होटलमा भाँडा माझ्ने बालक विद्यालय भर्ना गरेर ‘भर्ना अभियान’को सुरु

प्रेमनारायण आचार्य

अर्घखाँची, वैशाख २ – सन्धिखर्कको सन्ध्या होटलमा भाडा माझ्ने १३ वर्षका बालकलाई विद्यालयमा भर्ना गराएर अर्खखाँचीमा विद्यालय भर्ना अभियानको सुरुवात गरिएको छ ।

सन्धिखर्क–२, चुत्राबेशी भक्तिटोलका १३ वर्षका राजुलाई घर नजिकै रहेको गंगा आधारभूत विद्यालयबाट कक्षा २ पास  गरेपछि कक्षा ३ मा भर्ना भए । पछि उनी विद्यालय आउन छाडे । आर्थिक अभावकै कारण उनले सन्धिखर्कको सन्ध्या होटलमा भाडा माझ्ने काम गर्न थालेका थिए  ।

उनलाइ आइतबार पुनः गंगा आधारभूत विद्यालयको कक्षा तीनमा भर्ना गरिएको छ । जिल्ला शिक्षा समन्वय एकाइ र  सन्धिखर्क नगरपालिकाको पहलमा उनलाई भर्ना अभियानको पहिलो दिन आइतबार विद्यालयमा भर्ना गरिएको हो ।

सन्धिखर्क नगरपालिकाका अनुसार उनी जस्तै १ सय २४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यालय बाहिर रहेका सबै विद्यार्थीलाई विद्यालय भर्ना गरिने सन्धिखर्क नगरपालिकाका शिक्षा प्रमुख बलराम मिश्रले जानकारी दिनुभयो ।

बालबालिकालाई विद्यालयमा भर्ना गराउनका लागि सबै अभिभावक, शिक्षक तथा नगरबासीले सहयोग गर्नुपर्ने सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भूसाल बताउनुभयो ।

‘सामुदायिक विद्यालयमा विद्यार्थी नै छैनन । निजी विद्यालयमा विद्यार्थीको चाप छ । सामुदायिक विद्यालय दलित, जनजाती र गरिबहरुले पढ्ने विद्यालय बनेको छ’, भूसालले भन्नुभयो, ‘अब सबैले सामुदायिक विद्यालयमा पढाउ र विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ ।’

 

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.