर्ने जानकारी पनि दिए।
साथै उनले विभिन्न नियमावली परिवर्तन गर्नुपर्ने भन्दै एन्फाले चाँडो नीतिगत निर्णय गर्दै फुटबलको विकासमा नयाँ गति दिने विश्वास दिलाए। पंकज नेम्बाङ, वीरवहादुर खड्का, कृष्ण बहादुर थापा र उपेन्द्रमान सिंह शेर्पासमूहबाट निर्वाचित हुने उपाध्यक्ष हुन्। त्यस्तै दावा लामा, निरोज खड्गी, पुर्णमान चित्रकार, रविन्द्र नाथ श्रेष्ठ, मधुसूदन उपाध्याय, प्रवेशसिंह राठौर, दिनश व्ययञ्जनकार, दीर्घबहादुर केसी (कुमार), किरण राई, विजय घले, रत्न कुमार श्रेष्ठ, र महिला सदस्यमा पेमा डोमा लामा सदस्यमा निर्विरोध निर्वाचित भए।
source: thahakhabar.com