इटहरी : गृहमन्त्रीको निर्देशनसँगै प्रहरी राखेर गाडी सञ्चालन गरिएको छ । इटहरीबाट पूर्वको काकरभिट्टा तथा धरान र विराटनगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालकले गाडी लिएर जनतालाई सेवा दिइरहेका छन् ।सिण्डिकेटविरुद्ध सरकारले खरो नीति लिएपछि सुनसरीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा अधिकारी सक्रिय भएका छन् ।
यातायात व्यवसायीले ग्यारेजमा थन्क्याएका सवारी साधन सडकमा ल्याएर प्रहरीका चालकले चलाएर अलपत्र परेका यात्रुुको उद्धार गरिरहेका छन् । प्रमख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले गाडी थन्क्याएको पाइए प्रहरीले आँफै चलाएर जनतालाई सेवा दिने बताए । उनले भने, ‘इटहरीका व्यवसायीले सुरक्षा दिए गाडी चलाउन प्रतिवद्धता जनाएपछि प्रहरी आफैले सुरक्षा दिएर चलाइएको हो ।’
सिण्डिकेटको विपक्षमा उभिएका व्यवसायीले कसैको विरोध गर्ने नभई जनतालाई सेवा दिएको बताएका छन् । व्यवसायी समिर कार्कीले राज्यले भरपर्दो सुरक्षा प्रदान गरे आफुु गाडी थन्क्याउने पक्षमा नभएको बताए । ‘जनतालाई सेवा दिन किनेका गाडी चलाउने नै हो’, उनले भने,‘राज्यले सुरक्षा दिए हामी ग्यारेजमा राख्दैनौँ ।’
सरकारले प्रमुख जिल्ला अधिकारीलाई गाडी चलाउन तयार रहेका व्यवसायीलाई सुरक्षा दिन र हड्ताल पक्षधरलाई पक्राउ गर्न निर्देशन पूर्वमा गाडी चल्न थालेका छन् । गाडी चलेपछि बिहानैदेखि घण्टौ सडकमा कुरिरहेका यात्रुुलाई राहत मिलेको छ । तर, छोटो दुरीका सवारीलाई मात्र सरकारले सुरक्षा दिए पनि लामो दुरीका सवारीलाई भने प्रहरी प्रशासनले सुरक्षा दिएको छैन । जसका कारण लामो दुरी यात्रा गर्ने यात्रुु अझै मारमा छन् । source:annapurnapost