श्याम घिमिरे अर्घाखाँची १० बैशाख
प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ बैशाख १ गतेबाट शुरु भएको छ । केन्द्र, प्रदेश तथा स्थानीय तहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न आर्थिक गणना गर्न लागिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
यसबाट सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई व्यवसाय समृद्धिका लागि नीति तथा योजना तर्जुमा गर्न तथा अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक उपलव्ध हुने विश्वास गरिएको छ ।
आर्थिक गणनालाई सफलताका साथ सम्पन्न गर्नका लागि विभागले ७७ जिल्लामा गत चैत १ गतेदेखि ४ महिनाका लागि जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिसकेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आगामी जेठ ३१ गतेसम्म गणना सकिने छ ।
यसैबिच हिजो ९ गते सम्म अर्घाखाँची जिल्लामा अभियानको क्रममा जम्मा पेपर बेसमा २५९८ फर्म भरीएको साथै ई .सेन्सस अनलाईन फर्म ९ वटा भरीएमध्य ६ वटा फर्म कम्पीलेट भएको कार्यालयका सुपरिबेक्षक गणेश मरासीनिले जानकारी दिनुभएको छ ।