कक्षा १२ को परीक्षा सुरु, चार लाख विद्यार्थी सहभागी

बैशाख १४, २०७५ भक्तपुर : माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा शुक्रबार बिहान ७ बजेदेखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए।

सबैभन्दा बढी काठमाडौँमा ११४ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ।  परीक्षामा देशभरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका छन्। परीक्षामा सबभन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए।

बोर्डका अनुसार परीक्षामा एक हजार ५१ केन्द्राध्यक्ष, एक हजार ८८८ सहायक केन्द्राध्यक्ष, २० हजार ८६३ निरीक्षक, एक हजार ६० परीक्षा केन्द्रमा खटिने कर्मचारी, दुई हजार १२० कार्यालय सहयोगी, १२ हजार ७२० सुरक्षाकर्मी गरी कूल ३९ हजार ७०२ जनशक्ति परिचालन भएका छन्।  कक्षा १२ को परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुनेछ। कक्षा ११ को परीक्षा भने वैशाख ३० गतेदेखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउँदै परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षाको विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बताए।

परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र रु एक लाखसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । source:thahakhabar.com

Advertisement

एमाले-माओवादी सच्चा कम्युनिष्ट होइनन्ः गगन थापा

१४ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले र माओवादी सच्चा कम्युनिष्ट नभएको आरोप लगाएका छन् ।

चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा थापाले एमाले लगायत देशका कम्युनिष्ट पाटीहरुले विगत २६ बर्षदेखि आफूलाई कम्युनिष्टको रुपमा परिभाषित गर्दै आए पनि उनीहरु सच्चा कम्युनिष्ट नरहेको तर्क गरे । एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको भएको उनको दाबी छ ।

उनले एमाले देशको ठुलो प्राईभेट कम्पनी भएको आरोप लगाए । नेता थापाले प्रदेश तथा स्थानीय तहमा ५ बर्षसम्म छायाँ सरकारको रुपमा काम गर्दै अगाडी बढ्नुपर्ने बताए । ‘निर्वाचनमा भएको हारलाई लिएर बस्ने बेला यो होइन’ उनले भने, ‘अब फेसबुकमा फोटो पोष्ट गरेर, काठमाडौंमा नेता भेट्ने होइन । एमालेले गर्ने हरेक आर्थिक अनियमिताको निगरानी गर्दै प्रतिवाद गर्नुपर्छ ।’

अबको ५ बर्ष भित्र पार्टीलाई सुदृढीकरण गर्दै अहिलेको मतदाता भन्दा १४ लाख मतदाता थपेर हिलो पार्टी बन्ने सपना उनले सुनाए । अब सवै कार्यकर्ता संगठित भएर छलफल गर्नुपर्ने भन्दै नेता थापाले भने, ‘असन्तुष्टि पोखेर मात्र बस्ने होइन, शिर उचो बनाएर काम गर्नुस्, चुनाव हारियो भनेर विचिलत हुन आवश्यक छैन ।’source:onlinekhabar.com

विधानविपरीत नचल्न देउवालाई पौडेलको चेतावनी

बैशाख १४, २०७५ काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टीको विधान विपरित नचल्न चेतावनी दिएका छन्।

पार्टी पदाधिकारी तत्काल मनोनयन गरेर अघि बढ्ने सभापति देउवाले तयारी गरिरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसो गर्नु विधान विपरित हुने भन्दै आपत्ति जनाएका हुन्। पार्टी केन्द्रिय कार्य समितिको शुक्रबारको बैठकमा बोल्दै उहाँले विधानसम्मत ढंगले अघि बढेमात्रै पार्टी भित्र बलियो एकता हुने धारणा पनि राख्नु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगले अघि नबढाएकै कारण निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको आरोप पनि लगाए। पार्टी सुदृढ बनाउन अनुशासनको पालनामा विशेष जोड दिनु पर्ने धारणा पनि वरिष्ठ नेता पौडेलले राख्नु भएको प्रवक्ता शर्माले बताए।  वरिष्ठ नेता पौडेलले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई छानवीन गरी कार्वाही गर्न ढिलाई नगर्न पनि सभापति देउवाको गम्भिर ध्यानाकर्षण गराएका थिए। सभापति देउवाले पार्टी भित्रको अन्तरघातका कारण २० सिट पार्टीले प्रतिनिधिसभामा गुमाउनु परेको दावी गर्दै आएका छन्। वरिष्ठ नेता

पौडेलले चुनावमा अन्तरघात गर्नेमाथि कार्वाही गर्न सभापति देउवालाई कसैले पनि नरोकेको पनि स्पष्ट पारे। बैठकमा बोल्दै नेता विजयकुमार गच्छदारले पार्टीलाई एकतावद्ध बनाएर लैजान आह्वान गरेका थिए। उहाँले पार्टी एकता गर्ने बेला भएको सहमति कार्यान्वयन गर्न पनि आग्रह गर्नु भएको प्रवक्ता शर्माले बताए। source:thahakhabar.com

ओली सरकारबाट समृद्धिको आश गर्नु मुर्खता हो : मोहन वैद्य

बैशाख १४, २०७५ काठमाडौं : क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको सरकारबाट समृद्धिको आश गर्नु मुर्खता भएको बताएका छ।  त्यस्तै उनले ओलीलाई राष्ट्रघाती नेता भएको आरोप लगाएका छन्।

क्रान्तिकारी युवा लिग नेपालले काठमाडौंमा आयोजना गरको एक कार्यक्रममा बोल्दै किरणले ओलीलाई राष्ट्रवादको रटान लगाउन छोड्न समेत अनुरोध गरे। ओलीले प्रधानमन्त्रीका रुपमा केही दिन अघि गरेको भारत भ्रमणमा नयाँ सन्धी सम्झौताहरु नगरको भएपनि पुराना असमान सन्धीहरुलाई कार्यान्वयन गर्ने बचन दिएर आएको आरोप वैद्यले लगाए। ‘नयाँ सम्झौता नगरेको भएपनि पुराना असमान सम्झौता कार्यान्वयन गर्ने भनेर ओलीले भारतमा हस्ताक्षर गरेर आएका छन्,’ वैद्यले भने, ‘त्यसैले उनी राष्ट्रघाती हुन्।’

ओली नाकाबन्दीका बेलामा राष्ट्रवादी देखिने कोशिश गरेको तर अहिले राष्ट्रवादको लाइन छोडिसकेको उनले बताए। ओलीले राष्ट्रवादकै रटान लगाएर चुनाव जितेको भएपनि वर्तमान सरकारले केही पनि गर्न नसक्ने बताए।  ‘यो सरकार वामपन्थीको होइन, दलाल पूँजीवादहरुको रक्षाकवज हो,’ वैद्यले भने, ‘यस्तो सरकारबाट समृद्धिको आश गर्नु मुर्खता हो।’ साथै उनले वर्तमान सरकार मजदुर मैत्री र श्रमजीवीको पक्षमा नभएको बताए। ओली सरकारसँग मजदुरहरु डराइरहेको उनले बताए।

‘अब नयाँ ढंगले क्रान्ति गर्नुपर्छ,’ उनले भने, ‘क्रान्तिको नेतृत्व क्रान्तिकारी माओवादीले नै गर्छ।’ साथै उनले अब एमालेलाई झापा विद्रोह र माओवादी केन्द्रलाई जनयुद्धको जस नलिन समेत आग्रह गरेका छन्। आफूहरु मात्रै यी विद्रोहसँग जोडिएको उनले बताए। सोही कार्यक्रममा मोल्दै अर्का नेता सीपी गजुरेलले वर्तमान सरकारले समृद्धि ल्याउन नसक्ने बताए। ‘उनीहरुले स्वेतपत्र मार्फत ढुकुटी रित्तो भएको बताएका छन्,’ गजुरेलले भने, ‘रित्तो ढुकुटीले त केही पनि गर्न सकिँदैन।’ साथै उनले सरकारले सडक आन्दोलनमा रोक लगाएको प्रति आपत्ति समेत जनाए।source:thahakhabar.com

सीमाक्षेत्रमा एसएसबीको ज्यादती : नेपालले लगाएको तारबार उखेलेर फ्याकिदियो

महेन्द्रनगर :बैशाख १४

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नजिकिदै गर्दा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास क्षेत्रमा भने भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती बढेको छ ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले पुनर्वास नगरपालिका–९ मा नेपाली पक्षले जङ्गली जनावरको आतंकबाट बच्न लगाएको तारबार उखेलेर फालिदिएको छ । भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावर नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन खोज्दा भारतीय पक्षले अवरोध गरेको हो ।

नेपाल–भारत सीमा पिल्लर १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउन खोजेको तारबार भारतीय पक्षले निकालेर फालिदिएको हो ।
‘हतियारसहित भारतीय एसएसबी आएर तारबार निकालेर फालिदियो’ पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले भने,‘ वर्षेनी जङ्गली जनावरले दिँदै आएको दुःख रोक्नका लागि तारबार लगाउन लागेका थियौं’ ।

एसएसबीको ३९ औं बटालियन अन्तर्गत घोला क्याम्पबाट सयौंको संख्यामा आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेको हो । ‘यो सीमा क्षेत्रमा तारबार लगाउन पाइदैन भन्दै धम्की दिएर भत्काइयो’ वडा अध्यक्ष जैशीले भने,‘नेपाली प्रशासनले आग्रह गर्न खोज्दा समेत एसएसबीले अटेरी गर्‍यो’ ।

 पुनर्वास नगरपालिका ९ बीचफाँटामा नेपाली पक्षले आफ्नै भूमिमा ३२ मिटर तारबार लगाउन लागेको हो । २९ सय मिटरसम्म तारबार लगाइसकेपछि बाँकी भू–भागमा लगाउन लागेका बेला एसएसबीले अबरोध गरेको हो । स्थानीयले ८/८ हजार रकम उठाएर तारबार लगाउन थालेका हुन् ।

‘वडा कार्यालयबाटसमेत ६ लाख रकम विनियोजन गरिएको हो’ वडा अध्यक्ष जैशीले भने,‘ विभिन्न संघसंस्थाको समेत सहयोगमा जङ्गली जनावरको आतंक रोक्नका लागि तारबार लगाउन खोजिएको हो’ ।   स्थानीयले पिल्लर नम्बर १८३ देखि १९१ सम्म १ किलोमिटर क्षेत्रमासमेत तारबार लगाएका छन् । भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले अन्नबाली नष्ट गर्दै आएको छ ।

पुनर्वास नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयलेसमेत रकम उठाएर सौर्य उर्जामा आधारित विद्युतीय तारबार बनाउन सुरुवात गरिएको थियो । तारबार लगाउनु अघि दुवैपक्षबीच सहमति भएर काम अघि बढेपनि अन्तिममा आएर एसएसबीले अवरोध गरेको हो ।  पुनर्वासको सीमावर्ती क्षेत्रमा सीमा विवाद रहेको भन्दै एसएसबीले पटक–पटक अवरोध गर्दै आएको छ ।

स्थानीयले पुनर्वास क्षेत्रमा तत्काल सीमा सर्भे हुुनुपर्ने माग राखेका छन् । ‘गतवर्षसमेत सीमा विवादमै गोविन्द गौतमले ज्यान गुमाए’ स्थानीय पत्रकार हेमन्त न्यौपानले भने,‘ पटक–पटक हुने यस्ता विवाद अन्त्य गर्न तत्काल समाधान हुुनुपर्छ’ । उनले उच्चस्तरीय सीमा सर्भे टोली आएर सीमा समस्या समाधान हुनुपर्ने बताए । पुनर्वासमा गतवर्ष भएको घट्नापछि संयुक्त सर्भे टोली आएपनि सर्भे नगरेरै फर्किएको थियो ।

भारतीय प्रधानमन्त्रीले २ सातापछि गर्न नेपाल भ्रमणमा सीमामा भारतीय पक्षबाट हुने गरेको ज्यादतीका विषयमा गम्भिर रुपमा वार्ता हुनुपर्ने स्थानीयको माग छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीका बारेमा भारतीय अधिकारीहरुसँग छलफल भएको बताए ।

   ‘ एसएसबीले हिजो गरेको गल्तिको माफि मागेको जानकारी आएको छ’ सीडीओ खड्काले भने,‘ स्थानीयस्तरमा दुवैपक्षको वार्तामा तत्काल विवाद अघि बढ्न नदिने सहमति भएको छ’। सर्भे टोलीले काम शुरु नगर्दासम्म अब तारबार लगाउने काम अघि नबढाउने सहमति भएको उनले बताए । उनले अहिले सीमा सर्भे टोलीले कैलालीमा सर्भे गरिरहेको भन्दै छिट्टै कञ्चनपुरमा समेत सर्भेको काम थाल्ने बताए ।

 कञ्चनपुरको दक्षिणी क्षेत्रका जनता भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले स्थानीयको अन्नबाली नष्ट गर्दै आइरहेको छ । जङ्गली जनावरले पु¥याउदै आएको क्षति रोक्नका लागि भन्दै त्यस क्षेत्रका स्थानीयले सरोकारवाला निकायलाई पटक–पटक आग्रह गर्दै आइरहेका थिए । त्यसक्षेत्रमा हात्तीले धेरै क्षति पु¥याउने गरेको छ ।

हात्तीले खेतबालीमा लगाएको अन्न नष्ट गर्नुका साथै स्थानीयका घर समेत भत्काउने गरेको छ । हात्तीको आक्रमणबाट उक्त क्षेत्रमा अहिलेसम्म ३ जनाले ज्यान गुमाइसकेका छन् ।  पुनर्वास क्षेत्रमा विगत लामो समयदेखि प्यारातालको विवाद कायमै रहेको छ । भारतीयले प्याराताल आफ्नो भूमिमा पर्ने भन्दै कब्जा गरेको छ । त्यस्तै सीमा क्षेत्रका अधिकाशं खेतीयोग्य जमिनसमेत भारतीयले उपभोग गर्दै आइरहेका छन् ।

गतवर्ष पुनर्वास नगरपालिका ८ मै कल्र्भट निर्माण गर्ने विषयमा विवाद हुँदा गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोली लागेर मारिएका थिए । उक्त घट्नापछि पनि बारम्बार सीमा क्षेत्रमा भारतीय पक्षबाट ज्यादती हुदै आएको छ । source:annapurnapost